कारोबार संवाददाता
आइतवार, बैशाख ८, २०७६
593

बाँकेको कोहलपुर–नेपालगन्ज सडक खण्ड र नेपालगन्ज–गुलरिया सडक खण्डलाई छुने जानकी गाउँपालिकामा सबैभन्दा धेरै लगानीका र धेरै ठूला उद्योगहरु सञ्चालनमा छन् । एकपछि अर्को गरेर उद्योगहरु थपिंदै गएपछि सो गाउँपालिका उद्योगमय बनेको छ । सोही कारणले त्यहाँ औद्योगिक करिडोर बनाउनुपर्ने माग पनि उद्योगी व्यवसायीबाट उठ्दै गएका छन् ।
जानकी गाउँपालिकामा मात्र अर्बौं लगानीका दुई दर्जनभन्दा बढी ठूला उद्योग सञ्चालनमा आईसकेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए । उनले आफ्नो गाउँपालिका पश्चिम नेपालमै सबैभन्दा धेरै उद्योग भएको गाउँपालिका बनेको जनाए ।

अध्यक्ष यादवका अनुसार सो गाउँपालिकामा सञ्चालित उद्योगहरुमा लगानी पनि थपिंदै गएको छ । यहाँ सञ्चालनमा रहेका उद्योगमा गत आर्थिक बर्षमा मात्र पाँच अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको लगानी थपिएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा उद्योग बिभागबाट सञ्चालनको अनुमति पाएका उद्योगमा सो लगानी थपिएको गाउँपालिकाले जनाएकोे छ ।
गत बर्षभन्दा पहिलेदेखिनै सो गाउँपालिकामा सञ्चालनमा रहेका उद्योगहरुमा पनि करिब ५ अर्ब रुपैयाँकै लगानी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जनाए ।
अधिकृत सुनारका अनुसार गत वर्ष मात्र अनुमति पाएका कतिपय उद्योग सञ्चालनमा आइकेका छन् भने कतिपय उद्योगले पूर्वाधार निर्माण गरिरहेका छन् ।
जानकी गाउँपालिकामा दुईवटा सिमेन्ट उद्योग, दुईवटा आइरन उद्योग सञ्चालनमा छन् भने अन्य एउटा आईरन उद्योग सञ्चालनको तयारीमा छ । दुइवटा स्टिल उद्योग पनि सञ्चालनको तयारमा रहेका छन् । यस्तै आधा दर्जन रोजिन उद्योग छन् भने सोही अनुपातमा कत्था, जडिबुटी प्रशोधन, प्लाष्टिक उद्योग सञ्चालन भइरहेका छन् ।
गाउँपालिकामा धेरै ठूला ठूला उद्योगहरु सञ्चालनमा आएपनि उद्योगहरु रहेको सडक निकै साँघुरो रहेको र निर्माण नगरिएको हुँदा समस्या भइरहेको उद्योगी व्यवसायीको गुनासो छ । यस क्षेत्रकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगको रुपमा गनापुरमा सञ्चालनमा रहेको जय बागेश्वरी सिमेन्ट उद्योगका प्रबन्ध सञ्चालक निसान्त चाचानले सडक साँघुरो र कच्चा बाटो भएकोले आवागमनमा समस्या भइरहेको बताए । उनले सरकारले दर्जनौ ठूला उद्योग रहेको सो क्षेत्रको बाटोलाई फराकिलो गर्नुका साथै तत्काल कालोपत्रे गरेर विद्युत लगायत अन्य पूर्वाधारमा ध्यान दिनु पर्ने माग गरे ।
जानकी गाउँपालिकाका अध्यक्ष यादवले उद्योगीहरुको मागअनुसार सडक फराकिलो गर्ने काम शुरु गरिसकिएको बताएका छन् । यसैविच बैजनाथ गाउँपालिकामा निर्माण भैरहेको प्रदेशस्तरीय औद्योगिक क्षेत्रमा पनि उद्योग खोल्न धेरैले चासो देखाएको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार औद्योगिक क्षेत्रको निर्माणपछि जानकी र बैजनाथ गाउँपालिकामा मात्रै प्रदेशकै सबैभन्दा बढी उद्योगहरु रहनेछन् । सरकारले नेपालगन्ज–कोहलपुर सडकखण्डको वरिपरिको क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गरेर उद्योगी व्यवसायीलाई बिभिन्न सुविधाहरु प्रदान गर्नुपर्ने माग व्यवसायीहरुले लामो समयदेखि गर्दै आएका छन् ।
बाँकेमा लगानीमैत्री वातावरण भएकै कारण पछिल्लो समयमा विभिन्न उद्योगहरूले खजुरा, जानकी, कोहलपुर र नेपालगन्ज क्षेत्रमा स्थापनामा सक्रियता देखाईरहेको नेपालगञ्ज उद्योग बाणिज्य संघको भनाइ छ । संघका अध्यक्ष नन्दलाल वैश्यका अनुसार अर्बौ लगानीका उद्योग र होटल भित्रिएपछि बाँके जिल्ला औद्योगिक हबका लागि तयार भइरहेको बताए ।