मनिषा चम्लागाईँ
बिहिवार, असार ५, २०७६
523

झापा-चलू आर्थिक वर्षको ११ महिनामा झापाका स्थानीय तहले ७१.५३ प्रतिशत राजस्व संकलन गरेका छन् । झापामा केही स्थानीय तहले लक्ष्य भन्दा बढी राजस्व संकलन गरिसकेका छन भने कति आधा अंकमा अलमलिरहेका छन् ।
झापाका ८ वटा नगरपालिकाले चालू आर्थिक वर्षमा ७३ करोड ८४ लाख २७ हजार ८३५ रुपैंयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेका थिए । आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी हुँदा ५२ करोड ९७ लाख ९८ हजार ५०७ रुपैंयाँ राजस्व संकलन भएको तथ्यांक छ ।
एकीकृत सम्पति कर, घरवहाल कर, बहाल बिटौरी कर, पूर्वाधार सेवाको उपयोगमा लाग्ने कर, विज्ञापन कर, व्यवसाय रजिष्टे«सन दस्त्ुर, घरजग्गा रजिष्टे«शन दस्तुर, नक्सापास दस्तुर, सिफारिस दस्तुर, नाता प्रमाणित दस्तुर, न्यायिक दण्ड, जरिवाना र जफत, सवारी साधन कर लगायत शीर्षकलाई स्थानीय तहका आन्तरिक आम्दानीका स्रोत हुन् । यस बाहेक केन्द्र, प्रदेशबाट दिइने बजेट, समानीकरण अनुदान, शसर्त अनुदान लगायत स्थानीय तहका आम्दानीका स्रोतमा पर्दछन् ।
गतवर्षको यो अवधिमा ७३ प्रतिशत आन्तरिक आम्दानी गर्न सफल भएको बिर्तामोड नगरपालिकामा यसवर्ष ५७.१७ प्रतिशतमात्र राजस्व संकलन हुन सकेको छ । गतवर्षको भन्दा यसवर्ष ४ करोड रुपैंयाँ बढी संकलन गर्ने लक्ष्य राखिएको कारण प्रतिशतमा कमी देखिएको नगरपालिकाका प्रशासन बिभाग प्रमुख मेघराज बाँस्तोलाले बताए । उनले यो आर्थिक वर्ष भित्र १२ देखि १३ करोड रुपैयाँ राजस्व संकलन हुन सक्ने अपेक्षा गरिएको जानकारी दिए ।
अर्जुनधारा नगरपालिकाले गतवर्षको जेठ मसान्तसम्मा ८० प्रतिशत राजस्व संकलन गरेको थियो । यो बर्ष ९२.०४ प्रतिशत राजस्व जम्मा भएको बताइएको छ । गत वर्ष २ करोड २० लाख अनुमानित आम्दानीको लक्ष्य राखेको अर्जुनधाराले यो वर्ष २ करोड ५० लाखको आन्तरिक आम्दानीको लक्ष्य राखेको छ । यो वर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन हुने नगरपालिकाका कर तथा राजस्व शाखा अधिकृत डेनजनी आचार्यले बताए । आगामी आर्थिक वर्षका लागि अर्जुनधारा नगरपालिका राजस्व शाखाले चालू आर्थिक वर्षको भन्दा दोब्बर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । अर्जुनधारा नगरपालिकामा राजस्व संकलनका प्रमुख शिर्षक नक्सा पास ( ४० लाख रुपैयाँ), सरकारी आम्दानीको वहाल (२५ लाख रुपैयाँ), सरसफाई शुल्क (२ लाख रुपैयाँ), सिफारिस दस्तुर (५७ लाख रुपैयाँ), मालपोत (४० लाख रुपैयाँ) लगायत क्षेत्रबाट बढी कर संकलन हुँदै आएको आचार्यले बताएका छन् ।
कनकाई नगरपालिकाले यसवर्ष ११ करोड, ७८ लाख ,५१ हजार रुपैयाँ बराबरको आन्तरिक आम्दानीको लक्ष्य राखेकोमा जेठ २५गते सम्ममा ७ करोड, ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो कुल लक्ष्यको ६६.७७ प्रतिशत देखिन्छ । लक्ष्य पुरा गर्न बाँकी एक महिनामा ४ करोड बढी राजस्व संकलन गर्नु पर्ने भएकाले लक्ष्य पुरा नहुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले बताए । कनकाई नगरपालिकाले सबैभन्दा धेरै एकीकृत सम्पती करमा ७० लाख, वहाल विरौटी करमा ६० लाख, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करमा १ करोड १० लाख, व्यवसाय रजिष्टे«सन दस्तुर १२ लाख, नक्सापास दस्तुरमा २० लाख, सिफारिस दस्तुरमा ३० लाख रुपैयाँ राजस्व संकलन गरेको तथ्यांकले देखाउँछ ।
