कारोबार संवाददाता
बुधवार, असार ४, २०७६
549

स्थानीय तह बजेट 

• कूल बजेट : ७२ करोड २८ लाख ३ हजार
• पुँजीगत : २१ करोड ३३ लाख २३ हजार 
• आन्तरिक आय अनुमान : ३ करोड २८ लाख १० हजार 
• नि:शर्त : ३१ करोड ७३ लाख ३ हजार
• स:शर्त : २१ करोड ९५ लाख  
• सामाजिक सुरक्षा : १२ करोड 
• प्रधानमन्त्री रोजगार कार्यक्रम : १ करोड 
• चालू आवको संशोधित बजेटभन्दा १७.०४ प्रतिशतले बढी
• करको दायरा फराकिलो बनाउने रणनीति


लमजुङ-अन्तरसरकारी वित्त हस्तान्तरण ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गर्ने नियमअनुसार लमजुङको बेशीशहर नगरपालिकाले मंगलबार पाँचौ नगरसभामा आगामी आर्थिक वर्ष २०७६-७७ बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । यसअघि आगामी आवका लागि जेठ १५ गते संघीय सरकार र असार १ गते प्रदेश सरकार गरी ८ वटा सरकारले बजेट प्रस्तुत गरेका थिए । नगर प्रमुख गुमानसिंह अर्यालले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे । ७२ करोड २८ लाख ३ हजार कूल बजेट रहेकोमा पुँजीगततर्फ २१ करोड ३३ लाख २३ हजार रुपैयाँ विनियोजन भएको छ । नगरको कूल बजेट चालू आवको संशोधित बजेटभन्दा १७.०४ प्रतिशतले बढी रहेको अर्यालले बताए ।नगरले आगामी आवमा पूर्वाधार विकासमा १४ करोड ९३ लाख २२ हजार, सामाजिक विकासमा ३ करोड २८ लाख ८२ हजार, आर्थिक विकासमा २ करोड २५ लाख ३६ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा ६३ लाख ३७ हजार र संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा २२ लाख ४६ हजार रहेको छ । त्यस्तै नि:शर्ततर्फ ३१ करोड ७३ लाख ३ हजार, श:सर्त अनुदानतर्फ २१ करोड ९५ लाख,  सामाजिक सुरक्षातर्फ १२ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन छ ।नगरपालिकाले आगामी आर्थिक वर्षमा ३ करोड २८ लाख १० हजार अनुमानित आन्तरिक आय प्रस्तुत गरेको छ । जुन चालू आर्थिक वर्षको संशोधित अनुमानभन्दा  ११ दशमलव १६ प्रतिशतले बढी हो । करको दायरालाई समय सापेक्ष फराकिलो बनाउदै लैजाने रणनीति लिइएको नगरप्रमुख अर्यालको बताए ।प्रमुख अर्यालले नागरिकका अपेक्षा र आवश्यकता धेरै भए पनि प्राथमिकता र आवश्यकताका आधारमा योजना छनोट गरेको बताउँदै टुक्रे योजनाभन्दा काम देखिने खालका योजना निर्माण गरेका उल्लेख गरे । “विगतका भन्दा योजनाका संख्या आधा भन्दा बढी घटाएका छौं,” उनले भने, “चालू आर्थिक वर्षका अधिकांश योजना समयमै सम्पन्न भएका छन् ।”चालू आर्थिक वर्षमा २६ किमी नयाँ ट्रयाक, ११.२३ किमी सडक ग्राभेल, ११.३५ किमी पक्की नाला निर्माण, ९ सय मिटर मेसिनरी वाल तथा ६३ किमी सडक मर्मत सम्भार गरिएको नगरले जनाएको छ । नगरपालिकाभित्र १३ वटा सडकको विस्तृत परियोजना प्रतिवेदन निर्माण, एक घर एक धाराअन्तर्गत १ हजार १ सय ७९ धारा निर्माण भएको नगरको दाबी छ ।  विपन्न घर परिवारको खरको छानालाई जस्तापाताले छाउने कार्यक्रमअन्तर्गत १ सय भन्दा बढी परिवारमा छाना छाउने कार्य सम्पन्न भएको छ ।  नगर प्रोफाइल निर्माणका लागि विद्युतीय प्रवधिबाट तथ्यांक संकलन कार्य सम्पन्न भई तथ्यांक प्रशोधन तथा विश्लेषणको कार्य भइरहेको छ ।
‘जनप्रतिनिधिले ठेकेदार बनेर भ्रष्टाचार गरे’ बेसिशहरको नगरसभामा सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले जनप्रतिनिधिहरू ठेकेदार बन्दा शासन प्रणाली कमजोर बन्दै गएको बताएका छन् । मुलुकमा लोकतन्त्र, समावेशीताको अभ्यास भइरहँदा उपभोक्ता समितिको नाममा जनप्रतिनिधिहरू आफैं ठेकेदार बनेर भ्रष्टाचार गरेको मुख्यमन्त्री गुरुङको आरोप थियो । “जनप्रतिनिधिहरू आफैं डोजर राख्ने, परिवार, आफन्तको नाममा ठेक्का लिने प्रवृत्ति बढेको छ,” उनले भने, “उपभोक्ता समितिसँग मिलेमतो गरी धेरैठाउँमा भ्रष्टाचार गरेकाले शासनप्रणालीनै कमजोर भएको छ ।”मुख्यमन्त्री गुरुङले राज्यमा पारदर्शी शासन प्रणाली स्थापना गर्ने समयमा जनप्रतिनिधहरूकै यस्तो व्यवहारले शासन प्रणाली कमजोर भएको गुनासो गरे । भ्रष्टाचारी जनप्रतिनिधिले नै राजनीतिलाई फोहारी खेल बनाएको मुख्यमन्त्री गुरुङको आरोप थियो । “केही जनप्रतिनिधि आफैं झाँक्री, आफैं बिरामी भएका छन्,” उनले भने, “भ्रष्ट जनप्रतिनिधि र कर्मचारी जो भए पनि कालन्तरमा अख्तियारले छोड्दैन ।”फरक प्रसँगमा बोल्दै मुख्यमन्त्री गुरुङले मुलुकको दीर्घकालिन विकास र समृद्धिका लागि तीन तहको सरकारबीच समन्वय आवश्यक रहेको बताए । “अझै पनि संघीयताको मर्मअनुसार तीन तहबीच समन्वय हुन सकेको छैन,” उनले भने, “तीन तहको सरकारबीच संस्थागत सवलीकरण, शसक्तीकरण र समन्वयको आवश्यक छ ।”  उनले संघीयताको मर्मअनुसार गण्डकी प्रदेश सरकारले स्थानीय तिनै तहको सरकारसँग मेल खाने गरी नीति तथा कार्यक्रम ल्याएको बताए ।

सन्देश पौडेल