कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६
483

शोधनान्तर घाटा १० महिनामै ६८ अर्ब

मुलुकको वित्तीय सन्तुलनको अवस्था नाजुक बन्दै गएको देखिएको छ । मुलुक भित्रिने आयभन्दा बाहिरिने रकम बढी हुँदा शोधनान्तर स्थिति संकटपूर्ण देखिएको छ । चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्ममा मुलुकको शोधनान्तर घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९ अर्ब २७ करोड रुपैयाँले बढेर ६८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको वैशाखसम्ममा मुलुकको शोधनान्तर स्थिति १८ अर्ब ९३ करोड रुपैयाँले मात्र घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको १० महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाखले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
शोधनान्तर स्थितिमा चाप पर्नुमा व्यापारघाटा नै मुख्य कारण हो । १० महिना अर्थात् वैशाख मसान्तसम्ममा कुल व्यापारघाटा १९.७ प्रतिशतले विस्तार भई १० खर्ब ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । यस अवधिमा कुल वस्तु निर्यात १८.१ प्रतिशतले बढेर ७८ अर्ब ५३ करोड पुगेको छ भने कुल वस्तु आयात १९.६ प्रतिशतले बढेर ११ खर्ब ७८ अर्ब १४ करोड पुगेको छ ।

यो अवधिमा चालू खाता घाटा विस्तार भइ २२१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९२ अर्ब ५ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको १० महिनामा १ अर्ब ८६ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ ।
वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४.१ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति २०७६ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति ३.२ प्रतिशत रहेको थियो ।
यस्तै, वैशाख महिनामा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांक ९.५ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो सुचक ६.४ प्रतिशतले वढेको थियो । चालू आवको वैशाखसम्ममा तलब सूचकांक ६.६ प्रतिशत र ज्यालादर सूचकांक १०.३ प्रतिशतले वृद्धि भएको छ ।
चालू आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह १९.६ प्रतिशतले वृद्धि भइ ७२५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले वृद्धि भई ८२६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.२ प्रतिशतले घटेको थियो ।