कारोबार संवाददाता
बिहिवार, बैशाख ५, २०७६
423

गोरखा- उत्तरी गोरखाको धार्चे गाउँपालिकामा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । स्याउ खेतीको उच्च सम्भावना रहेको धार्चेमा अहिलेसम्म पनि व्यावसायिक स्याउ खेतीको विकास हुन नसकेपछि गाउँपालिकाले नै पहिलो चरणमा १४ सय उन्नत जातका स्याउको बेर्ना वितरण गरी व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने काम सुरु गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
“अहिले सबै वडामा परीक्षणका रुपमा दुई–दुई सयका दरले स्याउको बेर्नाबाट सामुहिक रुपमा खेती सुरु गरेका छौं,” अध्यक्ष गुरुङले भने, “अहिले रोपेका बेर्नाले एक वर्षमा फल दिने जातको भएकाले यसबाट किसानसमेत उत्साहित भएका छन् ।” गाउँपालिकाले सवै वडामा सामुहिक रुपमा खेती गर्ने गरी स्याउको बेर्ना वितरण गरेको अध्यक्ष गुरुङको भनाइ छ । “दर्ता भएका सबै समूहलाई बेर्ना वितरण गरिएकाले गाउँपालिकाले ती सबै समूहलाई सूचीकृत पनि गर्नेछ,” उनले भने, “सामूहिक रुपमा खेती गरिएकाले त्यसको बजार व्यवस्थापन गर्नसमेत सजिलो हुन्छ ।”

वितरण गरिएका समूहले सार्वजनिक जग्गामा वा त्यो जग्गा नभए जमिन भाडामा लिएर पनि खेती सुरु गरेको अध्यक्ष गुरुङले बताए । “वितरण गरिएको स्याउको प्रतिबेर्नाको मूल्य नर्सरीमा १ हजार ५ सय परेको छ,” उनले भने, “गाउँसम्म ल्याइपु¥याउँदा एउटा बेर्नाको मूल्य २ हजार ५ सयसम्म पुग्नसक्छ ।”
एग्रो मनाङ नर्सरीमार्फत वितरण गरिएको स्याउको बेर्ना डाला, फुजी र गोल्डन जातका छन् । इटालीबाट झिकाएर वितरण गरिएको बेर्ना एक वर्षभित्रमा फल दिनसक्ने खालको रहेको उनले बताए । धार्चे गाउँपालिकालाई स्याउको पकेट क्षेत्रको रुपमा विकास गरेर लैजाने योजना गाउँपालिकाले बनाएको अध्यक्ष गुरुङले जानकारी दिए ।