कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
248

आगामी शनिबारदेखि नुवाकोटको ककनीस्थित रानीपौवा बजारमा कृषि प्रदर्शनी मेला हुने भएको छ । पूर्वमन्त्री तथा तत्कालीन माओवादी पार्टीका नेता स्वर्गीय पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा कृषि मेला हुने भएको हो ।


नुवाकोटा स्थायी बासिन्दा बोगटी किसान आन्दोलनमा समेत सहभागी भएका नेता भएकाले कृषि पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतिष्ठानको आयोजना र ककनी गाउँपालिकाको सहआयोजनामा पाँच दिने कृषि मेला गर्न लागिएको आयोजकले जनाएका छन् । मेलामा ट्राउट तथा स्थानीय माछा, कफी, चिया, तरुल, सखरखन्ड, केरा, अदुवा, प्याज, खुर्सानी, हरियो तरकारी, राँगा, भैंसी, बँदेल, सुँगुर, कुखुरा, तित्रा, च्याखुर, बट्टाइ, महलगायतका कृषि उपज तथा कृषि सामग्रीहरूको प्रदर्शनी तथा बिक्री वितरण गर्ने कार्यक्रम छ ।


“ंस्वर्गीय बोगटी किसान संगठनको अध्यक्ष भएको, किसान परिवारबाट उठेर आन्दोलन, संविधानसभामा तत्कालिन दलको प्रमुख सचेतक, ऊर्जा, संस्कृतिमन्त्री भएर नेपाली जनताको सहयोग गर्नुभएको थियो,” प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले भने, “उहाँको सम्झनामा हामीले कृषक, कृषि उद्यमी तथा पर्यटन प्रवद्र्धनका लागि मेला आयोजना गर्न लागेका हौं ।” मेलामा नुवाकोटका १० गाउँपालिका र २ नगरपालिकाका प्रमुखहरूको उपस्थिति र सबै पालिकाको एक÷एक वटा स्टल राख्ने योजना रहेको उनले बताए ।


काठमाडौं, धादिङ र रसुवाका पालिकाहरू र व्यवसायीलाई पनि मेलामा स्टल उपलब्ध गराउने योजना रहेको बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । नुवाकोटबाट प्रतिनिधित्व गर्ने संघीय, प्रदेश र स्थानीय तहका सबै जनप्रतिनिधिहरूको सहभागीता मेलामा हुने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने मेलामा पाँचै दिन नेकपालगायत अरु राजनीतिक दलका प्रतिनिधिसमेतलाई सहभागी गराउने योजना रहेको प्रतिष्ठानका उपाध्यक्ष हितबहादुर तामाङले बताए ।


कुल ४० स्टल रहने मेलामा कृषि तथा पशुपंक्षीजन्य उत्पादनको प्रदर्शनी तथा बिक्री गरिने भएको छ । प्रति स्टल दैनिक पाँच लाखको दरले पाँच दिनमा दुई करोडको कारोबार हुने र मेला अवधिभर करिव ६० लाख रकम खर्च हुने अनुमान आयोजकको छ ।