कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
272

काभ्रेमा व्यावसायिकरूपमा गरिँदै आएको कफी खेतीमा सेतो गवारोको प्रकोपले बोट मर्न थालेपछि किसान चिन्तित भएका छन् । सेतो गवारोको प्रकोप बढेपछि सयौंको संख्यामा कफी बोट फाँडिएको कृषकहरूले बताएका छन् ।
“सात सय बोट कफीबाट वार्षिक ८० हजार रूपैयाँसम्म आम्दानी भए पनि अहिले ८० बोट मात्र बाँकी छन् । भएकामा पनि किराको प्रकोप हटेको छैन, अब वर्ष दिनमा त १ बोट पनि बाँकी रहँदैन होला,” खानीखोला गाउँपालिका–७ मिल्चेका कृषक नेत्रबहादुर घिसिङले भने, “विदेशी बजारको मागअनुसार अग्र्यानिक खेती गरिएको हुँदा रासायनिक विषादी निषेध नै छ । जैविक विषादीले मात्र पनि नियन्त्रण भएन, बर्षैपिच्छे दुई सयभन्दा बढी बोट कफी गवारो कै कारण काट्न परेको छ ।”

डाँडापारीका च्यम्राडावेशी, मिल्चे, साल्धारा तथा कोशीपारी र देउपुर क्षेत्रबाट वार्षिक ३० टन पार्चमेन्ट कफी विभिन्न कम्पनीमार्फत विदेश निर्यात गरिँदै आएको जिल्ला कफी सहकारी संघका अध्यक्ष होमराज गिरीले बताए । निर्यातित कफीबाट लाखौं रूपैयाँ आर्जन गर्दै आएका कृषकले रोगकिराकै कारण आगामी वर्षको उत्पादन घट्ने बताएका छन् । जिल्लाको डाँडापारी, कोशीपारी र देउपुर क्षेत्र मध्ये डाँडापारिका कृषकको कफी बगैंचामा सेतो गबारोको प्रकोप बढी देखिएको प्राविधिकहरूको भनाइ छ । यस भेगमा ११ वटा कफी समूहमा आबद्ध भएर झन्डै ५ सय कृषकले कफी खेती गर्दै आएको जिल्ला कफी व्यवसायी संघको तथ्यांक छ । १० वर्ष अघिदेखि देखा परेको रोगकिरा बृहत रूपमा फैलिएपछि कृषकको कफी बगैंचा नै नस्ट गर्न थालेको हो । चिस्यान र सिँचाइको व्यवस्था भएको ठाउँमा भने गबारोको प्रकोप कम देखिएको कृषकहरूको भनाइ छ । सुरुमा पात ओइल्याउने फल तथा बोट सुक्दै मर्ने गरेको लक्षण देखिने गरेको कृषकहरू बताउँछन् । पाँच वर्षभित्रमा यस क्षेत्रमा चार हजारभन्दा बढी बोट कफी काटिएको कृषकहरूको भनाइ छ ।
कफी प्रवद्र्धन कार्यक्रमको सहयोगमा जिल्ला कफी व्यवसायी संघले छ वर्ष अघिसम्म कफी खेतीसम्बन्धी विभिन्न तालिम दिने गरेको भए पनि उक्त तालिममा सेतो गवारो नियन्त्रणसम्बन्धी तालिम नपाएको कृषकहरूको गुनासो छ । व्यवसायी संघको सहयोगमै कफी रोपिएको भए पनि अहिले व्यवसायी संघले पनि तालिम दिन छाडेको छ । कफी बोटलाई पर्याप्त छहारी र चिस्यान चाहिने हँुदा त्यसकै अभावमा किरा लागेको हो । किरा लागिसकेको बोट लक्षण देखिना साथ नष्ट गर्नुुपर्नेमा कृषकहरूले फलको आशामा किरा हुर्कने समयसम्म बोट नष्ट नगर्दा पनि बगैंचा नष्ट हुन पुगेको कफी व्यवसायीहरूको भनाइ छ ।
रोग नियन्त्रणमा कुनै सहयोग नपाएको कृषकहरूले बताए । थोरै जग्गाबाट राम्रो उत्पादन भएपछि मूल बारी नै मासेर अग्र्यानिक कफी लगाई विदेशी मुद्रा आर्जन गर्दै आएका कृषकहरू कफी खतीमा किराको प्रकोपका कारण बगैंचा नै सखाप भएपछि कफी खेतीबाटै विस्थापित हुने अवस्थामा पुगेका छन् ।
मिल्चेमा कुनै समय एक घर एक कफी अभियान नै सुरु भएको थियो । तर विस्तारै कफीका बोट मर्न थालेपछि किसानहरू पुरानै पेशामा फर्किन थालेको स्थानीय चक्रबहादुर गोलेले बताए । “मैले पनि बारी भरी नै कफी रोपेको थिएँ, वार्षिक तीन÷चार लाख रूपैयाँ कमाई पनि हुन्यो तर अहिले रोग कै कारण विरुवा पनि मर्न थालेपछि कफीको सट्टामा मकै, कोदो नै लगाउने थालेको छु,” उनले भने । उनी मात्र होइन अहिले मिल्चेका अधिकांशले कफी खेती गर्न छाडेका छन् । स्थानीय सरकारले पनि त्यति चासो नदिँदा कृषकहरू यस पेशाबाटै विस्थापित हुने खतरा बढ्दै गएको छ । यसलाई गाउँपालिकाले प्राथमिकता दिएमा वैदेशिक रोजगारी जाने पनि घट्ने र गाउँ मै युवा वस्ने वातावारण बन्ने स्थानीय कृषकहरूको भनाइ छ ।
कपिल कोइराला