भीम गौतम
शुक्रवार, चैत्र ८, २०७५
722

अर्को साता हुने दोस्रो लगानी सम्मेलनमा ३८ राष्ट्रका ६ सयभन्दा बढी विदेशी लगानीकर्ता सहभागी हुने भएका छन् । लगानी बोर्ड नेपालका अनुसार बुधबारसम्म ६ सय ११ विदेशीले सहभागिता सुनिश्चित गरिसकेका छन् । भारत, चीन, अमेरिका, बेलायत, यूएई, कतार, ओमानलगायतका ३८ राष्ट्रका लगानीकर्ता सम्मेलनमा सहभागी हुन लागेका छन् । दुई वर्षअघि भएको लगानी सम्मेलनमा २ सय ५७ विदेशी लगानीकर्ता सहभागी रहेकोमा यस वर्ष दोब्बरभन्दा बढी सहभागी हुने बोर्डले जनाएको छ ।
झण्डै ६ दर्जन परियोजनाहरू समेत प्रस्तुत हुनलागेको सो सम्मेलनले नेपालमा लगानी भिœयाउनका लागि विश्वासिलो वातावरण बनाउने विश्वास गरिएको छ । वैदेशिक लगानी खोज्ने देशहरूले प्रत्येक दुई वर्षमा लगानी सम्मेलन गर्ने भएकोले नेपालमा पनि लगानी सम्मेलनलाई निरन्तरता दिएपछि थप सहज हुने अपेक्षा गरिएको छ । लगानी सम्मेलनसँगै सरकारले लगानी भिœयाउनका लागि सहजीकरण गर्न भन्दै सार्वजनिक निजी साझेदारी (पीपीपी) नीति, वैदेशिक लगानी हस्तान्तरण ऐन (फिटा) समेत संशोधन गरिसकेकोले सम्मेलनमा आउने लगानीकर्तालाई समेत लगानी सम्मेलनले थप उत्साह जगाउने अपेक्षा गरिएको छ ।

सम्मेलनमा विभिन्न राष्ट्र तथा दातृ निकायका उच्च व्यक्ति (हाइप्रोफाइल) का व्यक्तिहरू समेत सहभागी हुन लागेका छन् । प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार, सुचना तथा प्रविधि, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री लगायत अधिकांश मन्त्रालयका उच्च अधिकारीहरूका साथै विभिन्न मुलुकका मन्त्रीहरू समेत सहभागी हुन लागेका छन् । बोर्डका अनुसार वक्ताको रूपमा म्यानमारका लगानी तथा वैदेशिक व्यापार सम्बन्धमन्त्री यु थौङ छन, विश्व बैकका उपाध्यक्ष हार्टविगलगायत सहभागी हुनेछन् । पहिलो सम्मेलनको क्रममा नेपालका प्रधानमन्त्रीका साथै प्रमुख प्रतिपक्षी लगायतका प्रमुख दलका नेताहरूलाई नै उद्घाटन सत्र तथा समापनसत्रमा सहभागी गराइएपनि यसपटक भने प्रतिपक्षी दलका नेतालाई सहभागी गराउने कार्यक्रम छैन ।
लगानी बोर्डले सम्मेलनका लागि सरकारका ६३ सहित ६३ वटा परियोजना छनोट गरिसकेको छ । प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले यही चैत १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३ आयोजना प्रस्तुत गर्ने निर्णय लिएको हो । लगानी गर्न तयारी अवस्थामा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानिएको छ । सरकारका आयोजनातर्फ २४ खर्ब ९१ अर्ब १० करोड ३५ लाख ८० हजार तथा निजीतर्फका आयोजनाको २ खर्ब ४ अर्ब २० करोड लागत रहेको लगानी बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनलाई लक्षित गरी परियोजनाहरू छनोट गरिएको र आगामी सम्मेलनमा प्रस्तुत गर्ने जानकारी दिए । विदेशी लगानीका लागि प्रस्तावित गरिएका आयोजनाहरूमा सबैभन्दा कम ३४ अर्ब ५४ करोडदेखि ३ खर्ब ६९ अर्बसम्मका परियोजना छन् ।