मनिषा चम्लागाईँ
सोमवार, बैशाख ९, २०७६
461

चैतसम्मको लक्ष्य ९ अर्ब २३ करोड ४७ लाख राखिएको थियो । लक्ष्यअनुसार चैतसम्ममा ८४.०४ प्रतिशत मात्र राजस्व संकलन भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाउँछ ।

झापाको मेची भन्सार कार्यालय काँकडभिट्टाले ९ महिनाको अवधिमा ६० दशमलव ५१ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । सरकारले मेची भन्सारलाई आर्थिक वर्ष २०७५-७६ मा १२ अर्ब ८२ करोड ६१ लाख रूपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी हुँदाँ चैतसम्मको असुली ७ अर्ब ७६ करोड ११ लाख रूपैयाँ रहेको छ । यसलाई हेर्दा मेची भन्सारले चालू आर्थिक बर्षमा राजस्व संकलनको लक्ष्य पुरा नगर्ने देखिएको हो ।
चैतसम्मको लक्ष्य ९ अर्ब २३ करोड ४७ लाख राखिएको थियो । लक्ष्यअनुसार चैतसम्ममा ८४.०४ प्रतिशत मात्र राजस्व संकलन भएको मेची भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । भन्सार कार्यालयबाट नियमित आयात हुने कोइला, क्लिंकर र इन्धनको आयात घटेकाले राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको कार्यालयका प्रमुख टेकबहादुर अर्यालले बताए । गतवर्षको तुलनामा राजस्व बढी संकलन भए पनि लक्ष्य पुरा नहुने देखिन्छ ।
क्षमताभन्दा लक्ष्य उच्च भएकाले लक्ष्यअनुसार संकलन गर्न समस्या भएको प्रमुख अर्यालको भनाइ छ । आर्थिक वर्ष २०७४-७५ मा मेची भन्सार कार्यालयलाई ९ अर्ब २० करोड रूपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको थियो । जसमा लक्ष्यभन्दा बढी १० अर्ब १८ करोड २७ लाख राजस्व संकलन भएको सूचना अधिकृत भरत अधिकारीले बताए । “यो लक्ष्यको १११ प्रतिशत हो,” अधिकारीले भने, “उक्त वर्षको आव २०७३-७४ को तुलनामा ५६ प्रतिशतले राजस्व वृद्धि भएको थियो ।”
गत आवको तुलनामा ३९.२७ प्रतिशत लक्ष्य वृद्धि गरेर मेची भन्सारलाई जिम्मेवारी प्रदान गरिएको थियो । गत वर्ष चैतसम्ममा संकलित राजस्वभन्दा चालू आर्थिक वर्षमा १०.२५ प्रतिशतले वृद्धि भएको छ । तर, आगामी तीन महिनामा लक्ष्य पुरा नहुने देखिन्छ । यस आर्थिक वर्षमा राजस्वको लक्ष्य पूरा गर्न समस्या भएकाले राजस्वको लक्ष्य संशोधन गर्नुपर्ने प्रमुख अर्याल बताउँछन् ।
अहिले झापाका छोटी भन्सार स्तरोन्नति भएका छन् । झापामा १२ वटा छोटी भन्सार कार्यालय छन् । मुलुकमा चलेको आन्तरिक द्वन्द्वसँगै ६ वटा छोटी भन्सार बन्द भएका थिए । ती अहिले सञ्चालनमा आएका छन् । भद्रपुर छोटी भन्सार कार्यालयको भने स्तरोन्नति भइसकेको छ । मेची भन्सार कार्यालय काँकरभिट्टा मातहात रहेको भद्रपुर छोटी भन्सारलाई विभागले छुट्टै भन्सारको दर्जा दिएको छ ।
भद्रपुर भन्सार कार्यालको स्तरोन्नति, एक्सरे मेसिन जडान तथा एक्सरे भवन निर्माण, ग्यारेज निर्माण र कार्यकक्ष तथा बैठक कक्ष निर्माण, यात्रु चेकजाँच कक्ष निर्माण, शौचालय निर्माण, हावाघर निर्माण, अतिथि गृह सञ्चालन, गौरीगन्ज भन्सार कार्यालय भवन निर्माण र स्तरोन्नतिको प्रक्रिया अघि बढाइएको सूचना अधिकृत अधिकारीले बताए । एक्सरे मेसिनको प्रयोगबाट १२ लाख भारतीय रूपैयाँ, ८ केजी चाँदी, मोबाइल, बिस्फोटक पदार्थसमेत बरामद गरेको अधिकारी बताउँछन् ।
मेची भन्सारले विभागको स्थलगत तथा अनलाइन अनुगमनबाट प्राप्त निर्देशन तथा सुझावलाई कार्यान्वयन गरेको जनाएको छ । यसैगरी बजार मूल्यलाई आधार मानेर बरामद भएका सामग्रीको मूल्यांकन गर्ने काम सुरु गरिएको प्रमुख अर्यालले बताए । भन्सारले हालसम्म कै सबैभन्दा धेरै मूल्यकोे सामग्री लिलाम गरेको छ । चालू आवमा १ करोड ५३ लाख ४१ हजार राजस्व लिलामी प्रक्रियाबाट जम्मा गरेको जनाइएको छ । मेची भन्सारमा एउटा मात्र सवारी साधन चालू रहेकाले नियमित गस्ती परिचालन गर्न नसक्दा पनि राजस्व संकलनमा समस्या भएको भन्सार कार्यालयले जनाएको छ ।

