कारोबार संवाददाता
बुधवार, जेठ १, २०७६
171

विराटनगर महानगरपालिका लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ । वैशाख मसान्तसम्म ५६ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको महानगरपालिकाले आधा मात्र राजस्व संकलन गरेको छ । महानगरले चालू आवको १० महिनामा २६ करोड ३ लाख ८५ हजार मात्र संकलन गरेको हो ।
महानगरपालिकाले सबैभन्दा बढी १ करोड ४७ लाख सिफारिस दस्तुरबाट राजस्व उठाएको छ । यस्तै सवारी साधन करबाट ७० लाख, सरकारी सम्पति बहालबाट ३५ लाख, सम्पति कर ६ करोड ६३ लाख राजस्व उठाउन सफल भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताए । यस्तै जनप्रतिनिधिहरू आएपछि आर्थिक वर्ष २०७५÷७६ देखि वडा वडालाई नै राजस्व उठाउन महानगरपालिकाले अधिकार प्रत्यायोजन गरेको थियो ।

जसमा सबैभन्दा बढी वडा नम्बर ९ राजस्व उठाउन सफल भएको छ । वडा नम्बर ९ ले २ करोड ३८ लाख राजस्व उठाएको छ । यसैगरी वडा नम्बर ३ ले २ करोड ७ लाख , वडा नम्बर ७ ले १ करोड ८७ लाख, वडा नम्बर ४ ले १ करोड ८३ लाख, २ ले १ करोड ५० लाख, १० ले १ करोड ३५ लाख, ११ को १ करोड १९ लाख, वडा नम्बर ५ ले १ करोड १८ लाख, ६ ले १ करोड ११ लाख राजस्व उठाएको महानगरले जनाएको छ ।
यस्तै १२ ले ८९ लाख, वडा नम्बर १ ले ८२ लाख, ८ ले ७५ लाख, वडा नम्बर १३ ले ४३ लाख, १४ ले ५३ लाख, १५ ले ३६ लाख, १६ ले २२ लाख, १७ ले १० लाख, १८ ले ९ लाख, १९ ले ३९ लाख राजस्व उठाएको हो । यद्यपी प्रमुख प्रशासकीय अधिकारीले गएका वर्षहरूमा आर्थिक वर्षको अन्त्यतर्फ राजस्व बढी उठेको देखिएकोे भन्दै यस वर्ष पनि राजस्वको लक्ष्य हासिल हुने दाबी गरे । उनले विराटनगरको विकास र समृद्धिमा विराटनगरबासीको भूमिका अपरिहार्य रहेको भन्दै सबैलाई कर तिर्न अपिल पनि गरे ।
वडाध्यक्षहरूले भने विराटनगर महानगरपालिको वडा वडालाई अधिकार दिए पनि जनशक्तिको अभावले सोचे जति राजस्व उठाउन नसकेको गुनासो गरेका छन् ।