हरिश चन्द
सोमवार, बैशाख २३, २०७६
583

सुदूर पहाडमा स्थानीय रैथाने जातका भैंसी लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिँदै गएपछि यहाँका स्थानीयले भैंसी पाल्न छोडेका हुन् । पहिले–पहिले एउटै घरमा ५÷६ वटा भैंसी पाल्ने गरे पनि अहिले एउटै पनि भैंसी पाल्न छाडेका छन् । भैंसीबाट सोचेअनुरूप उत्पादन लिन नसकिने र उत्पादन लिन पनि लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा हिजोआज भैंसी पाल्ने किसानको संख्या न्यून छ । उत्पादन दिन छाडेपछि किसानले सस्तो मूल्यमा मासुका लागि भैंसी बिक्री गर्ने गरेका छन् ।
भैंसीमा लाग्ने खरी, खोरेत र भ्यागुते रोगका कारण पनि किसान आकर्षित हुन नसकेका हुन् भने भैंसीको स्याहारसुसारका लागि बढी मेहनत गर्नुपर्ने र दूधको बजार पनि राम्रो नभएकाले भैंसीपालन व्यवसाय नै संकटमा परेको पशु प्राविधकहरू बताउँछन् । चरिचरनको अभाव, विभिन्न रोग तथा भैंसी पाल्नका लागि बढी मेहनेत गर्नुपर्ने भएका कारण भैंसीपालन व्यवसाय संकटमा परेको अजयमेरु गाउँपालिकाअन्तर्गत भुल्कुडाका स्थानीय राजबहादुर चन्दले बताए ।

उनले भने, “पहाडका सबै भैंसी भारतबाट आएका ठेकेदारले खरिद गरी तराईका केही जिल्लामा लगेर व्यापार गर्ने गरेको समेत जनाएको छ ।” डडेल्धुरामा मात्र भैंसी लोप नभएर सुदुरपश्चिमका पहाडी जिल्ला डोटी, बैतडी, दार्चुला बझाङ, अछामलगायतका जिल्लामा भैंसी लोप भइरहेका छन् ।
एकपटक ब्याएको भैंसी दोश्रो पटक नब्याएमा वा पाल्न नसक्नेले भैंसी बेच्ने गरेको स्थानीय बताउँछन् । सडक पहुँच भएको ठाउँमा प्रतिभैंसी २०÷३० हजार रुपैयाँ पर्ने गर्छ भने ग्रामीण भेगबाट १०÷१२ हजार रुपैयाँमा पनि ठेकेदारहरूले भैंसी किन्ने गरेका छन् । केही वर्ष पहिले १०÷१५ हजारमा पाइने भैंसी अहिले भने ५० हजारभन्दा बढी मूल्यमा खरिद बिक्री गर्ने गरेको समेत स्थानीयकोे भनाइ छ ।
मुख्यतः तराई क्षेत्रमा मासुका लागि राँगा भैंसी प्रयोग हुने गरेका कारणले पहाडी क्षेत्रमा रहेका जिल्लाहरूबाट पछिल्लो केही वर्षबाट भैंसी तराई निर्यात भइरहेका छन् । पछिल्लो समय मानिसहरूमा भैंसी पाल्ने सोचसमेत हटिसकेको छ ।
सरकारले पशु र पशुजन्य वस्तु उत्पादन वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याएको पशु बिमा कार्यक्रमबाट जिल्लाका भैंसीपालक किसानलाई भैंसी सुत्केरी भत्ता दिने कार्यक्रम ल्याइए पनि त्यो कार्यक्रम खासै प्रभावकारी हुन सकेको छैन । धेरै किसानलाई त भैंसी सुत्केरी भत्ता पाइन्छ भन्ने पनि जानकारी नभएकाले स्थानीय सरकारले यस विषयमा गाउँगाउँमा गएर जानकारी दिनसके भैंसी पालनमा किसानहरूलाई आकर्षित गर्ने सकिने स्थानीय बुढापाका बताउँछन् ।