अमरराज आचार्य
बिहिवार, जेठ २, २०७६
185

घोराही उपमहानगरपालिका–१० जलौराका मनकलाल चौधरीले नेट हाउसमा काँक्रा फलाएका छन् । १५ कट्ठा जग्गामा नेट घर निर्माण गरेर उनी काँक्रासँगै भेडे खुर्सानी र गोलभेंडासमेत फलाउन सफल भएका छन् । उनले अहिले काँक्रा र भेडे खुसानी बिक्री गरिरहेका छन् भने गोलभेंडा पनि बिक्रीका लागि तयार हुँदै छ ।


उनले अहिले काँक्रा प्रतिकिलो ३० रूपैयाँ र भेडे खुर्सानी प्रतिकेजी ८० रूपैयाँमा बिक्री गर्दै आएका छन् । आफूले उत्पादन गरेका वस्तु बिक्रीको कुनै पनि समस्या नभएको चौधरीले बताए । “वस्तु ताजा र राम्रो हुने भएकाले मलाई बिक्री गर्न कुनै समस्या छैन,” उनले भने । यसरी गरिएको तरकारी खेतीबाट घर व्यवहार चलाउने गरेको उनले बताए ।


उनले नेट हाउसमा गरेको तरकारी खेतीबाट धेरै लोभिने गरेका छन् । शिवशक्ति कृषिफर्म दर्ता गरेर उनले व्यावसायिक तरकारी खेती सुरु गरेका हुन् । २०७४ सालदेखि नेट निर्माण गरेर व्यावसायिक तरकारी खेती गर्न थालेको चौधरीले बताए । सिँचाइका लागि प्रसस्त पानी नभए पनि उनले थोपा सिँचाइमार्फत् सिँचाइ गर्ने व्यवस्था मिलाएका छन् ।


वैदेशिक रोजगारीको सिलसिलामा ५ वर्ष विदेशमा बिताएर फर्किएका उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने लागेर तरकारी खेती सुरु गरेको बताए । आफूसँग सिप नभएका कारणले पनि विदेशमा भने जस्तो कमाइ हुन नसकेको उनले बताए । “स्वदेशमा नै केही गर्नुपर्छ भन्ने मान्यता राखेर मैले प्राविधिक रूपमा व्यावसायिक तरकारी खेती गर्न सुरु गरेको हुँ,” उनले भने । स्वदेशमा केही गर्दा आफ्नो घर परिवारसँगै रमाउन पाइने उनले बताए ।


अहिले आफ्नो परिवारसहित अन्य ३ जनालाई समेत रोजगारी दिएका छन् । उनले साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको २५ लाख र आफ्नो ३१ लाख रूपैयाँ लगानीमा नेट हाउस निर्माण गरी व्यावसायिक तरकारी खेती सुरु गरेको बताए । “सुरुमा नेट हाउस निर्माण गरेर खेती गर्नेभन्दा गाउँका मानिसले के गर्न लागेको होला भनेर भन्ने गर्थे,” उनले भने, “अहिले तरकारीको उत्पादन र आम्दानी हेरेर सबै चकित परेका छन् ।”


नेट हाउसमा खेती गर्दा किराले सताउन नपाउने चौधरीको अनुभव छ । तर नेट हाउसमा खेतीगर्दा लागत वढी लाग्ने गरेको उनले बताए । “नेट हाउसमा खेती गर्नेलाई राज्यले सहयोग दिनुपर्छ,” उनले भने ।