भीम गौतम
बुधवार, बैशाख १८, २०७६
770

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले उत्कृष्ट कार्य सम्पादन गर्ने स्थानीय तहलाई १ अर्ब ७० करोड रुपैयाँ बराबर प्रोत्साहन रकम दिने भएको छ । बजेट ल्याएको समय र गरेको खर्च तथा सम्बन्धित तहलाई रिपोर्टिङ गरेको आधारमा मूल्यांकन गरी आयोगले वित्त आयोग ऐनअन्तर्गत आगामी आर्थिक वर्षको बजेट २०७६-०७७ मा ७५३ स्थानीय तहलाई यति प्रोत्साहनवापत रकम दिन लागेको हो । वित्तीय समानीकरणअन्तर्गत स्थानीय तहले पाउने अनुदानको न्यूनतमबाहेकको रकममध्ये २.५ प्रतिशत प्रोत्साहनका लागि आयोगले छुट्याएको छ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि स्थानीय तहमा ८९ अर्ब ९४ करोड ६६ लाख बजेटको सिलिङ बनाएको छ भने त्यसमध्ये न्यूनत्तमबाहेक विभिन्न सूचकांकहरूको सूत्रको आधारमा ६८ अर्ब रुपैयाँ रहेकोमा यसमध्ये २.५ प्रतिशत प्रोत्साहन रकम छुट्याएको हो । आयोगका सहसचिव एवं प्रवक्ता गोपी खनालले वित्त ऐनको व्यवस्थाअनुसार अघिल्लो आर्थिक वर्षको बजेट, खर्च र यसको रिपोर्टिङको आधारमा आगामी वर्षको बजेटको लागि प्रोत्साहन रकम प्रस्ताव गरिएको जानकारी दिए । “स्थानीय तहको कार्यसम्पादनको आधारमा २.५ प्रतिशत वित्तीय समानीकरण अनुदानको रकम छुट्याएर उत्कृष्ट काम गर्नेलाई बजेटमा थप गर्न लागेका स्थानीय तहको कार्यसम्पादनको आधारमा २.५ प्रतिशत वित्तीय समानीकरण अनुदानको रकम छुट्याएर उत्कृष्ट काम गर्नेलाई बजेटमा थप गर्न लागेका छौं,” उनले भने, “यसले उत्कृष्ट काम गर्ने स्थानीय तहलाई थप प्रोत्साहन हुनेछ, अर्को वर्षदेखि प्रदेशमा पनि दिने व्यवस्था गर्न लागेका छौं ।”

आयोगका अनुसार प्रोत्साहन वापत एउटा गाउँपालिकाले कार्य सम्पादनको आधारमा सबैभन्दा बढी ३७ लाख र सबैभन्दा कम ४ लाख ५० हजार रुपैयाँसम्म पाउनेछन् । आयोगले स्थानीय तहलाई जेठ १० गतेभित्र स्थानीय तहको बजेट पेश गरिसक्नुपर्ने तथा पुसभित्र बजेटको रिपोर्टिङ गरिसक्नुपर्ने व्यवस्था गरेको छ । आयोगका अनुसार ४५० स्थानीय तहले मात्र समयमै बजेट पेश गरेका छन् भने समयमै रिपोर्टिङ गर्ने स्थानीय तहको संख्या ४ मात्र छ ।
छिमेकी राष्ट्र भारतमा पनि कार्य सम्पादनको आधारमा उत्कृष्ट काम गर्नेलाई थप प्रोत्साहन रकम दिने र खर्च नगर्नेलाई जरिवाना गर्ने गरिएको छ । तर, नेपालमा जरिवानाको सट्टा कार्य सम्पादनको आधारमा प्रोत्साहन दिने व्यवस्था गरिएको हो । यो व्यवस्थाअनुसार कमजोर कार्य सम्पादन गर्ने गाउँपालिकाले कम रकम पाउनेछन् ।