कारोबार संवाददाता
बिहिवार, जेठ २, २०७६
102

गण्डकी प्रदेशमा २० प्रतिशत बजेट खर्च भएको छ । आर्थिक वर्ष २०७५-७६ को १० महिनामा २० प्रतिशत मात्रै बजेट खर्च भएको हो ।


कुल बजेट २४ अर्ब २ करोड मध्य ४ अर्ब ६८ करोड खर्च भएको प्रदेश लेखा नियन्त्रक जयराम पौडेलले बताए । उनले चालूतर्फ ८ अर्ब ११ करोड मध्ये २ अर्ब ४५ करोड बजेट खर्च भएको छ भने पुँजीगततर्फ १५ अर्ब ९१ करोड मध्ये २ अर्ब ३४ करोड बजेट खर्च भएको जानकारी दिए । चालूतर्फ ३० प्रतिशत र पुँजीगततर्फ १५ बजेट खर्च भएको देखिन्छ ।


प्रदेशले विभिन्न विभागका कार्यालय मंसिरसम्म विस्तार गर्न लाग्नुका साथै कर्मचारीले समयमा कार्यालयको व्यवस्थासहित काम अघि नबढाएका कारणले बजेट कार्यान्वयनमा ढिलासुस्ती भएको पौडेलले जानकारी दिए ।


बजेट कार्यान्वयको ढिलासुस्तीले असारमा बढी भुक्तानी हुने चलनलाई गण्डकी प्रदेशले पनि निरन्तरता दिने भएको छ । धेरै ठूला योजना कार्यान्वयन भइसकेका छन्, ठेक्का कम्पनीले बिल उपलब्ध नगराएसम्म भुक्तानी नदिने नियमले भुक्तानी धेरै नभएको नियन्त्रक पौडेलले बताए ।
शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन क्षेत्रमा नीतिनिर्माण तथा प्रदेशको गुरुयोजनाअनुसार काम गर्दा, कार्यालय व्यवस्थापन ढिलो र कर्माचारी समायोजनलगायतले बजेट सोचेजति समयमा खर्च हुन नसकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले बताए ।