कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
450

किसानले खेतीपाती गर्ने समयमा रासायनिक मल नपाएको भन्दै विरोध भइरहेका बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मल अभाव हुन नदिन तीन बुँदे सर्कुलर जारी गरेको छ । सरोकारवाला निकायका अधिकारीसँग छलफल गरेर मन्त्री चक्रपाणी खनालले मातहतका निकायलाई सर्कुलर जारी गरेका हुन् ।

साढे १८ हजार मेट्रिक टन मौज्दात


रासायनिक मलको गैरकृषि क्षेत्रमा प्रयोग भइरहेको ठहर गर्दै मन्त्रालयले गैरकृषि क्षेत्रमा मल जान नदिन सर्कुलर जारी गरेको हो । “मल अभावको विषयमा मन्त्रालय निकै गम्भीर छ, जहाँ–जहाँ अभाव छ तत्काल समस्या समाधान गर्न सर्कुलर जारी गरेका छौं,” मन्त्री खनालले भने, “रासायनिक मल अभाव हुनुमा अन्य कारण सँगसँगै गैरकृषि क्षेत्रमा प्रयोग भएको पनि हाम्रो अध्ययनले देखाएको छ, अब यस्तो हुन दिइँदैन ।” उनले अनुगमन संयन्त्र बनाइ कडाइका साथ अनुगमनको कामसमेत गरिरहेको बताए ।
मौज्दात रहँदा पनि मल नपाइएको भन्ने कृषकको गुनासोको सम्बोधन गर्दै मन्त्री खनालले मलका डिलरलाई आफ्नो क्षेत्रभन्दा अन्यत्र मल बिक्री नगर्न र सरकारले तोकेभन्दा बढी मूल्यमा बिक्री नगर्न साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीमार्फत सर्कुलर जारी गरेका हुन् । नेपालमा अनुदानको मल वितरणका लागि जिम्मेवार यी दुई निकायका अधिकारी र कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री रामकुमारी चौधरीसँगको छलफलपछि सर्कुलर जारी गरेको मन्त्री खनालले बताए । सर्कुलरसँगै अनुगमन पनि सुरु भइसकेकाले निर्देशन पालना नगरेको पाइएमा तत्काल कारवाही गर्ने प्रतिबद्धता मन्त्री खनालको छ ।
मन्त्रालयका अनुसार सोमबारसम्म साढे १८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । जसमध्ये ७ हजार ७७५ मेट्रिक टन युरिया र १० हजार ७ सय १६ मेट्रिक टन डिएपी छ । ९० हजार मेटन युरिया र ४५ हजार मेटन डिएपी गरि १ लाख ३५ हजार मेट्रिक टन रासायनिक मल भदौसम्म उपलब्ध हुने गरि खरिद प्रक्रियामा रहेको मन्त्रालयको तथ्यांक छ ।