कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
185

नेपाल र भियतनामबीच द्विपक्षीय व्यापार साझेदारी, कूटनीतिक र विशेष राहदानीवाहकलाई भिसा उन्मुक्तिसहितका विषयमा समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भ्रमणका क्रममा सहमति भएको हो ।
दुई देशबीच व्यापार तथा लगानी साझेदारीसम्बन्धी फ्रेमवर्क सहमतिपत्रमा हस्ताक्षर गर्न छलफललाई अगाडि बढाउन लेटर अफ इन्टेन्ट (आसयपत्र) मासमेत हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीले भियतनामले दुई देशबीचको बहुआयामिक सम्बन्ध विस्तार गर्नका लागि योगदान पुरयाउने विश्वास व्यक्त गरेका छन् ।


दुवै देशका प्रधानमन्त्रीले जारी गरेको संयुक्त वक्तव्यमा दुई नेताबीच द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा दुई देशका अधिकारीहरू एक भएर अगाडि बढ्न सहमत भएको उल्लेख छ । प्रधानमन्त्री ओलीले भियतनामले दुई देशबीचको बहुआयामिक सम्बन्ध विस्तार गर्नका लागि योगदान पुरयाउने विश्वास व्यक्त गरेका छन् ।
सन् २०२० मा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ४५ औँ वर्षगाँठ मनाउने विषयमा समेत दुवै पक्ष सहमत भएका छन् । प्रधानमन्त्री ओलीको भ्रमण दुई देशबीचको सम्बन्धमा कोसेढुंगा भएको र यसले दुवै देशको सम्बन्धलाई पर्यटन, व्यापार, लगानी र जनसम्बन्धका क्षेत्रमा नयाँ आयाम थपेको वक्तव्यमा उल्लेख छ ।
दुवै नेताहरूले द्विपक्षीय आर्थिक तथा व्यापार साझेदारी आफ्नो क्षमताभन्दा कम भएको धारणा राख्दै यसलाई बढाउँदै लैजाने बताएका छन् । साथै आर्थिक तथा व्यापारिक साझेदारीलाई बढाउनका लागि दुवै देशले प्रोत्साहन गर्दै अगाडि बढ्न सहमति भएको छ ।
विद्युतीय सामग्री, कपी, चिया, सीफूड, टेक्सटाइल, छालाका जुत्ता आयात–निर्यातको सम्भावनालाई अध्ययन गर्न तथा उर्जा, नवीकरणीय उर्जा, उच्च प्रविधिको कृषि तथा पर्यटनलगायतका क्षेत्रलाई साझेदारीको नयाँ क्षेत्रको रूपमा विकास गर्दै लैजान सहमति भएको छ ।
दुवै नेताहरू कृषि उत्पादनलाई एक अर्काको बजारमा प्रवेश गराउन प्रस्ताव तयार गर्न सहमत भएका छन् । यस क्षेत्रमा सूचनाको साझेदारी कृषि विज्ञान, प्राविधिक अनुसन्धान तथा कृषि विज्ञताको आदान–प्रदानमा समेत दुवै नेता सहमत भएको वक्तव्यमा उल्लेख छ ।
नेपालको अल्पविकसित देशहरूको सूचीबाट निर्धारित समयअगावै माथि उठ्ने लक्ष्य लिएको र त्यसलाई पूरा गर्न भियतनाम सरकारले नेपाली उत्पादनलाई आफ्नो बजारमा स्वागत गर्ने भियतनामी पक्षले जनाएको छ । साथै भियतनामले आफ्ना लगानीकर्ता र व्यवसायीहरूलाई नेपालको उत्पादन क्षेत्रमा लगानी गर्न प्रोत्सहान गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यस्तै दुवै पक्ष सांस्कृतिक, पर्यटन तथा जनसम्पर्क साझेदारीलाई बढाउन सहमत भएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भियतनामले नेपाल तथा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा धेरैभन्दा धेरै पर्यटक पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
“२०२० को हवाइ उड्ययनसम्बन्धी एमओयुको समीक्षा गर्दै दुवै पक्ष दुई देशबीच सीधा हवाइ सम्पर्क कायम गर्नुपर्ने आवश्यकतालाई औंल्याउँदै व्यापार, लगानी, पर्यटन तथा जनसम्पर्कलाई प्रवद्र्धन गर्न छिट्टै हवाई सेवासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ,” वक्तव्यमा भनिएको छ ।