कारोबार संवाददाता
सोमवार, बैशाख २३, २०७६
703

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले उच्च आर्थिक वृद्धि हासिल गरिरहँदा व्यापारघाटा र वाह्य क्षेत्र सन्तुलनमा चाप पर्नु स्वाभाविक भएको तर्क गरेका छन् । फिजीको नादीमा एसियाली विकास वैंकको ५२ औं बोर्ड्स अफ गभर्नरको वार्षिक बैठकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरूको तेह्रौ बैठकको अध्यक्षता गरेका उनले नेपालले इतिहासमै लगातार तेस्रो वर्षसम्ममा औषत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सफल भएको सुनाउँदै लगातार उच्च आर्थिक वृद्धि हासिल गरिरहँदा व्यापार घाटा र बाहय क्षेत्र सन्तुलनमा चाप पर्नु स्वभाविक भएको धारणा राखेका हुन् । आगामी दिनमा उच्च आर्थिक वृद्धि र वाह्य क्षेत्र सन्तुलनका बीचमा सामन्जस्यता कायम गर्न सरकारले ध्यान पु¥याउने पनि उनले बताए ।
दक्षिण एसियाको आर्थिक विकासमार्फत जनताको कल्याण र समृद्धिको लागि यस क्षेत्रको आर्थिक अन्तरनिर्भरता अत्यावश्यक भएको बताउँदै उनले बैठकमा सार्क विकास कोषको कार्यप्रगति तथा आगामी दिनहरूमा कोषको सञ्चालनमा प्रभावकारिता ल्याउनुपर्ने बताए ।

दक्षिण एसिया विश्व आर्थिक वृद्धिको केन्द्र भएको र विश्व अर्थतन्त्रमा यस क्षेत्रले लगातार राम्रो प्रभाव जमाउँदै आएको भएतापनि अन्तरदेशीय सडक सञ्जाल र अन्तर आवद्धता बढाउन नसक्दा अन्तरदेशीय व्यापारको हिस्सा तीन गुणाभन्दा बढी बढाउन सकिने सम्भावना भए पनि पाँच प्रतिशतभन्दा माथि पुग्न नसकेको धारणा राख्दै उनले दक्षिण एसियाको समग्र आर्थिक स्थायित्वको चर्चा गरे ।
बैठकमा सहभागी हुने सिलसिलाममा अर्थमन्त्री डा. खतिवडाले विभिन्न मुलुक तथा वित्तीय संस्थाका विशिष्ट पदाधिकारीहरूसँग भेटवार्ता गरी नेपालको पछिल्लो आर्थिक अवस्थाको बारेमा जानकारी गराउनुको साथै द्विपक्षीय तथा बहुपक्षीय सहयोगको बारेमा वार्ता गरेका थिए ।
बैठककै अवसरमा खतिवडा र एसियाली विकास बैंकका अध्यक्ष ताकेहिको नकाओकोबीच वार्ता भएको छ । उनले नेपालको वर्तमान सरकार उच्च आर्थिक वृद्धिदरको बाटोमा अघि बढेको मुद्रास्फिति नियन्त्रणमा रहेको, पुनर्निर्माणमा उल्लेख्य प्रगति भइरहेको तथा एडीबीको सहयोगका आयोजनाको प्रगति सन्तोषजनक रहेको तथा उच्च आर्थिक वृद्धिदर कायमै राख्न सार्वजनिक र निजी दुवै क्षेत्रमा थप लगानीका लागि स्रोत परिचालन गर्नु परेको सम्बन्धमा अध्यक्षलाई अवगत गराए । उनले नेपाल उच्च आर्थिक वृद्धिको पथमा गइरहेको आयात बढेको र व्यापार सन्तुलनमा चाप परेको भएपनि मुलुकको अर्थतन्त्र दिगो आर्थिक वृद्धि र स्थायित्वको बाटोमा अगाडी बढिरहेको पनि स्पष्ट पारे ।
