कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
404

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट तयार पारेको छ । प्रदेशको मन्त्रिपरिषद्को बुधबारको बैठकले असार १ गते सार्वजनिक गर्ने बजेटलाई अन्तिम रूप दिएको हो ।

मन्त्रिपरिषद्ले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई आर्थिक विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमतिसमेत दिएको छ । सहमतिसँगै अव प्रदेशसभामा सरकारले बजेट प्रस्तुत गर्नसक्ने बाटो खुलेको छ । चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट तयार गरेको हो ।
प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुतको अन्तिम तयारीमा रहेको सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपड बोहराले बताए । “सरकारले कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास, लक्षित वर्गलगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याउने छ,” बजेटले गरेको व्यवस्था अहिले नै खुलाउन नमिल्ने भन्दै अर्थमन्त्री बोहराले भने, “बजेटको विशेषता थाहा पाउन असार १ नै कुर्नुपर्छ ।’
प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने वोहराको भनाई छ । साथै वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने उनले बताए । विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ ।

 

मुकेश चौधरी