कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
330

बाग्लुङको दक्षिण जैमिनीमा लगाइएको अलैंचीले उचित मूल्य नपाउँदा कृषक चिन्तित बनेका छन् । व्यावसायिकरूपमा अलैंची खेती गर्दै आएका जैमिनी–२ र ३ दमेकका किसान अलैंचीको मूल्य प्रत्येक वर्ष घट्दै गएपछि निश्चित बनेका हुन् ।
बसाइसराइका कारण जनशक्ति अभावमा बाँझो रहेको जग्गामा अलैंची खेती गर्न पाउँदा उत्साहित देखिएका किसान यतिबेला निरास बनेको जनचेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयराम छन्त्यालले बताए । केही वर्ष पहिलेसम्म केही किसानले घरमा १–२ विरुवा लगाइएकोमा राम्रो प्रतिफल दिएपछि त्यहाँका किसान व्यावसायिकरूपमा लागेका थिए । “व्यावसायिक रूपमा गरिएको खेतीबाट राम्रो आम्दानी हुन थालेपछि निकै उत्साही थियौं,” अध्यक्ष छन्त्यालले भने, “तर अहिले उत्पादन राम्रो भए पनि उचित मूल्य पाउन छाडेपछि चिन्ता थपिएको छ ।”

तीन वर्ष अघिसम्म प्रतिकेजी २२ सय रूपैयाँमा अलैची बेच्दै आएका जैमिनी–२ दमेकका कृषक बलीभद्र सापकोटाले प्रत्येक वर्ष अलैंचीको मूल्य घटेको बताए । “तीन वर्षअघि प्रतिकेजी २२ सय रूपैयाँमा बेच्यौं,” सापकोटाले भने, “अघिल्लो वर्ष १५ सय र अहिले जम्मा ८ सय रूपैयाँमा बिक्री भयो त्यही पनि पैसा आइपुगेको छैन ।” छिमेकी मुलुक भारतमा प्रतिकेजी ३२ सय रूपैयाँमा बिक्री भइरहँदा आफूहरूले लगाएको अलैंचीको मूल्य घट्नुले कृषकमा समस्या उत्पन्न भएको उनले बताए ।
अलैंचीको राम्रो उत्पादन हुने देखेर पूर्वी नेपालबाट समेत दमेकमा आएर कतिपयले नर्सरी निर्माण गरेर बिक्री गरिरहेका छन् । पूर्वी नेपालबाट परिवारसहित दमेक आएका मदु अम्बाईले २० रोपनी जग्गा भाडामा लिएर अलैंची उत्पादन गर्दै आएका छन् । प्रत्येक वर्ष अलैंचीको मूल्य घटिरहँदा व्यवसायनै संकटमा पर्ने हो कि भन्ने चिन्ता पर्न थालेको अम्वाईले बताए । अलैंचीको दाना र बिरुवा बेच्दै आएका उनले उचित मूल्य नपाउँदा उत्साहित हुन नसकेको बताए ।
स्थानीय गोपालप्रसाद सापकोटाले पनि अलैंची राम्रो आम्दानीको स्रोत भए पनि पछिल्लो समयको अवस्थाले पेशा बदल्नु पर्छकी भन्ने सोच पलाएको बताए । दमेकमा करिव १५ रोपनी जग्गामा अलैंची खेती गरेका उनले बिक्री भएको अलैंचीको लामो समयदेखि पैसा नपाएको दुःखेसो गरे ।
अहिले सिंगो दमेक नै अलैंचीमय बनिसकको छ । अलैंची खेतीका लागी सुरुमा खेर गएका जमिन, सामुदायिक वनमा खेती गरिँदै आएकोमा आम्दानी राम्रो हुने थाहा पाएपछि खेतीयोग्य जमिनमा पनि अलैंचीको सुरुवात गरिएको किसानहरू बताउँछन् । दमेकमा रहेका सहकारी संस्थाहरू, निजी लगायत सामुदायिक वनमा पनि अलैंचीको खेती गरिएको स्थानीय जनचेतना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयराम छन्त्यालले बताइन् । “सुरुमा आधा हेक्टर क्षेत्रफलमा लगाइएको अलैंचीले राम्रो उत्पादन दिएको र बजारको समेत राम्रो सम्भावना भएकाले विस्तार गरियो,” छन्त्यालले भनिन्, “खेती विस्तार त भयो तर बजार र बजार मूल्य निकै कम हुँदै गएपछि अहिले व्यवसाय नै संकटको अवस्थामा छ ।” सामुदायिक वन समूहमा आवद्धहरूको आय आर्जनका लागि सामुदायिक वन र निजी जग्गामा पनि अलैंचीको खेती सुरु गरिएको उनले बताइन् ।
अलैंची खेतीका लागि उत्तर फर्केको केही चिस्यानसहितको जमिन आवश्यक पर्ने कृषि प्राविधिकहरूले बताएका छन् । दमेकमा चिस्यानयुक्त पाखो बारी प्रसस्त रहेकाले अलैंची खेतीका लागि अति उत्तम ठाउँको रूपमा हेरिएको छ । महत्वपूर्ण र महंगो मसलाका रूपमा प्रयोग हुने अलैंची खास गरी भारतमा निर्यात हुने गर्दछ । अलैंचीको सुगन्धित बियाँबाट सुगन्धित औषधीय र मसलाको गुणयुक्त तेलसमेत बन्ने गर्दछ । मिठाइ, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन अलैंचीको तेल प्रयोग गरिने बताइन्छ । आयुर्वेदिक र यूनानी चिकित्सामा घाँटी दुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको, पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग हुने गर्दछ ।

त्रिलोचन रिजाल