कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
327

नेपालगन्ज-गाउँगाउँमा तरकारी उत्पादन बढ्दै गए पनि अझै ठूलो परिमाणमा भारतबाटै तरकारी आयात भइरहेको छ । बाँकेका विभिन्न स्थानमा व्यावसायिकरूपमै तरकारी उत्पादन हुँदै आए पनि सो उत्पादनले माग पुरा नभएकाले आयात बढ्दै गएको व्यवसायीहरूले बताएका छन् ।
चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालगन्ज नाका भएर १ अर्ब ६९ करोड ७२ लाख मूल्य बराबरको तरकारी आयात भएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म १ अर्ब ६९ करोड ७२ लाख मूल्य बराबरको ६६ हजार ७ सय ६७ मेट्रिक टन तरकारी आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

गत आर्थिक वर्ष २०७४-७५ मा ९१ करोड ८२ लाख ८६ हजार रूपैयाँ मूल्यको तरकारी भन्सार भएर भित्रिएको थियो । तर यसपटक ८ महिनाकै अवधिमा त्योभन्दा करिब ७८ करोडभन्दा बढीको तरकारी आयात भइसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।
यसरी ठूलो परिमाणमा आयात भएको तरकारीमा साढे ५ करोड किलो आलु, ७७ लाख किलो प्याज, १५ लाख किलो गोलभेडा, २० लाख किलो सागपात र हरियो तरकारी र ४५ लाख किलो बोडी रहेको भन्सार प्रमुख निरौलाले जनाए ।
बाँकेलगायत यस क्षेत्रका विभिन्न जिल्लामा बर्सेनि तरकारीको उत्पादन वृद्धि हुँदै जाँदा पनि ८ महिनामै करिब पौने दुई अर्बको तरकारी आयात हुनुले अझै पनि तरकारी उत्पादनमा धेरै मिहिनेत गर्नुपर्ने देखिएको छ ।
सल्यानबाट धेरै ठूलो परिमाणमा तरकारी नेपालगन्ज आउने गरे पनि भारतबाट समेत धेरै ठूलो परिमाणमा तरकारी आयात भइरहेको व्यवसायीहरूले बताएका छन् ।
यसैगरी दैनिक सयौं सर्वसाधारणले सीमावर्ती रूपैडियाबाट भन्सार नतिरेरै घरायसी प्रयोजनका लागि हरियो तरकारी भित्र्याउने गरेका छन् ।
नेपालगन्जको सीमावर्ती रूपैडिया बजारमा रहेका तरकारी बजारमा अधिकांश नेपाली ग्राहक नै भेटिने गरेका छन् ।
व्यवसायीहरूले आयात गरेर नेपालगन्ज भित्र्याएको हरियो तरकारी काठमाडौं, पोखरा, सुर्खेत, दाङलगायतका जिल्लामा समेत पठाउने गरेको नेपालगन्जका थोक तरकारी व्यवसायी रमजान कबडियाले बताए ।
व्यवसायी कबडियाका अनुसार नेपालगन्जको रानीतलाउ र विपीचोकमा रहेका तरकारी मण्डिमा पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा उत्पादन भएको तरकारीसमेत पाइने भए पनि अधिकांश तरकारी भने भारतबाटै ल्याइने गरिएको छ ।
बाँकेमा गोलभडा, आलु, काउली र अन्य मौसमी तरकारी धेरै उत्पादन हुँदै आए पनि त्यसबाट स्थानीयको माग पूरा गर्न नसकिएको तरकारी थोक बजार रानी तलाउ सब्जी मण्डीका व्यवसायी मेराज कबडियाले बताए ।
बाँकेलाई तरकारीमा आत्मनिर्भर बनाउन विभिन्न प्रकारका कार्यक्रम सञ्चालनमा ल्याइएको जनाउँदै बाँकेबाट काठमाडौं, पोखरा, दाङ, सुर्खेत र बुटवललगायतका शहरमा समेत तरकारी पठाइने गरिएकाले माग पुरा हुन नसकेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।