अमरराज आचार्य
सोमवार, बैशाख ९, २०७६
278

अघिल्लो आर्थिक वर्षमा यसै समयसम्ममा उपमहानगरपालिकाले १५.९४ प्रतिशत मात्र खर्च गरेको थियो । यसलाई उपमहानगरपालिकाले उपलब्धिका रूपमा लिएको छ ।

दाङ-घोराही उपमहानगरपालिकाले पुँजीगत बजेटको २२ प्रतिशत मात्र खर्च गरेको छ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा उपमहानगरपालिकाले २२.१८ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । घोराही उपमहानगरपालिकाले पुँजीगततर्फ १२ करोड ७९ लाख ६५ हजार ७ सय ३५ रूपैयाँ खर्च गरेको उपमहानगरपालिकाका सूचना अधिकृत भीमबहादुर चौधरीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा यसै समयसम्ममा उपमहानगरपालिकाले १५.९४ प्रतिशत मात्र खर्च गरेको थियो । यसलाई उपमहानगरपालिकाले उपलब्धिका रूपमा लिएको छ ।
त्यसैगरी पुँजीगततर्फ ६१.३५ प्रतिशत बजेट खर्च भएको छ । जसमा ५६ करोड ७० लाख १० हजार ६ सय ८ रूपैयाँ खर्च भएको सूचना अधिकारी चौधरीले बताए । उपमहानगरपालिकाले चैत मसान्तसम्ममा कुल बजेटको ४६.२१ प्रतिशत खर्च गरेको जनाएको छ । आर्थिक वर्ष २०७५-७६ का लागि कुल १ अर्ब ४९ करोड २६ लाख ८३ हजार विनियोजन गरिएको थियो । जसमा चालूतर्फ ९१ करोड ५७ लाख ८५ हजार बजेट रहेको सूचना अधिकारी चौधरीले बताए । जुन कुल बजेटको ६१.३५ प्रतिशत हो । त्यस्तै पुँजीगततर्फ ५७ करोड ६८ लाख ९८ हजार विनियोजन गरिएको थियो । जुन कुल बजेटको ३८.६५ प्रतिशत हो ।

घोराही उपमहानगरपालिकाले ९ महिनाको अवधिमा ३ सय ५० वटा योजना सम्पन्न गरेको जनाएको छ । उपमहानगरपालिकाले चैत समान्तसम्ममा ३ सय ५० वटा योजना सम्पन्न गरी भुक्तानीसमेत प्रदान गरिसकेको छ । नगर क्षेत्रमा ठूला साना गरी ७ सय ७५ वटा योजना थिए । सूचना अधिकृत चौधरीका अनुसार नगरका ३ सय ९ वटा वडास्तरीय र ४१ वटा नगरस्तरीय योजना सम्पन्न भएका हुन् । उपमहानगरपालिकामा चालू आर्थिक वर्ष २०७५-७६ का लागि वडास्तरीय योजनाहरू ६ सय १२ वटामध्ये ५ सय २५ वटा सम्झौता भइसकेको सूचना अधिकारी चौधरीले बताए । जुन जम्मा योजनाको ८५.७८ प्रतिशत योजना सम्झौता भएका छन् । त्यसैगरेर १ सय ६३ वटा नगरस्तरिय योजनामध्ये १ सय २५ वटा सम्झौता भइसकेका छन् । जुन ७६.६८ प्रतिशत सम्झौता भएको छ ।
उप महानगरपालिकाले २०७५-७६ मा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत ३२ करोड ४६ लाख रूपैयाँ प्राप्त गर्ने अपेक्षा लिएको छ । त्यसैगरी राजस्व बाँडफाँडबाट २१ करोड ६९ लाख ८५ हजार उठ्ने अपेक्षा लिएको सूचना अधिकारी चौधरीले बताए । त्यस्तै शर्सत अनुदानतर्फ ४४ करोड ८१ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७३ लाख १३ हजार, उपमहानगरपालिकाको आन्तरिक राजस्व १९ करोड, लागत सहभागिताबाट ५ करोड, सामाजिक सुरक्षा कार्यक्रम, सडक बोर्ड र अन्य शीर्षकहरूबाट २१ करोड ३४ लाख आम्दानी हुने उपमहानगरपालिकाले लक्ष्य राखेको छ ।
यसैबीच घोराही उपमहानगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने नगरबासीले उपमहानगरपालिकाले स्थानीयवासीको आवश्यकताका आधारमा योजना छनोट गर्न, घरघरमा सिंहदरबार आएको अनुभूति हुने गरी काम गर्न सुझाव दिएका छन् । उनीहरूले कार्यालयमा हुने ढिलासुस्ती, भ्रष्टाचार रोक्नसमेत ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरवासीको सुझाव अनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नगरको विकासका लागि आफू लागी परेको भन्दै सहयोग गर्नसमेत आग्रह गरे ।