कारोबार संवाददाता
सोमवार, जेठ २७, २०७६
417

मलमा कालोबजारी गर्नेलाई नछाड्ने चेतावनी

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले कृषिमा कम बजेट छुट्याइएको भन्दै असन्तुष्टि जनाएका छन् । मन्त्री खनालले कृषिलाई व्यवसायिक बनाउन कम्तिमा कुल बजेटको पाँच प्रतिशत छुट्याउनुपर्ने बताए ।
रिपोर्टर्स क्लब नेपालले आइतबार गरेको साक्षात्कारमा मन्त्री खनालले अहिले कुल बजेटको १.८ प्रतिशतमात्रै कृषिमा बजेट छुट्याईएको भन्दै भएको बजेटलाई कार्यान्वयन गर्नेतर्फ आफू सचेत रहेको बताए । “हामी केही चिनिएका कृषि उत्पादन जस्तो माछा, खसी–बोका र दूधमा निकट भविष्यमा आत्मनिर्भर हुन्छौं । सोहीअनुसार हामीले कार्यक्रम अघि सारेका छौं,” उनले भने, “यसपटकको बजेटमा पर्याप्त बजेट छुट्याइएको छ ।”

मन्त्री खनालले युवालाई कृषिमा आवद्ध गराउने गरी कार्यक्रमहरू अघि सारिएको पनि बताए । त्यस्तै किसानको वर्गीकरण यसपटकको बजेटमा समावेश नभए पनि आफूले यो कार्यक्रमलाई अघि बढाउने प्रयत्न गरिरहेको उनको भनाइ छ । उनले भने, “किसानको वर्गीकरण गर्दा पहिचान हुन्छ, यसो गर्न सकियो भने उनीहरूको समस्या पनि त्यहीअनुसार सुन्न पाइन्छ ।”
प्रदेश तथा स्थानीय तहमा सशक्त अनुदानको व्यवस्था गरिएको पनि उनले जनाए । उनले भने, “कृषिमा बजेट जति आएको छ, त्यो पर्याप्त छैन । तर, यसको सही सदुपयोग गर्नुपर्छ । यसप्रति हामी चनाखो छौं ।’ मन्त्री खनालले अण्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर भएको दाबी गरे ।
त्यस्तै, किसानले मल नपाएको सन्दर्भमा टिप्पणी गर्दैै उनले भने, “मलको अभाव हुने गरेको छ । किसानको मागलाई अनुदानमा पूर्ति गर्ने अवस्था छैन । युरियामा समस्या छैन ।” उनले अनुदानमा साँढे तीन खाल मेट्रिक टन मल किसानलाई दिन सकिने भए पनि ६ लाख मेट्रिक टनको माग रहेको बताए ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिको ठूलो योगदान रहेको भन्दै उनले आगामी दिनमा पनि कृषिको वृद्धिदर नघट्ने दाबी गरे । “हामीले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेका थियौं,” उनले भने, “त्यस्तै धान, गहुँ, मकैलगायत अन्य बालीको जोन तथा सुपरजोन कार्यक्रमलाई पनि सशक्त रूपमा सञ्चालन गरेका थियौं । यही भएर कुल गार्हस्थ्य उत्पादनमा कृषिको ठूलो योगदान रह्यो ।”
नेपालबाट अलैंची, अदुवा, कफीको निर्यात भइरहेको जानकारी दिँदै उनले उत्पादनमा अहिले पनि ठूलो माग रहेको बताए । मन्त्री खनालले भने, “कफीको ठूलो माग छ, हामी कफीका लागि सुपरजोन बनाएर कार्यक्रम अघि बढाउन लाग्दैछौं ।” उनका अनुसार अहिले साँढे ५ सय मेट्रिक टन कफीको उत्पादन भए पनि बजारमा ५ हजार मेट्रिक टनको माग रहेको छ ।
उनले आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी मलको ब्लेन्डिङ कारखाना खोल्न लागिएको पनि बताए । “यसका लागि हामीले १५ करोडको प्रस्ताव गरिएको छ,” उनले थपे । त्यस्तै, युएसटी र धुलो दूधको फ्याक्ट्री पनि खोल्न लागिएको उनले बताए ।
मलमा कालोबजारी भएको भन्ने कुरामा केही सत्यता रहेकाले त्यसतर्फ पनि आफू चनाखो रहेको बताए । उनले विचौलियालाई कडाई गर्ने चेतावनी दिए । अहिले कुल जनसंख्याको ६५ प्रतिशत कृषिमा निर्भर रहेको भन्दै उनले यो संख्यालाई झारेर २५ प्रतिशत बनाउनुपर्नेमा जोड दिए ।