किरण आचार्य
मंगलबार, बैशाख ३१, २०७६
618

भारतमा जारी लोकसभाको चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ । विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनावका लागि नेपाल–भारतबीतको नाका बन्द हुँदा तरकारी आयात रोकिएकाले तरकारीको मूल्य शतप्रतिशतदेखि १५८ प्रतिशतसम्मले बढेको हो । भारतीय बजारबाट ल्याइने स्याउलगायतका फलफूलको मूल्यसमेत आकासिएको छ ।
कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको आइतबारको मूल्यसूचीअनुसार भान्साको अनिवार्य उपज गोलभेडा (ठूलो) को थोक मूल्य नै प्रतिकिलो ९५ देखि १०० रुपैयाँँसम्म छ भने सानो गोलभेडाको थोक मूल्य ८५ देखि ९० रुपैयाँँ प्रतिकिलोसम्म छ । ठूलो गोलभेडाको मूल्य गत वर्षको यही अवधिको तुलनामा १५८ बढी हो भने सानो गोलभेडाको मूल्य २८२ प्रतिशत महँगो हो । गत वर्ष यही अवधिमा ठूलो गोलभेडा ३८ रुपैयाँँ र सानो गोलभेडा २३ रुपैयाँ किलो थियो ।

भारतका ३६ वटा राज्यमा अप्रिल ११ तारिकदेखि मेको १९ सम्म सात चरणमा चुनाव भइरहेको छ । “यो सिजनमा नेपालमा तरकारीको उत्पादन कम हुने समय हो, भारतीय तरकारीमा अलिक बढी निर्भर हुने समय भएकाले पनि आवागमन बन्द हुँदा मूल्य बढेको छ,” नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरे भन्छन्, “चैत वैशाखमै परेको पानीले नेपालका तरकारी उत्पदनमा असर परेकाले पनि तरकारीको मूल्य बढेको हो ।” उनले गत वर्षको यही अवधिको तुलनामा शतप्रतिशतसम्म तरकारीको मूल्य बढेको बताए ।
उपत्यकाको तरकारी बजारको करिब ५० प्रतिशत रहेको मुलुककै ठूलो बजार कालीमाटीमा हाल दैनिक ६ सयदेखि ६ सय ५० टन तरकारी भित्रिरहेको छ । समितिका अनुसार हरियो तरकारीमा बोडीको मूल्य गत वर्षको तुलनामा १०७ प्रतिशतले बढेर प्रतिकिलो थोकमूल्य नै ६२ रुपैयाँ किलो पुगेको छ । फर्सी, लौका, परबल, चिचिण्डो, घिउसिमी, ब्रोकाउली, अदुवा, भेडे खुर्सानी, हरियो लसुन, हरियो धनियाँलगायत तरकारी महँगिएका छन् । खुद्रा मूल्यमा मनोमानी भएकाले धेरैजसो तरकारी प्रतिकिलो एक सयभन्दा बढीमा खरिद गर्नुपरेको गुनासो उपभोक्ताहरुको छ ।
चुनावको क्रममा २४ घण्टा सीमा नाका बन्द हुने अन्तर्राष्ट्रिय अभ्यास छ । नेपालको सीमासँग जोडिएका तीन प्रान्त पश्चिम बंगाल, उत्तर प्रदेश र बिहारका निर्वाचन क्षेत्रहरुमा सातै चरण चुनाव भइरहेको छ । ११, १८, २३, २९ अप्रिल तथा ६, १२ र १९ मेमा चुनावी कार्यतालिका छ । नाका खुल्दै, बन्द हुने क्रम छ । नाका बन्दले तरकारीको आपूर्ति भने घटेको छैन । “नाका बन्द भए पनि घुमाउरो बाटो वा गोप्य बाटोबाट भए पनि तरकारी ल्याएर बेच्नुपर्ने बाध्यता छ,” कालीमाटीका एक व्यापारीले भने, “यसरी ल्याउँदा हामीले नै महँगोमा खरिद गरेका हुन्छौं, बिक्री पनि महँगोमा नै गर्नुपर्ने भएकाले उपभोक्तालाई बढी मार परको छ ।” उनले नाका खुल्ने र बन्द हुने तालिकाअनुसार तरकारी ल्याउदा बाटोमा रोकिने र कुहिएर जाँदा घाटामा जाने जोखिम हुने भएकाले पनि बढी पैसा खर्चेर घुमाउरो नाकाबाट तरकरी ल्याउनु परेको उनको भनाइ छ ।
रातो आलु, गाजर, पालुंगो, चमसुर, मेथीको साग, काँक्रोलगायत केही तरकारीजन्य वस्तुको मूल्य भने गत वर्षको यही अवधिको तुलनामा घटेको छ । भारतीय चुनाव सकिएसँगै आउदो सातादेखि तरकारीको मूल्य केही घट्ने तर गत वर्षकै अनुपातमा आउन भने करिब डेड महिना लाग्ने महासंघ अध्यक्ष घिमिरेले बताए । “अप्रत्यासित वर्षाले क्षति गरेका कारण नेपालभित्रको आपूर्तिसमेत घटेको छ, नयाँ उत्पादन बजारमा आउन समय लाग्ने भएकाले पुरानै अवस्थामा मूल्य आउन डेड दुई महिना लाग्ने देखिन्छ,” उनले भने । नेपालको मागअनुसार करिब ७० प्रतिशत तरकारी स्वदेशी उत्पादन र ३० प्रतिशत आयातमा निर्भर रहेको तथ्यांक छ । साना सहर भन्दा ठूला सहरमा आयातको बढी हिस्सा पुग्ने गरेको छ ।