मनिषा चम्लागाईँ
बुधवार, जेठ १, २०७६
430

पूर्वका चिया उद्योगमा डेढ महिना लामो आन्दोलन हुँदा पनि झापाको भद्रपुर नगरपालिका– १ पृथ्वीनगरमा रहेको सहकारी चिया प्रशोधन कारखानामा काम गर्ने चिया मजदुरलाई भने छोएन । 
चिया उत्पादक संघका पदाधिकारीकोे घरसहित निजी कार्यालय घेराउ गर्ने, राजमार्गमा सुत्ने र चिया उद्योगीकोे पुत्ला जलाउनेसम्मका काममा मजदुर लागिरहँदा सहकारी चिया प्रशोधन कारखानामा काम गर्ने चिया मजदुरलाई भने आन्दोलनले छोएन । सहकारी चिया प्रशोधन कारखाना कार्यरत मजदुर चिया पत्ती सुकाउने, मेसिनमा हाल्ने, ग्रेडिङ छुट्याउनेदेखि प्याकेजिङ गरी बजार पठाउने काममा व्यस्त छन् । बगानमा पनि चियाको मुना टिप्ने, मुनालाई उद्योगसम्म पुर्याउने कामले एकछिन बस्ने फुर्सद नभएको चिया मजदुर बताउँछन् । उक्त उद्योगमा २५ बढी मजदुर कार्यरत छन् ।
चिया मजदुरले आन्दोलनका कार्यक्रम घोषण गरेसँगै झापाका प्रायः सबै चिया उद्योग बन्द भए र चियाको पहिलो टिपाइ बगानमै हुर्कियो । तर, यो कारखानामा ल्याउने किसानले लगाएको चिया नत बिग्रियो नै, नत टिप्न नपाएर छिपियो नै । यो चिया टिप्नेदेखि कारखानामा काम गर्ने चिया मजदुर सबै सन्तुष्ट छन् । ७ करोड लगानीमा २०७१ सालमा स्थापना भएको यो चिया कारखानाले हालसम्म कुनै पनि बन्द हड्ताल भोग्नुपरेको छैन । ३ करोड १० लाख रूपैयाँ सरकारी अनुदान र बाँकी सहकारी माध्यमबाट सञ्चालित उक्त उद्योगमा काम गर्ने सबै मजदुर सहकारीका सेयर सदस्य हुन् ।
मजदुरहरू उद्योगमा काम गर्छन्, चिया टिप्छन् र आफँै रोप्छन् पनि । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले उनीहरूलाई छुँदैन । उद्योगले श्रमिकलाई मार नपर्ने गरी मूल्य निर्धारण गर्ने र त्यहीअनुसार पैसा लिने गरेकोे उद्योगमा कार्यरत मजदुर नविन भट्टराईले बताए । “हामी आफै काम गछौँ, चिया टिप्नेदेखि ग्रेडिङसम्मको काम भएकै छन्, उद्योगभित्र काम गर्ने दक्ष जनशक्तिलाई मासिक पारिश्रमिक दिइएको छ, आठ घण्टा काम गर्नेले पनि मासिक पारिश्रमिक पाउँछन्, कुनै विवादनै छैन,” भट्टराईले भने ।
उद्योग फाइदामा गए पारिश्रमिक बढाउने सहमतिमा काम गर्दै आएको मजदुरहरू बताउँछन् । उद्योगमा कार्यरत मजदुरले काम गर्ने र पुगेजति पारिश्रमिक दिने÷लिने सर्तमा काम गरेको बगानमा कार्यरत सुशीला पौडेलले बताइन् । “३० किलो चिया टिपे २८० रूपैयाँसम्म पाउँछौं,” पौडेलले भनिन्, “त्यसभन्दा बढी टिपेको प्रतिकिलो २५० पैसाका दरले दिन्छन् ।” विहानको समयमा चिया टिप्ने र दिउँसो अर्को काम पनि गर्ने गरेको मजदुर बताउँछन् ।


उद्योगमा स्थाानीय २१२ घरका किसानले आफूले उत्पादन गरेको चिया टिपेर ल्याउँछन् । प्रतिघर १ विगाहदेखि १० विगाहसम्म चिया लगाएका छन् उनीहरूले ।

३ करोड १० लाख रूपैयाँ सरकारी अनुदान र बाँकी सहकारी माध्यमबाट सञ्चालित उक्त उद्योगमा काम गर्ने सबै मजदुर सहकारीका सेयर सदस्य हुन् ।

 


चिया टिप्न सबै घरका सदस्य आलोपाले गर्छन् । उनीहरूलाई नत मजदुर समस्या छ नत चिया उद्योगले किन्दैन भन्ने चिन्ता नै छ । उद्योगले ११२ घरका सबैलाई मजदुरको रूपमा काम दिने पनि गरेको छ । उत्पादित सबै चिया सहकारी चिया प्रशोधन कारखानाले लिने भएकाले चियाको मूल्य पनि राम्रो पाएको किसानको भनाइ छ । कारखानाले प्रतिकिलो १८ देखि २५ रूपैयाँसम्ममा चियाको मुना खरिद गर्दै आएको छ । उद्योगको क्षमता एक पटकमा ६ लाख किलो चिया प्रशोधन गर्ने भए पनि हाल ४ लाख किलो चिया प्रशोधन गर्दै आएको उद्योगका लेखा अधिकृत चुणामणी खतिवडा बताउँछन् । किसानले लगाएको चिया खेर नजाओस् भन्ने उद्देश्यले स्थापना भएको सो उद्योगले उत्पादन गरेको तयारी चिया नेपाली बजारसहित विभिन्न देशमा बिक्री हुँदै आएको छ ।
बजारमा आफूले उत्पादन गरेको चियाको माग पनि बढ्दै गएको खतिवडा सुनाउँछन् । उनले भने, “पछिल्लो समय चिया मजदुरको आन्दोलनका कारण बजारमा निस्किएका तयारी चिया सकिँदै गएको छ, त्यसले हाम्रो चियाको माग बढाएको छ ।” किसानले लगाएको चिया खरिद गर्ने भद्रपुरमा रहेको सहकारी चिया कारखाना जस्ता झापामा चारवटा अत्य कारखाना पनि रहेका छन् । ती कारखानामा मजदुर र चिया प्राविधिक अहिले पनि दैनिक काम गरिरहेका छन् ।
साना किसान चिया उत्पादक सहकारी हल्दिबारीद्वारा सञ्चालित चिया उद्योगका अध्यक्ष हर्कराज तामाङ जिल्लामा ३ हजार हेक्टरमा चिया खेती गर्दै आएका साना किसानका साना सबै बगान र उद्योग निर्वाधरूपमा चलिरहेको बताउँछन् । साना किसानले ट्रेड युनियनसँग श्रम ऐनअनुसार ज्याला र सेवा, सुविधा दिने लिखित सहमति गरी बगान र कारखाना सञ्चालन गरिरहेका छन् ।