लक्ष्मी सापकोटा
बिहिवार, बैशाख १२, २०७६
639

भारतबाट इन्धन आपूर्ति सहजताका लागि ४१ अर्ब लागतका  विभिन्न ६ वटा पेट्रोलियम पाइपलाइन परियोजना प्रस्ताव गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानको परामर्शदाता सेवा कम्पनीले नेपाल आयल निगमलाई बुझाएको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो । भारतबाट इन्धन आपूर्ति सहजताका लागि ४१ अर्ब लागतका  विभिन्न ६ वटा पेट्रोलियम पाइपलाइन परियोजना प्रस्ताव गरिएको छ । इन्जिनियरिङ अध्ययन संस्थानको परामर्शदाता सेवा कम्पनीले नेपाल आयल निगमलाई बुझाएको प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको हो । प्रतिवेदनमा पाइपलाइन र भण्डारण क्षेत्र अभिवृद्धिका परियोजनाहरू प्रस्ताव गरिएको छ । २०७२ सालमा भारतले नाकाबन्दी गरेपछि इन्धन आपूर्ति देखिएको असहज अवस्थाको अन्त्यका लागि सरकारले ९० दिनलाई पुग्ने गरी भण्डारण क्षेत्र बनाउने नीति बनाएको थियो । निर्माणाधीन नेपाल–भारत पाइपलाइन परियोजनामार्फत इन्धन आपूर्ति प्राविधिक र आर्थिक रूपमा सम्भाव्यता देखेपछि निगमले थप नयाँ पाइपलाइनको अध्ययनका लागि अध्ययन संस्थानलाई जिम्मेवारी दिएको थियो । आयल निगमले दिएको जिम्मेवारीको आधारमा संस्थानले पूर्वसम्भाव्यता अध्ययन गरी ६ वटा परियोजना निर्माणका लागि ४१ अर्ब १५ करोड  ४५ लाख  रुपैयाँ प्रस्ताव गरिएको संस्थान परामर्श सेवा प्रमुख नारायण गौतमले जानकारी दिए । ‘‘हामीले अहिले प्रारम्भिक रूपमा अध्ययन गरेका छौं,’’ उनले भने, “९० दिनलाई पुग्ने इन्धन भन्डारण गर्नका लागि पाइपलाइन र भन्डारणस्थल निर्माणका लागि लाग्ने लागतको थप गहन अध्ययन गरेर पेश गर्ने छौं ।”अहिले निगमसँग एक हप्तालाई पुग्ने ६८ हजार ३ सय ६४ किलोलिटर क्षमता भन्डारण क्षमता रहेको छ ।  बजारमा इन्धनको खपत बर्सेनि बढ्दै गएपनि सो अनुपातमा अझै भन्डारण क्षमता बढाउन सकिएको छैन । ९० दिनलाई पुग्ने गरी इन्धन भन्डारण क्षमता बढाउनका लागि निगमले भैरहवा, सर्लाही, चितवन र झापामा जग्गा समेत खरिद गरिसकेको छ । ती क्षेत्रहरूलाई लक्षित गरी संस्थानले अध्ययन गरेको हो । प्रतिवेदनअनुसार सिलगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पदार्थहरूको आपूर्ति गर्न पाइपलाइन तथा  चारआलीमा ९० हजार  किलोलिटर भन्डारण क्षमताको स्टोरेज ट्यांक निर्माण गर्न सकिने अध्ययनको क्रममा देखिएको छ । यस्तै, अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पदार्थको आपूर्ति गर्न पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन गरिएको छ ।  सर्लाहीमा  ४० हजार  किलोलिटर भन्डारण क्षमताको स्टोरेज टयांकी  निर्माण, भैरहवामा ४० हजार किलोलिटर भण्डारण क्षमताको स्टोरेज टयांक निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । यस्तै, अध्ययनले भारतको मुज्जफरपुरदेखि जनकपुर महेन्द्रनगरसम्म एलपी  ग्यास आपूर्ति गर्न पाइपलाइन तथा महेन्द्रनगरमा ४० हजार टन भन्डारण क्षमताको स्टारेज निर्माण गर्न सम्भाव्यता अध्ययन गरिएको छ । यस्तै, भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपी ग्यास आपूर्ति गर्न पाइपलाइन तथा लोथरमा ४० हजार टन भन्डारण क्षमताको स्टोरेज ट्यांक निर्माण गर्नका लागि प्रारम्भिक अध्ययनले देखाएको छ । आर्थिक वर्ष २०६५-६६ मा ८८९.९८ मिलियन डलर माग रहेकोमा आर्थिक वर्ष २०७४-७५ मा २०७०.९ मिलियन लिटर पुगेकोमा अध्ययनले इन्धनको माग बढ्दै गएर २५ वर्षपछि अर्थात २१००-२१०१ मा १३१७२.४० पुग्ने प्रक्षेपण गरेको छ । अध्ययनले ६ वटै परियोजना निर्माण सम्पन्न भएमा पाइपलाइनको सञ्चालन खर्च घटाएर हालको यातायात खर्च र प्राविधिक चुहावटमा कमी भई वार्षिक रूपमा १९ अर्ब नाफा हुने देखाएको छ । प्रतिवेदनमा यातायातमा २० अर्ब ५० करोड र प्राविधिक चुहावटमा ८० करोड बचत हुने तथा पाइनलाइन सञ्चालनमा २ अर्ब ३१ करोड खर्च हुने उल्लेख छ । पाइपलाइनबाट इन्धनको ढुवानी गर्दा इन्धन ढुवानी गर्नका लागि पाइपलाइन सुरक्षित तथा भरपर्दो हुने, वातावरणीय प्रभाव न्युन रहने, ढुवानी रकम बचत हुने,  इन्धन ढुवानी देखिने समस्या अन्त्य हुने गर्छ । अहिले ढुवानीवापत अर्बांै रुपैयाँ बाहिर गइरहेको छ । 

आयोजना लागत (रुपैयाँमा)
अमलेखन्ज–लोथर (पाइपलाइन- भन्डारण) ९ अर्ब ८७ करोड 
सर्लाही (भन्डारण) १ अर्ब ७९ करोड 
भैरहवा (भन्डारण) १ अर्ब ७९ करोड 
मुज्जफरपुर–जनकपुर (पाइपलाइन- भन्डारण) ७ अर्ब ७६ करोड 
मोतिहारी–चितवन (पाइपलाइन- भन्डारण)  १५ अर्ब १२ करोड 
सिलगुडी–चारआली (पाइपलाइन- भन्डारण)  ४ अर्ब ७८ करोड
स्रोतः इन्जिनियरिङक अध्ययन संस्थान कन्सल्टेन्सी सेवा