कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
210

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेको छ । केही दिनअघि निक्षेप तान्न उपहार योजना सञ्चालन गर्न नपाइने निर्देशन जारी गरेको राष्ट्र बैंकले तीन महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाइने व्यवस्था गरेको हो ।
लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरूले सीसीडी सन्तुलनमा राख्न उच्च ब्याजदरका साथै उपहार योजनामा समेत प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंक कठोर बनेको हो । लगानीयोग्य रकमको अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाले मुद्दती बचतमा उच्च ब्याजका साथमा अन्य आकर्षक उपहार योजना ल्याएर निक्षेप तान्ने गरेका थिए । अब बैंकहरूले ९० दिनभन्दा कमको मुद्दती निक्षेप उठाउन पाउने छैनन् । यसअघि बैंकहरूले ६० देखि ७५ दिनको मुद्दती निक्षेप योजनासमेत सञ्चालन गर्ने गरेका थिए । साथै मुद्दती निक्षेपको समयावधि समाप्त नहुँदै पूवर्निधारित ब्याजदर कायम हुने गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेपसमेत स्वीकार गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । केही बैंकहरूले मुद्दती निक्षेप जतिसुकै बेला झिक्न पाइने योजना सञ्चालन गरेका थिए । अब त्यस्ता योजनासमेत सञ्चालन गर्न नपाउने भएका छन् । त्यस्तै अबका दिनमा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा सुनचाँदीको सिक्कालगायत कुनै पनि किसिमका सिक्का उपहार प्रदान गर्न नपाउने भएका छन् ।