कारोबार संवाददाता
सोमवार, बैशाख २३, २०७६
518

पूर्व अर्थमन्त्रीहरूले सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा धेरै विषय समेटिए पनि यसको कार्यान्वयन पक्षमा ध्यान नदिइएको टिप्पणी गरेका छन् । धेरै योजना तथा कार्यक्रमहरू ल्याइए पनि कार्यान्वयनका लागि बजेट व्यवस्थापनको सम्भावनालाई ध्यान नदिएको, ठोस आधारहरू नरहेको तथा वास्तविकताभन्दा पनि प्रचारबाजीमा जोड दिएको उनीहरूको भनाइ छ । उनीहरूले आगामी वर्षका लागि नीति तथा कार्यक्रम बनाइए पनि त्यसमा दीर्घकालीन खालका र सम्भाव्यता अध्ययनसमेत नभएका आयोजनालाई पनि समावेश गरेको भन्दै आलोचना गरे ।
पूर्वअर्थमन्त्री डा. रामशरण महतका अनुसार सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम ‘नीति तथा कार्यक्रम’जस्तो छैन । “वार्षिक नीति तथा कार्यक्रममा प्राथमिकताहरू केके हुन् ? आगामी वर्षको जोड के हो ? नयाँपन के छ ? त्यो हुनुपर्ने हो । तर, यो त निबन्ध लेखेको जस्तो छ,” उनले भने ।

महतले नीति तथा कार्यक्रमलाई परिष्कृत नै नगरिएको लामो निबन्धजस्तो रहेको संज्ञा दिए । “नीति तथा कार्यक्रम दुई घण्टा लामो हुँदैन,” उनले भने, “आत्मप्रशंसा धेरै छन्, भएका–नभएका, बढाईचढाई गरेका कुराहरू राखिएका छन् ।” । आगामी वर्षमा गरिने मुख्य मुख्य कामहरू के के हुन् भन्ने प्रष्ट छैन । आगामी वर्षको भन्दा पनि पाँच वर्षमा के गर्ने भन्ने कुरामा जोड दिइनु स्वाभाविक नभएको उनको भनाइ छ । कतिपय स्वप्न कुराहरू समेत रहेको र सपना देखाउने आकांक्षा र इच्छाहरूको संगालोजस्तो रहेको उनको भनाइ छ । आगामी वर्षमा गर्ने कामभन्दा सामान्य कुराहरू, नियमित कुराहरू धेरै व्याख्या गरिएको उनको टिप्पणी छ । “कतिपय त लामो अवधिका अर्थात १०÷२० वर्षमा पूरा गर्ने कुराहरू पनि छन्, धेरै प्रधानमन्त्री, राष्ट्रपति र मदन भण्डारीको नाममा कार्यक्रमहरू उल्लेख भएका छन्,” उनले भने, “पहिला यस्तो थिएन, बढी प्रचारात्मकखालको छ । काम कम हुने तर प्रचार बढी हुने खालका छन् ।”
यसैगरी, सत्तारुढ नेकपा (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रम धेरै विषय समेटेर आएको बताए । केही चालू र केही नयाँ कार्यक्रम रहेको पनि उनले बताए । कार्यक्रम र नीति दुवै बढाउन खोजिएको छ भन्दै उनले भने, “पूर्वाधार क्षेत्रमा पनि जोड दिएर यसमा पनि लगानी बढाउन खोजिएको छ ।” तर, कार्यन्वयनको पक्ष महत्वपूर्ण हुने भन्दै उनले कार्यान्वयन मुख्यतया आगामी बजेट विनियोजनमा निर्भर हुने बताए । बजेट आएपछि यसमा थप प्रतिकृया दिन सकिने उनले बताए ।
सामाजिक सुरक्षा कार्यक्रमलाई पनि विशेष महत्व दिइएको तथा कतिपय आयोजनाहरूलाई पुनरावलोकन गरी प्रभावकारी बनाउन गरी नीति तथा कार्यक्रम ल्याइएको एवं केही कानुनी सुधारको पनि कुरा गरिएको उनको भनाइ छ ।
यस्तै, कांग्रेस नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने नीति तथा कार्यक्रम सुन्दा आकर्षक रहेको तर कार्यान्वयनमा धेरै जटिलता भएको बताए । “यसका आधारहरू पनि छैनन्,” उनले भने, “वास्तविकता भन्दा पनि सस्तो प्रचारबाजी नीति तथा कार्यक्रममा देखिन्छ ।” कतिपय आयोजनाहरू त सम्भाव्यता अध्ययन नगरी नै राखिएका भन्दै उनले त्यस्ता आयोजनाहरू कसरी कार्यान्वयन गर्ने भन्ने ठोस आधार नभएको बताए । जनताले धेरै अपेक्षा गरेको सरकारबाट जनअपेक्षा अनुसार नीति तथा कार्यक्रम नआएको उनको भनाइ छ ।
यसैबीच, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन हुननसक्ने ‘बकम्फुसे र उडन्ते’ कुराको पोकाको संज्ञा दिएको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लाने ऐतिहासिक अवसर रहेपनि सरकारले दिशाहीन कार्यक्रम ल्याएको आरोप लगाएको छ ।