मनोरञ्जन शर्मा
बुधवार, जेठ १, २०७६
339

उच्चकोटीको विदेशी मदिरा भारतबाट तस्करी हुँदै नेपाल भित्रिने गरेको खुलेको छ । भारतमा उत्पादन हुने र विदेशबाट भारत ल्याइएका विभिन्न ब्रान्डका मदिरा अवैध तरकाले नेपाल भित्रिने गरेको पाइएको हो । भैरहवाको बेलहिया नाका हुँदै भरिया मार्फत् यस्तो मदिरा नेपाल भित्रिने गरेको हो ।
यसअघि यो नाकाबाट मदिरा बनाउने कच्चा रक्सी (स्प्रिट) आयात हुने गरे पनि तयारी मदिरा भने आयात हुने नगरेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत एवं सूचना अधिकारी कलिराम पौडेलले बताए । “विदेशबाट आउने नेपालीलाई नियमअनुसार १ लिटर सम्म र परिवारमा आएर ३÷४ लिटरसम्म ल्याउन छुट दिइए पनि भरिया लगाएरै मदिरा लुकाएर ल्याएको पाइयो,” उनले भने, “त्यस्तो मदिरा जफत गरी अहिले लिलामीका लागि सूचना प्रकाशित गरेका छौं, करिब डेढ वर्षको अवधिमा १ करोड रूपैयाँभन्दा बढीको मदिराहरू जफत गरेका छौं ।” उनले विदामा घर आउने प्रवासी नेपालीले अवैध तरवले मदिरा ल्याउने गरेको बताए ।

अबैध तरिकाले ल्याइएका यस्ता मदिरा अहिले लिलामीको प्रकृयामा रहेको भन्सार कार्यालयले जनाएको छ । बरामद मदिरामा सवैभन्दा बढी किंग रोबर्ट ह्वीस्की र क्लान माक गर्गर ह्वीस्की रहेका छन् । दुबै गरी ३६ सय बोतल रहेका छन् । ३६ सय बोतलको मूल्य लिलामीका लागि न्यूनतम ७५ लाख ६० हजार कायम गरिएको छ ।
किंग रोबर्ट ह्वीस्की १ लिटरको बोतलको नेपालमा बजार मूल्य कम्तिमा ४२ सय रूपैयाँ पर्ने गरेको छ भने क्लान माकको नेपालमा बजार मूल्य कम्तिमा पनि ४६ सय रहेको छ । त्यस्तै अन्य मदिराहरूमा सिग्नेचर ७५० एमएलको ९९ बोतल, सिग्नेचर १८० एमएलको ९६ बोतल, सिग्नेचर ३७५ एमएलको २४ बोतल, डिलक्स रम ७५० एमएल २२०७ बोतल, म्याकडोयल्स ६५० एमएल ४८ बोतल, रोयल स्टेग ७५० एमएल ५३० बोतल, रोयल स्टेग ३७५ एमएल १२० बोतल, रोयल स्टेग १८० एमएल ७६८ बोतल, रोयल स्टेग १०० एमएल १९२ बोतल र प्रिष्टेज ह्वीस्की ७५० एमएलको ३६ बोतल रहेको छ । यस्को न्यूनतम मूल्य २६ लाख ९३ हजार ३ सय ७६ रहेको छ । सिग्नेचर, म्याकडोयल, रोयल स्टेगलगायतका स्वीस्की नेपालमाभन्दा भारतमा सस्तो हुने र त्यहाँका कुनै कुनै राज्यमा अन्तःशुल्क समेत छुट हुनाले नेपालमा भन्दा धेरै सस्तो हुन्छ । त्यसैले भारतबाट औसत मूल्यका मदिरा लुकाएर ल्याउने गरेको पाइन्छ ।