कारोबार संवाददाता
बुधवार, जेठ २९, २०७६
331

सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट ६० प्रतिशतको हाराहारीमा मात्रै खर्च गर्न सक्ने जनाएको छ ।

धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ मा अपेक्षाअनुसारको बजेट ल्याउन नसक्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संघीय सरकारले वित्तीय समानीकरण र सशर्त अनुदान दुई अर्बभन्दा बढी घटाएर प्रदेशलाई दिएपछि प्रदेश सरकारले अनुमान गरेअनुसार बजेट ल्याउन नसकिने बताए ।
आर्थिक वर्ष २०७६-७७ को पूर्वबजेटबारे सञ्चारकर्मीहरूसँग गरिएको छलफलमा मन्त्री बोहराले प्रदेश सरकारले ३० अर्बको बजेटको अनुमान गरेकोमा २९ अर्बको आउने प्रक्षेपण गरिएको बताए । चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट ल्याउने अन्तिम तयारी गरेकोहो । “प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुतको अन्तिम तयारीमा रहेको छ,” मन्त्री बोहराले भने, “अहिलेनै बजेटको आकार भने टुङ्गो लाग्न सकेको छैन । प्रदेशको बचतका आधारमा बजेटको आकारको टुंगो लगाइने छ ।”

मन्त्री बोहराले सरकाले कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास, लक्षित वर्गलगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए । प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने बोहराको भनाइ छ । साथै वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने उनको भनाइ छ । उनले विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि प्राथमिकतामा राखिने जानकारी दिए ।
सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट ६० प्रतिशतको हाराहारीमा मात्रै खर्च गर्न सक्ने जनाएको छ । विगतमा संयन्त्र अभावमा बजेट खर्च गर्न नसकिए पनि अब कर्मचारी समायोजनलगायतका कुरा साम्य भइसकेकाले पूर्ण कार्यान्वयन हुने बजेट ल्याउन मन्त्री बोहराको दाबी छ । टुक्रे नभएर विशेष कार्यक्रम र योजनामार्फत मात्रै बजेट ल्याइने उनले बताए ।
प्रदेशको गरिबी, बेरोजगारी र बाजुरा जस्ता विकट जिल्लालाई प्राथमिकतामा राखेर बजेट ल्याउने सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख छ । छलफल कार्यक्रममा प्रदेश सरकारले सञ्चारमाध्यमलाई दिगो बनाउने गरी बजेट ल्याउनुपर्ने सञ्चारकर्मीहरूको माग थियो । प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाहले आर्थिक वर्ष २०७५-७६ को बजेटमा सञ्चारलाई लक्षित गरी केही कार्यक्रम ल्याए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको गुनासो गरे ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदले पत्रकारको संस्थागत, सञ्चारमाध्यमको दिगोपना र पत्रकारको क्षमता विकासलाई लक्षित गरेर बजेट ल्याउन सुझाव दिए ।