कोइला, क्लिंकर र इन्धन आयात ठप्प
भारतबाट नेपालमा आयात हुँदै आएका कोइला, क्लिंकर र इन्धनको आयात घटेको छ । भारतमा खानी बन्द हुँदा मेघालय र असामबाट नेपाल आयात हुने पत्थर कोइला, क्लिंकर र इन्धनको आयात घटेको हो ।
भारतका पत्थर कोइला र क्लिंकर खानीमा पुरिएर मजदुरको ज्यान गएको र खानी रित्तिने अवस्थामा पुगेकाले रोक्नुपर्ने मागसहित भारतीय उच्च अदालतमा मुद्दा दायर भएको थियो । भारतीय उच्च अदालतले खानी उत्खनन् बन्द गर्ने निर्देशन दिएसँगै कोइला आयात ह्वात्तै घटेको प्रमुख अर्याल बताउँछन् । राजस्व संकलनमा सबैभन्दा धेरै योगदान पु¥याउँदै आएका ती वस्तुको आयात ठप्प भएकाले राजस्व संकलनमा गिरावट आएको भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ ।
मार्च २८ मा अदालतले खानी उत्खनन बन्द गर्न निर्देशन दिएको थियो । तेस्रो देशबाट आउने कोइला भने रोकिएको छैन । तर, तेस्रो देशको आयात भने नगन्य हुने भन्सारको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४-७५ मा ९४ करोड ३१ लाख ६३ हजार मूल्यको कोइला, १ अर्ब ५ करोड ४८ लाखको क्लिंकर र १ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालू आर्थिक वर्षको फागुनसम्ममा ६२ करोड ७१ लाखको कोइला, ५६ करोड २४ लाखको क्लिंकर र १ अर्ब ७४ करोडको पेट्रोलियम आयात भएको छ । गत वर्षको तुलनामा कोइला ३३.५ प्रतिशत, क्लिंकर ४६.९ प्रतिशत र पेट्रोलियम १.७१ प्रतिशत कम भएको भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । ६० प्रतिशतभन्दा बढी राजस्व पेट्रोलियम पदार्थबाट संकलन भएको छ ।

आयात निर्यातको अवस्था
मेची भन्सार कार्यालय काँकडभिट्टामा आर्थिक वर्ष २०७५-७६ चैतसम्म निर्यात भएको प्रमुख वस्तुुमा चिया ३४ प्रतिशत रहेको छ । त्यसैगरी कर्कट जस्ता पाता २२ प्रतिशत, अलैंची २० प्रतिशत, मुसुरो दाल १३ प्रतिशत, अम्रिसो कुचो ४ प्रतिशत, प्लास्टिकको बिर्को १ प्रतिशत, तामाको तार १ प्रतिशत र अन्य वस्तु ५ प्रतिशत रहेको मेची भन्सार कार्यालयको तथ्यांकले देखाउँछ । त्यस्तै आव २०७५-७६ चैतसम्म आयात भएका प्रमुख वस्तुमा पेट्रोलियम पदार्थ २७ प्रतिशत छ । अन्य कोइला १० प्रतिशत, क्लिंकर ९ प्रतिशत, जुस (बंगलादेश) ५ प्रतिशत, डिसहोम रिसिभर सेट २ प्रतिशत, रेडिमेड गार्मेन्ट २ प्रतिशत, जिप्सम २ प्रतिशत, रेजीन १ प्रतिशत, फेस भेनियर १ प्रतिशत, जुत्ता १ प्रतिशत र अन्य वस्तु ४० प्रतिशत आयात रहेको छ । मेची भन्सारबाट निर्यातलाई बढाउन सके राजस्व वृद्धिसँगै देशको अर्थतन्त्रमासमेत वृद्धि हुने प्रमुख अर्याल बताउँछन् ।