कारोबार संवाददाता
मंगलबार, बैशाख ३१, २०७६
274

मुगुमा रहेको एक मात्र कुखुरा फर्ममा पालिएका कुखुरा अज्ञात रोगले धमाधम मर्न थालेका छन् । छायानाथ रारा नगरपालिकाको रत्न ह्याचरी फर्मका कुखुरा अज्ञात रोगले मर्न थालेका हुन् ।
यो फर्म विगत तीन वर्षदेखि कर्णालीमै चर्चित रहँदै आएको थियो । फर्ममा न्यू हेमसार, अष्टलक, गिरीराज, साकिना र स्थानीय लोकल जातका गरी ५ सयभन्दा बढी कुखुरा र चल्ला थिए । तर पछिल्लो एक हप्तायता १ सय ७० वटा कुखुरा मरिसकेका छन् । अन्य केही कुखुरासमेत झोक्र्याएका छन् ।

फर्ममा पालिएका कुखुराले ¥याल निकाल्ने, कराउने, खुट्टा बेटार्ने र छेर्ने गरेका छन् । जिल्लामा पशु ज्ञान केन्द्र छायानाथ पशु शाखामा कुनै पनि औषधि नहुँदा उपचारमा समेत समस्या भएको छ । अज्ञात रोगका कारण धमाधम कुखुरा मर्न थालेपछि ५ लाख रूपैयाँसम्म घाटा हुने देखिएको रत्न ह्याचरीका प्रोपाइटर रत्नसिंह मल्लले बताए ।
पशु ज्ञान केन्द्र सम्पर्क कार्यालय मुगुका पशु चिकित्सक भीमचन्द्र बुढाले मरेका कुखुरा हेर्दा सीआरडी रोग लागेको हुनसक्ने बताए ।