प्रकाश लम्साल
सोमवार, जेठ २७, २०७६
2266

नेपाल सिमेन्टमा आत्मनिर्भर भएको बताइरहँदा पछिल्लो समय बारा–पर्साका सिमेन्ट उद्योग भने संकटमा पर्न थालेका छन् । कच्चा पदार्थको आयातमा महँगो ढुवानी लागत, बजारमा अनियन्त्रित प्रतिस्पर्धा र सबै कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले सिमेन्ट उद्योग संकटमा परेका हुन् ।
६ महिनायता सिमेन्टको बजार मूल्य घट्दै गएपछि क्लिंकर उत्पादन गर्ने खानी रहेका उद्योगसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको उद्योगीहरुको भनाइ छ । बारा र पर्सामा विश्वकर्मा, अम्बे, जगदम्बा, त्रिशक्ति, आरएमसी, रिलायन्स, कृष्ण, अरनिको, स्टार, शालिमारलगायत दर्जनबढी सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

नेपाल सिमेन्ट उत्पादक संघका केन्द्रीय अध्यक्ष ध्रुवराज थापाले उत्पादनको हिसाबले नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुगिसकेको र नियात गर्ने बजारहरुमा उद्योगीहरुले वातावरण बनाउँदै गएको बताए । “बजारमा प्रतिस्पर्धा हुन्छ, बजार मूल्यको प्रतिस्पर्धामा उद्योग आफैंले सोच्नुपर्ने हुन्छ । संघले केही गर्न सक्ने अवस्था रहँदैन,” उनले भने । बारा पर्सामा रहेका उद्योगबाट दैनिक करिब २० हजार टन सिमेन्ट उत्पादन हुने गरे पनि हाल घटेर १० हजार टन उत्पादन भई बजारमा जाने गरेको छ ।
१२५ टनभन्दा कम उत्पादन क्षमता भएका कतिपय साना सिमेन्ट उद्योगहरुले उत्पादनसमेत न्यून मात्रामा गर्दै आएका छन् । एउटा प्लान्टबाट ३ सय टन उत्पादन गर्ने प्लान्ट सञ्चालन गरेका त्रिशक्ति, अम्बे, विश्वकर्मा, जगदम्बालगायत उद्योगहरुले समेत बजारमा बिक्री कम हुँदा मूल्य घटेकै कारण उत्पादनमा कटौती गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का उपाध्यक्ष तथा शालिमार सिमेन्टका सञ्चालक अशोककुमार वैदले यहाँ उत्पादित सिमेन्टको बिक्री निकै घटेको बताए । सिमेन्ट उद्योगले कच्चा पदार्थको आयातमा विगत डेढ वर्षदेखि हैरानी खेपिरहेको र रक्सौलमा क्लिंकर लोड–अनलोड गर्न स्थानीयले रोकेपछि मुजफ्फरपुरबाट कच्चा पदार्थ ल्याउँदा ढुवानी ४० प्रतिशत महँगो पर्दा नेपालमा रहेका खानीबाट सञ्चालित उद्योगहरुसँग प्रतिस्पर्धा गर्न नसकेको गुनासो उनले गरे । यसकै कारण बिक्री र उत्पादन घटेको उनको भनाइ छ ।
भारतीय रेलवेले ०७४ पुस ७ देखि वीरगञ्ज–रक्सौलको रेलवे यार्डमा क्लिंकर लोड–अनलोड बन्द गरेको थियो । त्यसका कारण आयातकर्ता कच्चापदार्थ १२५ किलोमिटर टाढाको नारायणपुरबाट ढुवानी गर्न बाध्य छन् । यसकै कारण उत्पादन लागत बढी परेको बारा–पर्साका सिमेन्ट उद्योगी बताउँछन् ।
उद्योगी वैद भन्छन्, “सरकारले आवश्यकता भन्दा बढी सिमेन्ट उद्योग खोल्न अनुमति दियो । यसको मार बारा–पर्साका उद्योगीलाई मात्र नभएर बैंक तथा वित्तीय संस्थालाई समेत केही समयपछि पर्ने निश्चित छ ।”
नवलपरासीको होङ्शी सिमेन्टले ठूलो मात्रामा क्लिंकर र सिमेन्ट उत्पादन सुरु गरी बजार प्रवेश गरेपछि बारा–पर्साका सिमेन्ट उद्योगहरुलाई सकस परेको हो । दैनिक सात सयदेखि १ हजार ट्रकसम्म क्लिंकर र सिमेन्ट उत्पादन गर्दै आएको उक्त उद्योगबाट बारा–पर्साका सिमेन्ट उद्योगहरुले समेत क्लिंकर खरिद गर्न थालेका छन् ।
आफ्नै खानी भएका लहानको मारुती सिमेन्ट, हेटांैडाको शिवम् सिमेन्ट र ऋद्धिसिद्धि सिमेन्ट, दाङको घोराही सिमेन्ट, तुल्सिपुरको सोनापुर सिमेन्ट, धादिङको केपी, मंगलम र युनाइटेड सिमेन्टले आफ्नो क्षेत्रको बजार कब्जा गरेको बारा–पर्साका सिमेन्ट उद्योगको गुनासो छ ।
केही समयअघिसम्म पीएसी, ओपीसी, पीपीसी सिमेन्टको बजार मूल्य प्रतिबोरा ८ सयदेखि ९ सय रुपैयाँसम्म रहेकोमा ५ सय ५० देखि ६ सय ५० सम्म रहेको छ । भूकम्पपछिको पुनर्निर्माणका कारण बिक्री बढ्दा बारा–पर्साका साना सिमेन्ट उद्योगहरुले समेत प्लान्ट विस्तार गरी उत्पादन क्षमता बढाएको तर त्यसलगत्तै देशभर ठूला सिमेन्ट उद्योगहरु सञ्चालनमा आएपछि प्रतिस्पर्धा गर्न गाह्रो भएको उद्योग वाणिज्य संघ वीरगन्जको भनाइ छ ।
वीरगन्जका सिमेन्ट उद्योगहरुले सिमेन्ट बनाउने कच्चा पदार्थ सेलेट, क्लिंकर आदि भारतबाट र जिप्सन भुटानबाट आयात गर्ने गरेका छन् । पछिल्लो समय क्लिंकर भने नेपालमै उत्पादन हुन थालेपछि नेपालकै उद्योगबाट खरिद गर्ने गरेका छन् ।
विश्वकर्मा सिमेन्टका प्रबन्धक प्रेमशंकर सिंहले रक्सौलमा कच्चा पदार्थ स्थानीयले धुलो उड्ने भन्दै लोड–अनलोड गर्न नदिएपछि १२५ किलोमिटर टाढाबाट ल्याउँदा ११ सय प्रतिटन व्ययभार पर्न जाँदा मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको र उत्पादन र बिक्री दुवै घटेको बताए ।