कारोबार संवाददाता
बिहिवार, बैशाख १२, २०७६
372

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जडिबुटी खेती विस्तारको कार्यक्रम प्रभावकारी बनाउन कृषकलाई सहुलियत कर्जाको आवश्यक पर्ने बताएका छन् । बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले जडिबुटी खेती विस्तारका लागि निजी क्षेत्रलाई सहुलियत कर्जाको व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।
जडिबुटी खेतीको नेपालमा सम्भावना बढ्दै गएको तर लगानी गर्न आवश्यक बजेट नभएका कारण जडिबुटीमा निजी लगानी कम भएकाले सहुलियत कर्जाको व्यवस्था गर्न आवश्यक रहेको उनको भनाइ छ । कार्यक्रममा बस्नेतले स्पष्ट कार्यक्रमसहित यो क्षेत्रलाई अझै बढी व्यवस्थित तथा संगठित गर्ने तयारी भईरहेको जानकारी गराएका छन् । “जडिबुटी खेती विस्तार गर्न र जडिबुटीबाटै मुलुकको आर्थिक समृद्धि गर्न ७ ओटै प्रदेशमा पाउने महत्वपूर्ण जडिबुटीको पहिचान गर्ने छौ,” उनले भने, “सबैभन्दा बढी प्रमुख कुन हो भनेर पहिचान हुने छ , जिल्तागत रूपमा प्रमुख उत्पादन के हो भनेर पहिचान गर्दैछौं ।”

उनका अनुसार उद्यम विकासको कार्यक्रमसहित जडिबुटी क्षेत्रको कार्यक्रमलाई अधिकतम सदुपयोग गर्दै यसको खेती विस्तार गर्ने योजनाका साथ सरकार अगाडि बढिरहेको छ । नेपालमा जडिबुटी खेती विस्तारको धेरै सम्भावना रहेको बस्नेतको भनाई छ । परम्परागत खेती बिस्तारको अवधारणलाई परिवर्तन गर्दै आधुनिक तवरले जडिबुटी खेती विस्तार गरेर निर्यात बढाउन आवश्यक रहेको बताए ।
“हामीसँग भएको परम्परागत ज्ञानको आधारमा आधुनिक तरिकाले जडिबुटी खेती विस्तार बढाउन सक्यौँ भने जडिबुटीबाट प्रसस्त रोजगारी दिलाउन सक्छौँ,” मन्त्री बस्नेतले थपे, “जडिबुटी खेती प्रवद्र्धन गरेर निर्यात बढाउने पर्छ, कर्णली प्रदेश अझ जडिबुटीबाट धनी बन्न सक्छ, त्यहाँ सम्भावना धेरै छ ।”
प्रशोधित जडिबुटी निर्यात गर्न आवश्यक रहेको उनको भनाइ छ । जडिबुटी खेती विस्तारका लागि सबै क्षेत्रको सहकार्य जरुरी रहेको उनले बताए । “जडिबुटी खेती विस्तारको योजनाका साथ अगाडि बढ्ने छौं, अनि रोजगारीको सम्भावनाहरू बढ्न सक्छन्,” उनले भने ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले जडिबुटी बोर्ड स्थापना गर्ने बिषयमा छलफल भइरहेको छ । जडिबुटी खेती सम्भावना बोकेको क्षेत्र हो, यस बिषयमा नीति तथा कार्यक्रम तर्जुमा गर्ने विषयमा गम्भीर रहेको उनको भनाइ छ । उनले भने, “निजी क्षेत्रलाई अनुकुल वातावरण सरकारले बनाइदिने हो, व्यापारघाटा कम गर्न जडिबुटी निर्यात बढाउनुपर्छ ।”
अभिवृद्धि एकीकृत ढाँचा (ईआईएफ) का कार्यकारी निर्देशक रत्नाकार अधिकारीले जडिबुटीको व्यपार विश्व बजारमा फैलाउन आवश्यक रहेको बताए । “नेपालमा उत्पादित भएको जडिबुटी विकसित देशसम्म निर्यात गर्नुपर्छ, नेपाललाई जडिबुटीको अपार सम्भावना भएको मुलुक बनाउन सकिन्छ,” उनले भने, “जडिबुटी विभिन्न प्रयोग हुँदै आएको छ, खाने कुरा, औषधि, श्रृङ्गारिक रूपमा प्रयोग गर्न सकिन्छ, तर हामीले निर्यात बढाउन सकिरहेका छैनाँै । ”
जीआईजेडका राष्ट्रिय परियोजना निर्देशक डा. कल्याण गौलीले प्रमाणीकरण गरिएको जडिबुटी निर्यात गर्दा मुल्य बढी आउने भएकाले जडिबुटीको प्रमाणीकरण आवश्यक रहेको बताएका छन् । वन तथा वातावरण मन्त्रालयका सह–सचिव डा. सिन्धुप्रसाद ढुंगानाले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्नका जडिबुटी खेती विस्तारको कार्यक्रम आवश्यक रहेको बताए ।
नेपाल हर्वल संघका अध्यक्ष उद्यमी गोविन्द घिमिरेले जडिबुटी खेती विस्तारमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न नसकेको बताएका छ । “सरकारले निजी क्षेत्रलाई अनुदान दिनुपर्दैन, लोनको सुविधा उपलब्ध भए हुन्छ, नीति सरलिकृत मात्रै गर्दिए निजी क्षेत्रले आफैँ उत्पादन बढाउन सक्छ,” उनले भने, “जडिबुटी निर्यात बढाउने हो भने, नीति नियमको मूल्यांकन गर्न आवश्यक छ, निजी क्षेत्रको लगानीको सुरक्षा हुनुपर्छ ।” जडिबुटीमा निजी क्षेत्रको लगानी बढाउने उनले बताए ।