कारोबार संवाददाता
मंगलबार, जेठ ७, २०७६
433

जिल्लाको काठेखोला गाउँपालिका–७ स्थित रेश नुन्थला माध्यमिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवमा रु एक करोड ७२ लाख रकम सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यले गत वैशाख ३१ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको शैक्षिक महोत्सवमा नगद र निःशुल्क प्राप्त भएको जग्गाको मूल्यसमेत जोड्दा रु एक करोड ७२ लाख सङ्कलन भएको विद्यालयले जनाएको छ ।विद्यालयले कक्षा ११ र १२ मा सिटिभिटीबाट सम्बन्धन प्राप्त अमिन, कृषि तथा भेटेनरी र पूर्णप्रविधि मैत्री विद्यालय बनाउनका लागि शैक्षिक महोत्सवको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताए  । “विद्यालयमा हाल ११ र १२ मा शिक्षा सङ्काय मात्र सञ्चालनमा छ, यसै वर्षदेखि व्यवस्थापन सङ्कायसमेत थप्नेछौँ”, प्रअ थापाले भने , “विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागि शैक्षिक महोत्सव कोसेढुङ्गा सावित हुनेछ ।”शैक्षिक सुधारको योजाना ल्याएपछि विद्यालयको शैक्षिक गुणस्तरमा क्रमश सुधार आएको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए  । सो विद्यालयमा ४३७ विद्यार्थी अध्ययनरत् रहेको छ ।