कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
341

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६-७७ को बजेट सबै नेपालीको अनुहार उज्यालो हुनेगरी आउने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेट सिद्धान्त र प्राथमिकताबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले क्षेत्रगत प्राथमिकता खोज्दा सरकारको उद्देश्य पूरा नहुने बताएका छन् । उनले सबै नेपालीको अनुहार उज्यालो हुने गरी बजेट विनियोजन गर्नुपर्ने भएकाले यो बजेट क्षेत्रगत प्राथमिकतामा नअल्झिन सांसदहरूलाई आग्रह गरे ।
मन्त्री खतिवडाले सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनेगरी कार्यक्रमका लागि बजेट विनियोजन गरिने पनि बताए । सबै नेपालीलाई बिमा, भत्ता या अन्य कुनै माध्यमबाट सामाजिक सुरक्षाको ग्यारेन्टी हुनेगरी बजेट प्रस्तुत गरिने मन्त्री खतिवडाको भनाइ थियो । मन्त्री खतिवडाले चालू वर्षमा कानुन निर्माण गर्न समय लागेका कारण विकासको काम हुन नसकेको दावी पनि गरे । उनले कानुन निर्माणका कार्यमा फागुनसम्म व्यस्त भएका कारण यो वर्ष छुट पाइए पनि आगामी वर्षदेखि ढिलासुस्ती गर्न कसैलाई छुट नहुने बताए ।

मन्त्री खतिवडाले संघीयता कार्यान्वयन गर्ने तथा स्रोतको बाँडफाँडको विषयमा आवश्यक कानुनहरू बनेकाले यसले विस्तारै पूर्णता पाउने बताएका छन् । संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य र परिपूरक भूमीकाअनुसार नै आर्थिक र राज्य प्रणाली सञ्चालन हुने तथा आयोजना कार्यान्वयनका सम्बन्धमा निश्चित मापदण्ड बनाएर अघि बढ्ने भएकाले दुविधामा नपर्न आग्रह गरे ।
नेपालले विगत तीन वर्षसम्म उच्चदरको आर्थिक वृद्धि हासिल गर्नुले अर्थतन्त्र मजुवुत बन्दै गएको प्रमाणित गरेको उनले बताए । औद्योगिक वस्तुको आयातले व्यापारघाटा उच्च भएको र जसको चाप भुक्तानी सन्तुलनमा परेको भए पनि विदेशी मुद्रा सञ्चितिमा मुलुक सुविधाजनक अवस्थामा रहेको उनको भनाइ छ । उनले दिगो सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धि तथा गरिब र असमानताको अन्त्य तथा सन् २०३० भन्दा अगावै दिगो विकासको लक्ष्य हासिल गरिने भन्दै विनियोजन विधेयकको सिद्दान्त तथा प्राथमिकता प्रस्तुत गरेका थिए । तर सांसदहरूले भने अर्थमन्त्रीले प्रस्तुत गरेको नीति र सिद्धान्तप्रति चर्को असन्तुष्टि जनाए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्रीले विनियोजन विधेयक अर्धनिन्द्रमा बनाएको भन्दै क्रमभंगता गर्न नसक्ने र पुरानै ढर्राको भएको बताएका थिए । उनले ‘क्रिटिकल आधुनिकीकरण’सम्बन्धी विकासको अवधारणाअनुसार प्रकृति तथा वातावरणको विनास नहुने ढंगले पुँजी श्रम र प्रविधिको उच्चतम उपयोग गरी अधिकतम उत्पादन गर्दै तीव्र आर्थिक वृद्धि हासिल गर्नुपर्ने बताएका थिए ।
मंगलबार सांसदहरूको बोल्नेक्रम सकिएसँगै अर्थमन्त्री खतिवडाले डा. भट्टराईलाई कटाक्ष गर्दै नेपालको संविधानले नै नेपालको आर्थिक मोडेल स्पष्ट गरिसकेकाले कुन मुलुकले के गरे, कस्तो मोडेल अपनाए भन्ने कुरामा अलममिनु आवश्यक नरहेको वताए । उनले नेपाललाई वातावरणवादीको मोडेल वा एडम स्मिथको मोडल वा नवउदारवादको मोडल कसैको पनि मोडल आवश्यक नभएको जिकिर गर्दै नेपालको संविधान र त्यसमा उल्लेखित राज्यको निर्देशक सिद्धान्तले निर्देशित गरेको मोडेल आवश्यक रहेको बताए । गगन थापालगायतका अन्य सांसदले उठाएको बजेट खर्चको विषयमा अर्थमन्त्री खतिवडाले यो वर्ष कानुन निर्माणको वर्ष भएको तथा आगामी आर्थिक वर्षमा बजेट खर्चले तिव्रता पाउने वताएका थिए ।
यता, सांसद प्रदीप गिरीले भने नेपाली कांग्रेसले विगतमा अर्थमन्त्रीको छनोट गलत गरेको बताए । उनले जर्मन र अमेरिकामा पढेका अर्थमन्त्री बनेपनि धान र गहुँबीच फरक छुट्याउन नसक्ने व्यक्तिहरू अर्थमन्त्री भएकाले नेपालको अवस्था यस्तो भएको बताए । उनले अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपाल सुहाउँदो आर्थिक मोडेल ल्याउन आग्रह गर्दै नेपालले त्यसो गर्नसके तेस्रो मुलुकमा नेपाल उदाहरणीय राष्ट्र हुने बताए ।