दमक नगरपालिकाले झापाका अन्य स्थानीय तहको तुलनामा सबैभन्दा बढी राजस्व संकलन गर्दै आएको छ । दमकको आन्तरिक आम्दानीको लक्ष्य पनि अन्य पालिकाको भन्दा बढी छ । चालू आर्थिक वर्षमा २५ करोड ३७ हजार रुपैयाँ बराबरको लक्ष्य राखेकोमा १७ करोड, ८२ लाख, ८ हजार रुपैयाँ राजस्व संकलन भइसकेको लेखा अधिकृत देवीप्रसाद कोइरालाले बताए । यो कुल राजस्वको ७१.१७ प्रतिशत हो । बाँकी एक महिनामा उठेको राजस्वले लक्ष्यको नजिकै पुग्ने कोइरालाको भनाई छ । दमक नगरपालिकाले गत आर्थिक वर्षमा १५ करोड रुपैयाँ बराबरको लक्ष्य राखेकोमा १३ करोड १९ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । यो लक्ष्यको ८७.९९ प्रतिशत हो ।
भद्रपुर नगरपालिकाले चालू आर्थिक वर्षमा ७ करोड ९५ लाख रुपैयाँ बराबरको आन्तरिक आम्दानीको लक्ष्य राखेको छ । जेठ २५ गते सम्ममा भद्रपुर नगरपालिकाले ६ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरिसकेको छ । यो कुल लक्ष्यको ८०.७५ प्रतिशत हो । गत वर्ष भद्रपुर नगरपालिकाले ५ करोड ३५ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्न सफल भएको भद्रपुर नगरपालिकाका लेखा शाखा अधिकृत सुबास भट्टराईले बताए । चालू आर्थिक वर्षको अन्तिमसम्म यहि गतिले राजस्व संकलन भए गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतले राजस्व संकलन वृद्धि हुने भट्टराईको भनाई छ ।
मेचीनगर नगरपालिकाले चालू आर्थिक वर्षमा ८ करोड रुपैयाँको आन्तरिक आम्दानीको लक्ष्य राखेको छ । जेठ २५ गतेसम्मको तथ्यांकलाई हेर्दा मेचीनगर नगरपालिकाले ७ करोड रुपैयाँ बराबरको आम्दानी गरेको मेचीनगरका आर्थिक प्रशासन शाखा प्रमुख पदमबहदुर कार्कीले बताए । यो आम्दानी ८७.५ प्रतिशत हो । मेचीनगर नगरपालिकाले गत आर्थिक वर्षमा ४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा ४ करोड बढी राजस्व संकलन गरेको थियो । यस आर्थिक वर्षमा पनि लक्ष्य पुरा हुने मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य बताउँछन् । आगामी आर्थिक वर्षका लागि मेचीनगरले १० करोड रुपैयाँ बराबरको लक्ष्य राख्ने तयारी गरेको कार्कीले बताए ।
शिवसताक्षी नगरपालिकाले भने यस अवधिमै लक्ष्य भन्दा १७ प्रतिशत बढी आम्दानी गरेको छ । शिवसताक्षीले यस आर्थिक वर्षमा २ करोड रुपैयाँ संकलनको लक्ष्य राखेको थियो । जेठ महिनाको अन्तिमसम्ममा पुग्दा नगरले २ करोड ३५ लाख रुपैयाँ आम्दानी गरिसकेको छ । नगरपालिकाले आम्दानीको लक्ष्य कम राखेकाले समय नपुग्दै त्यो पार भएको हो ।
गौरादह नगरपालिकाले चालू आर्थिक वर्षमा २ करोड ५७ लाख रुपैयाँ बराबरको आन्तरिक आम्दानीको लक्ष्य राखेको छ । गौरादहले १ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गौरादह नगरपालिकाको आन्तरिक आम्दानी अन्य नगरपालिकाको भन्दा कम रहेको छ । प्रतिशतका हिसाबले यो ५४.०८ हो । गौरादहमा करको दररेट न्यून, व्यवसायिक क्षेत्र कम, व्यवसायी र घरधुरीको तथ्यांकनै संकलन नहुनु, राजस्व परामर्श समितिको बैठक नबस्नु, आदिवासी जनजातीको बसोबास बढी रहेकाले करको महत्व बुझाउँन समस्या रहेको लेखा अधिकृत बाबुराम आयार्चले बताए ।