कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
313

सुदूरपश्चिम प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मसिनो तथा बास्नादार धान खेती विस्तार गरेको छ । अत्यधिक माग रहेको मसिनो तथा बास्नादार धानको आयातलाई प्रतिस्थापना गर्ने लक्ष्यका साथ मन्त्रालयले तीन सय हेक्टरमा सो धान खेती विस्तार गरेको हो । १ करोड ८ लाख रूपैयाँको लगानीमा मन्त्रालयले मसिनो तथा बास्नादार धान खेती गर्ने किसानलाई बीऊ, मल र कृषि औजारमा अनुदान दिँदै छ । मन्त्रालयले किसानलाई बीउमा ७५, हर्रो मल (ढैँचा), जिंक सल्फेट र मोनो हाइड्रेटमा शतप्रतिशत तथा आकस्मिक वाली संरक्षण र स्प्रे ट्यांकीमा समेत अनुदान दिइरहेको छ ।

मसिनो तथा बास्नादार धान खेती विस्तार कार्यक्रमका लागि आवेदन दिने मिति सकिएको भए पनि मन्त्रालयले संकलन कार्य जारी राखेको जनाएको छ ।


मन्त्रालयले मसिनो तथा बास्नादार खेती गर्न चाहने किसानका समूह, सहकारी, संस्था र व्यक्तिको प्रस्तावसमेत संकलन गरेको छ । मसिनो तथा वास्नादार धानखेतीका लागि आवेदन आह्वान गर्दा लक्ष्यभन्दा बढी आवेदन परेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका बरिष्ठ बागवानी विकास अधिकृत यज्ञराज जोशीले कैलालीका विभिन्न स्थानबाट ४ सय २ बिघामा धानखेती गर्नका लागि आवेदन परेको छ । उनले कञ्चनपुरस्थित कृषि ज्ञान केन्द्रमा समेत एक सय बिघाभन्दा बढी जग्गामा मसिनो तथा वास्नादार धानका लागि आवेदन परेको बताए ।
मन्त्रालयले कैलालीमा एक सय, कञ्चनपुरमा एक सय, डोटीको जोरायल गाउँपालिकामा ४०, बझाङमा २०, बैतडीमा २० र अछाममा २० हेक्टर जमिनमा मसिनो तथा बास्नादार धानखेती विस्तार गर्ने लक्ष्य लिए पनि पहाडी जिल्लाका कृषि ज्ञान केन्द्रले सोका लागि अझै सूचना जारी गरेका छैनन् । मन्त्रालयले डोटीमा जोरायली बासमती, बझाङ, अछाम र बैतडीमा खुमलटार जातको धान उत्पादन गर्ने लक्ष्य राखेको छ । मन्त्रालयले कैलाली र कञ्चनपुरमा साम्बा मन्सुली, सबयग धान, सुगन्धित धान, सुख्खा–३ र ६ धान उत्पादन गर्ने लक्ष्य राखेको छ ।
मन्त्रालयमा सबैभन्दा बढी सहकारी संस्था र कृषक समूहबाट आवेदन परेको छ । व्यक्तिको हकमा कम्तिमा एक बिघा जमिनको प्रस्ताव हुनुपर्ने भएकाले आवेदन कम परेको हुन सक्ने मन्त्रालयले जनाएको छ । साम्बा मन्सुली, सबयग धान, सुगन्धित धान, सर्जु बाहुन, राम धान, सावित्री धानका लागि आवेदन परेको छ । योसँगै हाइब्रिड धानका लागि पनि आवेदन परेको जनाइएको छ । तर, मन्त्रालयले हाइब्रिड धानको बीउ उपलब्ध नगराउने जनाएको छ । “किसानले रोजेको बीऊ हामीले उपलब्ध गराउन नसके विकल्प रोज्न आग्रह गर्छौं,” अधिकृत जोशीले भने ।
मसिनो तथा बास्नादार धान खेती विस्तार कार्यक्रमका लागि आवेदन दिने मिति सकिएको भए पनि मन्त्रालयले संकलन कार्य जारी राखेको जनाएको छ । मन्त्रालयका वरिष्ठ बागवानी विकास अधिकृत जोशीले भने, “१५ गतेसम्म आवेदनको माग गरिए पनि हामीले किसान, सहकारी संस्था तथा कृषक समुहहरूबाट आवेदन लिने क्रम जारी राखेका छौं ।”
मन्त्रालयले धानको बीउ आपूर्तिकतालाई सूचीकृत हुन आउने बारेको सूचना पनि जारी गरेको थियो । मन्त्रालयमा राष्ट्रिय बीउ विजन कम्पनी, युनिक र वनदेवी सहकारी संस्था सूचीकृत भएका छन् । “हामीले सरकारी कम्पनीलाई प्राथमिकता दिन्छौं । त्यहाँबाट पुगेन भने नीजि कम्पनीलाई पनि समावेश गराउने छौं,” अधिकृत जोशीले भने, “मोटो धान र मसिनो धानको मूल्यमा खासै अन्तर नहुँदा र मसिनो धानभन्दा मोटो धान छोटो अवधिमा उत्पादन हुने तथा बजनदार हुने भएकाले कृषकहरूले प्रायः मोटो धान खेतीमा बढी ध्यान दिने गरेका छन् ।”
“४० वर्षअघि भारतमा चामल निर्यात गर्ने हामी नेपाली पछिल्ला दशकमा भारतबाटै वार्षिक ठूलो परिमाणमा चामल आयात गर्न बाध्य भएका छौं,” अधिकृत जोशीले भने, “चामलमा आत्मनिर्भर बनाउन सबैको सहयोग आवश्यक छ ।”
मन्त्रालयले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर तथा पहाडका चार जिल्लामा मसिनो तथा बास्नादार खेती विस्तार गर्ने जनाएको छ । मन्त्रालयले यसका लागि कृषि ज्ञान केन्द्रमा बजेट पठाइसकेको छ । अधिकृत जोशीले मोटो चामलभन्दा मसिनो चामलको उत्पादन राम्रो हुने  बताए ।