कारोबार संवाददाता
सोमवार, बैशाख २३, २०७६
445

इलामका सरकारी चिया बगानमा यसपटक सिजनको पहिलो उत्पादन हुने चियापत्ती (फस्ट फ्लस) नटिपिँदा नष्ट भएको छ । सरकारले तोकेअनुसारको ज्याला पाउनुपर्ने मागसहित चिया मजदुरको आन्दोलनका कारण पहिलो टिपाइ नटिपिँदै नष्ट भएको हो । महिना दिनदेखि आन्दोलनमा रहेका मजदुरको माग सुनुवाइ नहुँदा जिल्लाका सरकारी चिया बगानमा चिया टिपाइ हुन सकेको छैन । मजदुरले काम ठप्प पारेर आन्दोलनमा रहँदा पनि चियाबगान लिजमा लिएर ब्यवस्थापन गरिरहेको त्रिवेणी सांघाइ ग्रुपले अहिलेसम्म कुनै चासो देखाएको छैन ।
दैनिक ज्यालादारीको रूपमा काम गरिरहेका मजदुरले काम नगरेको महिना दिन वितिसक्यो । तर, सांघाइ ग्रुपले मजदुरको समस्या समाधानमा चासो नदेखाएकाले आफूहरू काममा फर्किन नपाएको भन्दै मजदुरहरू आक्रोशित भएका छन् । आन्दोलनका कारण चिया टिपाइ नहुँदा सांघाइ ग्रुपलाई पनि दैनिक घाटा भइरहेको छ भने बगानमा काम रोकिएपछि दैनिक ज्यालादारी मजदुरलाई पनि छाक टार्न समेत समस्या पर्न थालेको छ ।

श्रमिकहरूले श्रम ऐन, २०७४ कार्यान्वयन हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने र गत साउनदेखि वृद्धि भएको ज्याला पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चरणबद्ध आन्दोलनमा उत्रिएका चिया मजदुरहरूले चैत १७ गतेदेखि अनिश्चितकालिन हड्ताल सुरु गरेका छन् ।
हड्तालसँगै विरोधका विभिन्न कार्यक्रम गर्दै आएका छन् । झापा र इलामका चिया मजदुरको आन्दोलनका कारण सात वटा सरकारी बगान र कारखाना बन्द छन् । गुणस्तरीय चिया उत्पादन हुने यही सिजनमा लामो समयसम्म बन्द भएका कारण कारखानालाई लाखौं नोक्सानी भइरहेको छ । चियाको पहिलो टिपाइलाई गुणस्तरीय उत्पादनका रूपमा लिइन्छ तर यही चिया टिप्न नपाउँदा मजदुर, मालिक र ठेकेदारलाई समस्या भइरहेको छ ।
सूर्योदय नगरपालिकाका निजी चिया उद्योगहरूको संगठन सूर्योदय टि प्रोड्युसर्स एसोसिएसनले भने मजदुरका माग कार्यान्वयन गरेको छ । झापा मेची नगरपालिकाका राज टी स्टेट र ज्यामिरगढीले पनि श्रमिकको माग अनुसारको सेवा सुविधा दिएको छ । तर, निगमको चियाबगान ५० वर्षका लागि लिजमा लिएको सांघाईले भने मजदुरको मागलाई बेवास्ता गर्दै आएको छ ।
आन्दोलनको महिना दिन बित्दासम्म चिया श्रमिकको आवाजमा वेवास्ता गरिएको नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दिपक तामाङ बताउँछन् । साउन १ गतेदेखि लागू हुने गरी चिया बगानमा काम गर्ने श्रमिकको ज्याला दैनिक ३ सय ८५ रूपैयाँ र कारखानामा काम गर्ने मजदुरलाई थप ४२ रूपैयाँ तोकेको छ । तर, अहिले श्रमिकहरूले दैनिक २ सय ७८ रूपैयाँ मात्र पाइरहेका छन् ।
श्रम ऐन, २०७४, श्रम नियमावली २०७५ र सामाजिक सुरक्षा ऐनमा श्रमिकको नियुक्तिपत्र, बिमा, विदा सुविधा, औषधि उपचारलगायतको व्यवस्था छ । वार्षिक तलब वृद्धि, चाड पर्व खर्च, उपचार खर्चलगायतका सेवासुविधा ऐनमा तोकिएको छ ।
लामो समयदेखि चिया टिपाई नहुँदा बगानमा चियाका मुना हुर्किएका छन् । अब ती मुनाबाट चिया उत्पादन हुन नसक्ने विज्ञहरू बताउँछन् । टिपाइ नभए पनि पहिलो उत्पादन काटेर फाल्नुपर्ने हुन्छ । यो सिजनको चिया वर्षभरिकै सबैभन्दा स्वादिलो हुने भएकाले फस्ट फ्लसको चियापत्ती र तयारी चिया महंगोमा बिक्री हुने गरेको छ । समस्या समाधान गर्न सांघाई ग्रुपले बेवास्ता गरिरहेको मजदुरहरूको भनाइ छ । यता सरकारी निकायबाट समेत समस्या समाधान गर्न कुनै पनि कदम नचालिएको भन्दै मजदुरहरू असन्तुष्ट बनेका छन् । आफूहरूको रोजगारी हराएको र काम गर्न नपाउँदा दैनिक छाक टार्न समस्या भएको भन्दै मजदुरले तत्काल समस्या समाधान गर्न सम्वन्धित निकायले पहल गर्नुपर्ने माग राखेका छन् ।