मनिषा चम्लागाईँ
सोमवार, बैशाख २३, २०७६
1021

विगतका वर्षमा ‘काली बङला जहाजी’को पत्ता भारतबाट ल्याएर नेपालमा पान बिक्री गरिन्थ्यो । पान पारखीका लागि काली बङ्ला जहाजीको पत्ता लोकप्रिय भए पनि नेपालमा भने यसको उत्पादन हुने गरेको थिएन । यसलाई बङ्ला पत्ता पनि भन्ने गरिन्छ ।
नेपालमा उत्पादन नभए पनि बिक्रेताले भारतबाट ल्याएर नेपालमा बङ्ला पत्ता बिक्री गर्दै आएका थिए । तर, केही समय अघिदेखि नेपालमा नै पहिलो पटक झापामा बङ्लाको व्यावसायिक उत्पादन सुरु भएको छ । बङला पत्ताका लागि भारतसँग निर्भर हुनुपर्ने अवस्थाको अन्त्य भएको व्यवसायिको भनाइ छ ।

झापा अर्जुनधारा नगरपालिका–१० कालिस्थानका सुवास खरेलले काली बङ्ला जहाजी पत्ताको व्यावसायिक उत्पादन सुरु गरेका हुन् । खरेलले दुई वर्ष अघिदेखि भारतको कोलकाताबाट बिरुवा र प्राविधिक ल्याएर बङ्लाको उत्पादन सुरु गरेका हुन् । उत्पादनले बजारको मागलाई धान्न नसकिरहेको उनी सुनाउँछन् । बङ्ला पान खेती झापा जिल्लाका लागि मात्र होइन नेपालमै पहिलो र नमुना खेती भएको खरेलको भनाइ छ । नेपालमा खाइने विभिन्न स्वादको पानका पत्ता भारतबाट आयात हुन्छ । भारतको बजारमा निर्भर रहेको पत्ताको खरेलले नेपालमै उत्पादन गरेरे बिक्रीसमेत गरिसकेका छन् ।
व्यवस्थापन संकाय स्नातक चौंथो वर्ष अध्ययन गरेका खरेलले आर्थिक समृद्धिको संभावना देखेर पान खेती सुरुवात गरेको बताउँछन् उत्पादित पानको पात्त बिक्री गर्र्न बजारको कुनै समस्या नभएको बताउने खरेलले भने, “अन्य कृषि उत्पादनका लागि बजारको समस्या छ भन्ने सुनिन्छ, तर मलाई पान बेच्न न कसैलाई गुहार्नुपर्छ, नत हाट बजार धाउनु नै पर्छ ।” घरमै व्यापारी आएर पान लैजाने गरेको खरेल सुनाउँछन् । मैसमअनुसार पानको पात्त फरक–फरक मूल्यमा बिक्री गर्दै आएका छन् खरेलले । जाडो सिजनमा प्रतिपत्ता पाँच रुपैयाँ र गर्मी सिजनमा प्रतिपत्ता ३ रुपैयाँका दरले बेच्ने गरेको उनले सुनाए ।
बजारमा पानको माग हेर्दै खेती विस्तार गर्दै जाने योजना बनाएको सुनाउने खरेलले भारतबाट एघार सय बिरुवा ल्याएर खेती सुरु गरेको बताउँछन् । खेतीमा पाँच लाख रुपैयाँ लगानी भएको बताउँछन् । कृषि व्यवसाय गर्ने युवालाई सरकारले अनुदान दिने गरेको सुन्दै आए पनि आफूले कुनै पनि क्षेत्रबाट अनुदान नपाएको गुनासो गर्छन् । पानको बिरुवा ल्याउँदा भन्सारमा चर्काे शुल्क तिरेको अनुभव खरेलसँग छ । कोलकाताबाट बिरुवा ल्याउँदा प्रतिबिरुवा १५ रुपैयाँ परेको बताए । खरेलले एक वर्षमा १० हजार बिरुवा उत्पादन गर्न सफल भएका छन् ।
पानको बिरुवालाई तेल पेलेपछि निस्कने पिनाको प्रयोग गर्न सके बिरुवा राम्रो हुने खरेल सुनाउँछन् । आवश्यकताअनुसार सिँचाइसँगै भिटामिन आवश्यकत हुने उनले बताए । सुपारी, आँप, मेवालगायतका खेती गरिँदै आएको झापामा बङ्ला पत्ताको व्यवसाय विस्तार गर्न सके राम्रो आम्दानी गर्न सकिने उनी सुनाउँछन् ।
यस जातको पान खेतीका लागि बाँसको थाङ्क्रो लगाउनु पर्ने खरेलको भनाइ छ । खरेलले आफूले उत्पादन गरेको पानको पत्ताले बजारको माग धान्न नसकेकाले अन्य कृषकले पनि बङ्ला पानको खेती गर्न आग्रह गरेका छन् ।