कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
348

नगर क्षेत्रमा विद्युतीय गाडी सञ्चालन गरिने

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब १७ करोड ९६ लाख ३२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको नगरसभाले पुँजीगततर्फ २ अर्ब ५६ करोड ६१ लाख ५३ हजार अर्थात ४९ दशमलव ५४ प्रतिशत रकम विनियोजन गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरेको हो । बजेटमा ४६ करोड अर्थात ८ दशमलव ८८ प्रतिशत रकम सामाजिक सुरक्षाका लागि छुट्याइएको महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए । विनियोजित बजेटमा प्रशासनिक खर्चको अंश २१ दशमलव ७४ प्रतिशत छ ।
महानगरपालिकाले पूर्वाधार विकासका लागि २ अर्ब ७३ लाख ६३ हजार, सामाजिक विकासका लागि एक अर्ब ६८ करोड र वातावरण तथा विपद् व्यवस्थापनका लागि १६ करोड ५५ लाख रुपैयाँ बजेट छुट्याएको छ । बजेटमा नगर क्षेत्रका ४ मिटरभन्दा कम चौडाइ सडकका उकालो, ओरालो र गहिरोबाहेक पीसीसी नगर्ने, नयाँ पिच गरेको सडकमा दुई वर्षसम्म खन्न स्वीकृति नदिने, खन्नैपर्ने भए प्रति वर्ग मिटर १५ हजार धरौटी तिर्नुपर्ने र महानगरपालिका क्षेत्रभित्रको सडकमा नयाँ पिच गर्दा खानेपानी, ढल तथा विद्युत् पोल लगायतका पूर्वाधार पुगेका सडकलाई प्राथमिकता दिने उल्लेख छ । महानगरपालिकाले बजेटमार्फत चक्रपथ (ललितपुर खण्ड)मा दुर्घटना न्यूनीकरण गर्न दायाँबायाँ फेन्स निर्माण गर्ने निर्णय गरेको छ । यस्तै, नगरसभाले अघिल्ला आर्थिक वर्षमा सम्झौता भएका योजनाहरु सम्पन्न नभएको भए दायित्व नसार्ने निर्णय पनि गरेको छ ।

महानगरपालिकाले पाटन सम्पदा क्षेत्रमा मोटरसाइकलसमेतलाई निषेधित क्षेत्र घोषणा गर्ने र नगरक्षेत्रमा विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै, सबै वडाको पाश्र्वचित्र तयार गरी महानगरको सिटी प्रोफाइल तयार गर्ने घोषणा गरिएको छ ।
महानगरपालिकाले पशुपंक्षीजन्य उद्योग स्थापना गर्ने र दूध, अन्डा तथा मासुमा ललितपुर महानगरपालिकालाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँको छुट्याइएको थियो । जसमध्ये १ अर्ब ७५ करोड ६४ लाख २४ हजार खर्च भको छ । पुँजीगततर्फ २ अर्ब ४० करोड ८ लाख ३७ हजार छुट्याइएको मध्य १ अर्ब ५३ करोड ६९ लाख ५३ हजार खर्च गर्न महानगर असफल भएको छ ।