कारोबार संवाददाता
आइतवार, जेठ ५, २०७६
454

विश्वका १ सय ५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ वटा मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकोमा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
२३ मुलुकसँगको भने व्यापारमा नाफा देखिएको छ । व्यापार नाफामा रहेका मुलुकको कारोबार भने धेरै न्यून छ । छिमेकी मुलुक चीन र भारतसँगको व्यापार घाटाको मात्रा सबैभन्दा बढी छ । पछिल्लो ९ महिनामा भारतबाट ६ खर्ब ८६ अर्ब ८५ करोड ८० लाख २२ हजार बराबरको सामान आयात भएको छ । नेपालबाट ४४ अर्ब १८ करोड ६२ लाख ८३ हजार बराबरको मात्रै निर्यात भएको छ ।

निर्यातभन्दा आयातको मात्रा बढी भएका कारण भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएको देखिन्छ । भारतसँग ६ खर्ब ४२ अर्ब ६७ करोड १७ लाख ३९ हजार बराबरको व्यापार घाटा रहेको तथ्यांक छ ।
चीनबाट १ खर्ब ५३ अर्ब ९६ करोड ५६ लाख मूल्य बराबरको सामान आयात हुँदा १ अर्ब ५२ करोड ३२ लाख ६१ हजार मूल्य बराबरका सामान मात्र निर्यात भएको छ । चीनसँग नेपालको व्यापार घाटा १ खर्ब ५२ अर्ब ४४ करोड २३ लाख ४० हजार रहेको छ ।
नेपालको व्यापार घाटा हुने देशमा संयुक्त अरब इमिरेट्ससमेत रहेको छ । योसँग २६ अर्ब ७० करोड ४ लाख ६२ हजार बराबरको व्यापार घाटा छ । युएइसँग २६ अर्ब ८१ करोड ९१ लाख ९५ हजार बराबरको सामान आयात हुँदा ११ करोड ८७ लाख ३३ हजार बराबरको मात्रै निकासी भएको छ ।
नेपालको व्यापार घाटा रहेको देशमा फ्रान्ससमेत रहेको छ । फ्रान्ससँग १६ अर्ब ४० करोड ११ लाख ४७ हजार बराबरको व्यापार घाटा छ ।
इन्डोनेसिया, थाइल्याण्ड, क्यानडा, मलेसिया, स्वीट्जरल्याण्ड, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, भियतनाम, साउदी अरब, युक्रेनलगायतका देशसँग पनि नेपालको व्यापार घाटा रहेको विभागको तथ्यांकमा उल्लेख छ ।
अल्जेरिया ६ करोड ८६ लाख ४७ हजार, एन्टिगुआ र बर्मुडा २ लाख ७८ हजार, न्यू क्यालेडोनिया १ करोड ६६ लाख ६१ हजार, गुयना २८ लाख ५१ हजार, अजरबैजान १८ लाख ८४ हजार र पानामा २३ लाख १६ हजार बराबरको सामान निर्यात भई नाफामा रहेको पाइएको छ ।
चालू आवको ९ महिनामा १० खर्ब ६१ अर्ब ६१ करोड १२ लाख ४ हजार बराबरको आयात भएको छ । यस्तै सोही अवधिमा ६९ अर्ब ८२ करोड २३ लाख ४८ हजार बराबरको मात्रै सामान निर्यात भएको छ । व्यापार घाटा मात्रै ९ खर्ब ९१ अर्ब ७८ करोड ८८ लाख ५७ हजार बराबरको छ ।
विभागका अनुसार कूल ४६ मुलुकमा भने कुनै पनि मालवस्तु निर्यात हुन सकेका छैनन् । सार्क मुलुकमध्ये पाकिस्तानसँग पनि ४५ करोड १४ लाख ४६ हजार बराबरको व्यापार घाटा छ भने भूटानसँग १ अर्ब ५ करोड ६० लाख ५५ हजार बराबरको घाटा रहेको छ ।
श्रीलंकासँग २१ करोड ७२ लाख ६८ हजार व्यापार घाटा रहँदा अफगानिस्तानसँग भने १ करोड ४७ लाख ८४ हजार बराबरको नाफा छ । बंगलादेशसँग २ अर्ब ४६ करोड ७ लाख ५८ हजार बराबरको व्यापार घाटा छ ।