अर्थमन्त्रीले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, स्वच्छ वातावरण, सामाजिक संरक्षणलगायत संविधानमा व्यवस्था भएका मौलिकहकहरूको कार्यान्वयन गर्न सरकारले उल्लेख्य लगानी बढाउनुपर्ने भन्दै बैंकलाई थप सहयोगको लागि आग्रह पनि गरे । नेपाल दुई वर्षभित्र अति कमविकसित राष्ट्रको अवस्थावाट स्तरोन्नति हुने सम्भावनाको सन्दर्भ उल्लेख गर्दै अर्थमन्त्री डा. खतिवडाले केही वर्ष त्यसको दिगोपना हेर्नु पर्ने भएकोले र त्यतिञ्जेलसम्म बैंकले हाल प्रदान गरिरहेको सहुलियतपूर्ण कर्जाको सुविधा प्रदान गरिरहनु पर्ने आवश्यकता भएको अवगत गराए ।
यसैगरी, एसियाली विकास बैंकका उपाध्यक्ष तथा अन्य उच्चपदस्थ अधिकारीहरूसंग भएको छुट्टाछुट्टै द्विपक्षीय बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको निजि क्षेत्रको विकासको लागि बैंकले खेलेको भूमिकाको लागि धन्यवाद दिँदै दीर्घकालीन लगानीको लागि स्रोत जुटाउन लामो समयदेखि छलफलमा थाती रहेको स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने विषयमा आवश्यकता अनुसार अघि बढ्ने बताए ।
बैठकको सिलसिलामा युरोपियन लगानी बैंक, अन्तर्राष्ट्रिय विकासका लागि ओपेक कोष (ओफिड) र संयुक्त राज्य अमेरिकाका डिपार्टमेन्ट अफ ट्रेजरीका उच्चपदस्थ अधिकारीहरूसंग भएको वेग्ला वेग्लै द्विपक्षीय वैठकहरूमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र आर्थिक अवस्था, लगानीको आवश्यकता, लगानीको लागि अनुकुल वातावरण निर्माण गर्न गरिएका सुधारहरूको बारेमा जानकारी गराएका थिए ।
नेपालमा उच्च आर्थिक वृद्धिलाई निरन्तरता दिन, पूर्वाधार विकास गर्न, संघीयताको सफल कार्यान्वयन गर्न, संविधानप्रदत्त मौलिक हकहरूको कार्यान्वयन गर्न, भूकम्पपछिको पुनर्निर्माण खास गरी आवास र सार्वजनिक भवनहरूको पुनर्निर्माणको कार्य सम्पन्न गर्न र दिगो विकासको लक्ष्य हासिल गर्न सरकारलाई ठूलो राशीको लगानी आवश्यक भएकोले विकास साझेदारहरूलाई नेपालमा थप सहायता प्रदान गर्न आह्वान पनि उनले गरे ।
अर्थमन्त्रीले नेपालमा लोकतान्त्रिक, स्थिर र विकासको स्पष्ट सोच भएको सरकार गठन भएकोले सहायताको पूर्ण सदुपयोग हुने विश्वास दिलाउँदै बैठक तथा द्विपक्षीय वार्ताको क्रममा नेपालको संंघीयता कार्यान्वयन, पूर्वाधार निर्माणलगायत समग्र विकासको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन आवश्यक पहल गर्नुका साथै नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको सन्देश विश्व समुदायका सहभागीहरूलाई जानकारी दिए । मुलुक संघीयता कार्यान्वयनमा सफलतापूर्वक अघि बढिरहेको बताउँदै वित्तीय संघीयताको व्यवहारिक रुपमा सफल कार्यान्वयनको प्रक्रियामा सहयोग गर्न पनि अनुरोध गरे । अर्थमन्त्री डा. युवराज खतिवडा वैशाख १७ गते मंगलबार फिजी गइ शनिबार स्वदेश फर्केका हुन् ।