कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
159

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग छिमेकी मुलुक चीनको कान्छु प्रदेशका गभर्नर थाङ रनच्यानलले भेटवार्ता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को विशेषता र सम्भावनाबारे गभर्नर थाङलाई जानकारी गराएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।


भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ मा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित धेरै बौद्ध संस्कृतिसँग सम्बन्धित सम्पदास्थल रहेको र ती क्षेत्रमा पर्यटन प्रवद्र्धन गरी लाभ लिने गरी योजना अघि सारिएको जानकारी दिएका थिए ।


गर्भनर रनच्यानले प्रदेश ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा खुशी लागेको जनाउँदै नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो र घनिष्ठ रहेको र सम्बन्धलाई मजबुत र फराकिलो बनाएर द्विपक्षीय हितमा धेरै काम गर्न सकिने बताए । उनले द्विपक्षीय सहकार्यमार्फत सांस्कृतिक तथा पर्यटन क्षेत्रमा धेरै काम गर्न सकिने बताएका थिए ।

गभर्नर रनच्यानले प्रदेश–५ र कान्छु प्रदेशको अवस्था मिल्दोजुल्दो भएको भन्दै कृषि उत्पादन र पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन तयार रहेका बताए ।

भेटवार्तामा मुख्यमन्त्री पोखरेलले नेपालको विकास प्रयासमा चिनियाँ सहयोग आवश्यक रहेको र खासगरी पूर्वाधार विकासमा चिनियाँ सहयोगले धेरै लाभ लिन सकिएको बताएका थिए ।

त्यस क्रममा द्विपक्षीय सहयोग र साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ । मुख्यमन्त्री पोखरेल र गर्भनर रनच्यानको उपस्थितिमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल र कान्छु प्रदेशका सांस्कृतिक तथा पर्यटन निर्देशक थन वइतोङले हस्ताक्षर गरी समझदारीपत्र आदानप्रदान गरे ।

समझदारीपत्रमा सांस्कृतिक कार्यक्रम आदान–प्रदान र पर्यटन पवद्र्धनका लागि दुई देशका विज्ञ, उद्यमी र सरकारी अधिकारीको भ्रमण आदान प्रदान बढाउने, नेपालको पर्यटन विकासका लागि चिनियाँ लगानी बढाउने त्यसैगरी, रूपन्देहीको सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चरबीच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति भएको छ । सहमतिपत्रमा सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की र गाननान स्वायत्त प्रिफेक्चरका डेपुटी गर्भनर सी चानयानले हस्ताक्षर गरी सहमतिपत्र आदानप्रदान भएको थियो ।

सातामा धेरै पढिएको