कारोबार संवाददाता
मंगलबार, जेठ २८, २०७६
318

कैलालीको धनगढीका दलबहादुर शाहले राम्रै आम्दानी हुने सोचेर आठ वर्षअघि ऋण खोजेर कुखुरापालन व्यवसाय सुरु गरे । छ जनाले संयुक्तरूपमा सुरु गरेको कुखुरापालन व्यवसाय राम्रोसँगै चल्दै आएको थियो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडामा १८ कट्ठामा कुखुरापालन व्यवसाय सुरु गरेका उनले बैंकबाट सवा एक करोड ऋण र छ जनाको दुई करोड गरी सवा तीन करोड लगानीमा १२ हजार लेयर्स जातको कुखुरापालन व्यवसाय गरेका थिए । “दैनिक २६ पेटी अण्डा उत्पादन हुने हुने गरेको थियो,” उनले भने, “हावाहुरीले कुखुरा, फर्म तथा दाना, मेसिनलगायत सामान उडाएर कामै नलाग्ने बनाइदिएपछि बैंकको किस्ता र काम गर्ने मजदूरलाई तलव खुवाउनै समस्या परेको छ ।” उनको फर्ममा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
जुगेडामै कुखुरापालन व्यवसाय गर्दै आएका हिमालय गिरी पनि हावाहुरीले व्यवसाय चौपट बनाइ दिएपछि बैंकको किस्ता र मजदुरको पैसा कसरी तिर्ने भनेर चिन्तित छन् । “सारा लगानी हावाहुरीले उडाएर लग्यो, अब कसरी जिविकोपार्जन गर्ने होला ?,” उनले भने । उनले यसअघि पनि चोरी निकासीका कारण कुखुरा व्यवसायीलाई समस्या परेको भन्दै अब झन् गाह्रो भएको बताए ।
नेपाल कुखुरा तथा अन्डा उत्पादक किसान संघ कैलालीले हावाहुरीका कारण १० करोडभन्दा बढीको क्षति भएको अनुमान गरेको छ । संघका अध्यक्ष भुवन पाण्डेयले कैलालीमा मात्रै कुखुरापालक किसानको १० करोडभन्दा बढी क्षति भएको दाबी गरे । उनले कैलाली र कञ्चनपुरमा हावाहुरीका कारण कुखुरा व्यवसायीलाई सबैभन्दा बढी क्षति पु¥याएको बताए ।
कुखुरा अण्डा व्यवसायी संघ कैलालीका अनुसार कैलाली र कञ्चनपुरमा आएको विनासकारी हावाहुरीले सवैभन्दा बढी कुखुरा व्यवसायी मारमा परेका छन् ।
धनगढी उपमहानगरपालिकाको वडा नम्बर ११ घोडसुवाका किसान दीपक खत्री पनि हावाहुरीका कारण आफ्नो फार्ममा छाना उडेपछि चिन्तित छन् । उनले ८ सय चल्ला र १ हजार ४ सय तयारी कुखुरा मरेको बताए । उनले आफूलाई पाँच लाख बराबरको नोक्सानी भएको जानकारी दिए ।
गोदावरी नगरपालिकाको अत्तरियामा लोकल कुखुरा र अस्ट्रिचपालन गरिरहेका हेमन्त अवस्थीले हावाहुरीका कारण छाना उड्दा लोकल कुखुरा र अस्ट्रिचका चल्ला हराएको बताए । अवस्थीको फार्ममा अस्ट्रिचका ६ सय चल्ला र लोकल कुखुरा १ हजार थिए ।
आफूहरूलाई बैंकको किस्ता तिर्न र अन्य सहुलियतका लागि सम्बन्धित सरोकारवाला निकायले विशेष सहुलियत दिनुपर्ने कुखुरा व्यवसायीको माग रहेको छ । “कुखुरा तथा फर्मको बिमा पनि गर्न कसैले मान्दैनन्,” व्यवसायीहरू भन्छन्, “आफ्नो व्यवसायको बिमा गरिदिन पहल होस् ।”
हावाहुरीले ठूलो क्षति पु-याएको भए पनि प्रदेश सरकारले अहिलेसम्म पनि प्रभावितका लागि राहत घोषणा गरेको छैन । सुदूरपश्चिम प्रदेश सरकारले कुखुरापालक कृषकलाई के कति राहत रकम उपलब्ध गराउने भन्ने अहिलेसम्म निर्णय गर्न नसकेको हो । कुखुरा व्यवसायी शाहले भने, “फर्ममा पु-याएको क्षतिबारे विवरण संकलन गर्न कोही आएको छैन्, राहत दिन पनि कसैले चासो दिएको छैन ।”

विपद्मा ज्यान गुमाउनेका परिवारलाई राहतको घोषणा
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्को बैठकले बालीनाली, पशुपन्छीमा भएको क्षतिका विषयमा विषयगत मन्त्रालयले कानुन बमोजिम मापदण्ड बनाई कार्यान्वयन गर्ने निर्णय भएको जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले विपद्मा ज्यान गुमाएका र हावाहुरीबाट घर क्षति भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार गठन भएयता विपद्मा परी ज्यान गुमाएका परिवारलाई १ लाख ५० हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले जेठ २३ गते कैलाली र कञ्चनपुरमा आएको हावाहुरीमा परी ज्यान गुमाएका परिवारसँगै प्रदेशमा विपदमा परी ज्यान गुमाएका परिवारलाई १ लाख ५० हजार रकम उपलब्ध गराइने निर्णय भएको बताए । उनले प्रदेश सरकार गठन भएयता हावाहुरी, बाढी, चट्याङ, पहिरो लगायतका विपदमा परी ३८ जनाको मृत्यु भएको जानकारी दिए ।
कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण घर पूर्णरूपमा क्षति भएका परिवारलाई २० हजार रूपैयाँ र आंशिक क्षति भएकालाई १० हजार रूपैयाँ छुट्टै उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारले ‘सुदूरपश्चिम मुख्यमन्त्री राहत कोष’ स्थापना गर्ने निर्णय पनि गरेको छ । प्रदेशमा आउने बाढी, हावाहुरी, पहिरोलगायतबाट प्रभावित भएकाहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले कोष स्थापना गरिएको हो ।

मुकेश चौधरी