दिलबहादुर केसी
मंगलबार, जेठ २८, २०७६
1343

दोलखा-चीनसँग पुरानो नाका तातोपानी भूकम्पपछि बन्द भएर निकै तामझामका साथ २ साताअघि पुनः सञ्चालन भयो । ४९ महिनापछि निकै कसरतपछि सञ्चालनमा आएको दिन चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो ।
जेठ १७ गतेबाट सञ्चालन गर्ने सहमति भए तापनि २ दिनअघि नै नाका सञ्चालनमा आयो । गत २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।

१२ दिनअघि सञ्चालनमा आएको नाका त्यसपछिका दिनमा अहिले बन्द जस्तै भएको छ । सञ्चालनमा आएको २ साता बित्न लाग्दासमेत ती चारवटा कन्टेनर बाहेक न त चिनियाँ पक्षले अरू गाडीलाई प्रवेश दियो न त चिनियाँ गाडी नेपालतर्फ आए । भूकम्पपछि पुनः सञ्चालनमा आएको नाका अहिले औपचारिकतामा मात्रै सीमित भएको छ ।
चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुवै देशका अधिकारीको उपस्थितिमा नाका पुनः सञ्चालनमा ल्याइएको हो । सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, सो क्षेत्रका सांसद अग्नि सापकोटा, शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतका अधिकारीको सहभागिता थियो ।
सो क्रममा चीनबाट ऊन बोकेर आएको चारवटा ट्रकलाई अतिसबाजीसहित रेड कार्पेटमा स्वागत गरेर नेपाल भित्रीइएको थियो । यसैबीच नाका खुलेपछि स्थानीय तथा व्यापारी व्यवसायीहरू खुसी देखिएका छन् । उद्घाटन कार्यक्रम स्थलमा दुवैतर्फका स्थानीयहरू झन्डा बोकेर उपस्थित भएका थिए ।
नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक २० अर्बको आयात र ३ अर्ब रुपैयाँ बढीको निर्यात हुने सो नाका सञ्चालनमा आएपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् ।
तर, जुन उत्साहका साथ नाका सञ्चालन भयो । रातो कार्पेटमा स्वागत गरिएका चारवटा ट्रक बाहेक अरू कुनै पनि गाडी अहिले सो नाकाबाट आवत–जावत भएका छैनन् ।
नाका सञ्चालनका लागि दुवै देशको सीमा मितेरी पुलको पुनर्निर्माण ३ महिनामै भयो । नाकासम्मको सबैभन्दा बढी क्षति भएको सडक सुधारका लागि नेपाल र चीनको दुवै देशका सरकार मिलेर काम गरिरहेका छन् ।
नाका सुचारु नहुनुको खास कारण
नाका सुचारु नहुनुको मुख्य कारण सडक नै हो । ०७२ सालको विनाशकारी भूकम्पले क्षति पु-याएको अरनिको राजमार्गअन्तर्गत दोलालघाटदेखि कोदारीसम्मको ५९ किलोमीटर सडकको बिभिन्न खण्डमा मर्मत तथा पहिरो रोकथामको काम सुरु गरेको डिभिजन सडक कार्यालय चरिकोटले गरिरहेको छ । सुक्खा बन्दरगाह पनि तयार भएको छ ।
काठमाडौंदेखि ११४ किलोमिटर रहेको सडकमध्ये ९० किलोमिटरसम्म नेपाली पक्षले पुनर्निर्माण गर्ने सहमतिअनुसार डिभिजन सडक कार्यालयले पुनर्निर्माण गरेको छ । ९० किलोमिटर खण्ड सिन्धुपाल्चोकको फुलपिङकट्टी (लार्चा) भन्दा माथि बसेरीसम्म पर्छ । त्यहाँसम्म यातायात सञ्चालनमा कुनै पनि समस्या नहुने डिभिजन सडक कार्यालय चरिकोटका साइड इन्जिनियर गागलकुमार भण्डारीले बताए ।
तर, बसेरीभन्दा माथि २४ किलोमिटर चिनियाँ पक्षले सडक मर्मत गर्ने सहमतिअनुसार काम भयो । अहिले उतातर्फ ट्रयाक मात्र खोल्ने बाहेक कुनै पनि काम भएको छैन । डाक्लाङको पहिरो लगायतका ठूला–ठूला पहिरो पनि त्यही क्षेत्रमा पर्छ । वर्षात्मा यहाँ पुर्न अवरोध हुने भएपछि भन्सार औपचारिक उद्घाटन गरेर मात्र अहिले बन्द भएको हो । इन्जिनियर भण्डारीले २४ किलोमिटर सडक सुधार गरेर वर्र्षात्पछि मात्र सुचारु हुने योजना रहेको उनले बताए ।
२०७१ सालको जुरेको पहिरो र २०७२ सालको विनाशकारी भूकम्पपछि अरनिको राजमार्गको जुरे, कोठे, बलेफी, जम्बु, सकुवा, डाक्लाङ लगायतको सडक खण्डमा पहिरो तथा बाढीले क्षति पु-याएको थियो । विनाशकारी भूकम्पको कारण नेपाल पट्टी सिन्धुपाल्चोकको बाह्रबिसे, तातोपानी लगायतको क्षेत्र र चिनको लिपिङ, खासामा समेत ठूलो क्षति पुगेपछि तातोपानी नाका बन्द भएको थियो । २०७३ साउनमा आएको बाढीले तातोपानी क्षेत्रमा झन ठूलो क्षति पु-याएको छ ।
लार्चामा रहेको सुक्खा बन्दरगाह तयारी भएको छ । भन्सारका सबै चेक जाँच लार्चामै हुन्छ । तर, भन्सारका सबै व्यवस्थापन भइसकेको छैन । वर्षात् सकिएर दसैंको बेलादेखि नाका सुचारु गर्ने भन्सार विभागको योजना छ ।
तातोपानी नाका बन्द भएपछि त्यहाँ व्यवसायीहरू समेत विस्थापित भएका छन् । केही व्यवसायी रसुवागढी नाकामा सरेका छन् । तातोपानी खुल्ने भएपछि व्यवसासीहरू समेत उत्साहित भएर फर्कने तयारीमा छन् ।