मनिषा चम्लागाईँ
आइतवार, जेठ १२, २०७६
426

झापा-जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्यधिक बढेको छ । महंगीको सवैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातादेखि नै बढेको हो ।
झापाको बिर्तामोडमा रहेको प्रदेश–१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँमा (खुद्रा) बिक्री हुँदै आएको छ । गतवर्ष गोलभेडाले बिक्री नभएपछि कृषकले राजमार्गमा फ्याँकेका थिए । गतबर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ । “किसानले गतवर्ष गोलभेडाको उचित मूल्य नपाएका कारण यस वर्ष थोरै परिणाममा उत्पादन गरे,” कृषिथोक बजारका व्यापारी नारायण साहले भने, “गतवर्ष नेपालमा उत्पादन भएको गोलभेडाले उचित मूल्य नपाए पनि यस वर्ष ६० प्रतिशत मात्र बजार धानेको छ, बाँकी ४० प्रतिशत भारतबाट आयात भइरहेकोे छ ।” कृषिथोक बजारका होलसेल व्यापारीले साहले थोक मूल्य ४० रुपैयाँ प्रतिकेजी खरिद गर्दै आएका छन् । साहले दैनिक ३ हजार केजी गोलभेडा बजारमा भित्रिँदै आएको जानकारी दिए । झापामा मात्र नभएर देशैभर तरकारीको भाउ उच्च रहेको साहको भनाइ छ । उत्पादनमा सन्तुलन नभएको कारणले उपभोक्ता र कृषक दुवै मारमा पर्दै आएका छन् ।

केही दिन अघिसम्म २० रुपैयाँ प्रतिकेजीमा कारोबार हुँदै आएको गोलभेडा अहिले ८० रुपैयाँसम्म खर्चिनु परेको बिर्तामोड नगरपालिका–३ की जेनिशा लिम्बुले बताइन् । कृषिथोक बजार व्यवस्थापन समितिले तरकारीको मूल्य निर्धारण गरे पनि त्यो भन्दा धेरै महंगोमा तरकारी खरिद गर्नु परेको उनी बताउँछिन् । गोलभेडा मात्र नभएर सबै तरकारीको भाउ अत्यधिक बढेको उपभोक्ताको गुनासो छ । “महंगीले तरकारी किनेर छाक टार्न पनि गाह्रो हुन थाल्यो,” लिम्बुले भनिन्, “प्रत्येक दिन दुई सय बढीको तरकारी खपत हुन्छ, तरकारी किनेर खान नसकिने भइयो ।” एक साताका लागि तरकारी किन्न भनेर कृषिथोक बजार आइपुगेकी कनकाई नगरपालिका–३ की गिता गिरीलाई महंगीका कारण छुट्याएको रकमले दुई÷तीन दिनमात्र पुग्ने तरकारी किनेर फर्किएको बताइन् । औषत आम्दानी भएका उपभोक्तालाई महंगीले धेरै नै सताएको उनी बताउँछिन् ।
गोलभेडा मात्र नभएर सबै तरकारीको भाउ यतिबेला अकासिएको छ । गत वर्ष १ सय रुपैयाँ प्रतिकिलो खुद्रा बिक्री हुँदै आएको अदुवा यस वर्ष दुई सय रुपैयाँ प्रतिकिलो कारोबार भइरहेको छ । फर्सी–स्कुसको टुप्पा ५० रुपैयाँ मुठा, सिमी ६० रुपैयाँ प्रतिकेजी, बन्दाकोपी, करेला, भिन्डि, स्कुस, आलु ४० रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको व्यापारी मञ्जु निरौलाले बताइन् । एक महिना अघिसम्म दुई रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको मुला अहिले ४० रुपैयाँमा कारोबार हुँदै आएको छ । गत वर्ष तुलनामा यस वर्ष तरकारीको भाउ बढेको उनको भनाइ छ । “डिलरबाट हामीले खरिद गर्दा नै मंहगो पर्ने गर्छ,” निरौलाले भनिन् “उपभोक्ता अझ महंगो मूल्य तिर्न बाध्य छन् ।” यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको व्यापारीको भनाइ छ । विगत १० वर्र्षदेखि च्याउको मूल्य भने समान छ । कुनै पनि सिजनमा यसको मूल्य घटबड नहुने गरेको बिक्रेताको भनाइ छ । लामो समयदेखि कृषिथोक बजारमा तरकारी व्यापार गर्दै आएका बिर्तामोडमा अर्जुन रोक्काले आफूले व्यापार सुरु गर्दा १६० रुपैयाँ (खुद्रा)मा बिक्री गर्दै आएको च्याउ अहिले पनि सोही मूल्यमा बिक्री गर्ने गरेको बताए ।
गत वर्ष यही सिजनमा डेढ विगाह क्षेत्रफलमा गोलभेडा लगाएका झापाको बुद्धशान्ति गाउँपालिका–७ का खेमराज पौडेलले यस वर्ष १ विगाहमा मात्र गोलभेडा लगाएका छन् । “पोहोरको साल उत्पादन गरेको गोलभेडा बारीमा नै कुहियो,” पौडेलले भने, “यस वर्ष १० कठ्ठा कम क्षेत्रफलमा गोलभेडा लगाएँ, बजारको मागलाई धान्न धौ–धौ परिरहेको छ ।” भारतमा धेरै उत्पादन भए नेपालको गोलभेडाले मूल्य नै नपाउने उनी सुनाउँछन् । “भारतको उत्पादन हेरेर हामीले उत्पादन गरेको तरकारीको मूल्य निर्धारण गरिन्छ,” पौडेलले भने, “नेपाली बजार भारतीय उत्पादनमा निर्भर रहेकाले हामीले उत्पादन गरेको तरकारीको मूल्यमा हरेक बर्ष एकरूपता हुँदैन ।” गत वर्ष बारीमा नै कुहिएको गोलभेडा यस वर्ष व्यापारी घरमा नै आएर खरिद गर्दै आएको पौडेलको भनाइ छ । पौडेलले अहिले बारीबाटै प्रतिकिलो ५० रुपैयाँमा गोलभेडा बिक्री गर्दै आएका छन् । सामान्यतया बजेट भाषणपछि महंगी बढ्ने गथ्र्यो । तर यसपटक बजेट भाषणअघि नै दैनिक उपभोग्य वस्तुको बजार भाउ अकासिन थालेको छ ।