अमरराज आचार्य
सोमवार, फाल्गुन २७, २०७५
635

दाङ-घोराही उपमहानगरपालिका–१८ मसिनाको सिङ्गो गाउँका किसानले नै गोलभेंडा खेती गरेका छन् । केही स्थानमा गोलभेंडा पाकेर राताम्मे भएका छन्, भने केही गोलभेंडा झाँगिँदै गएका छन् ।
केही वर्षअघिसम्म तोरी खेती गर्दै आएका किसानले राम्रो आम्दानी हुने गरेको थाहा पाएपछि गोलभेंडा खेती गर्न सुरु गरेका थिए । तर उनीहरूले सोचे जस्तो मूल्य पाउन भने नसकेको बताए । मसिनाका किसान मात्र नभई जिल्लाभरकै किसानले आफूले उत्पादन गरेको तरकारीको मूल्य आफैंले तोक्न भने पाउँदैनन् ।

अहिले बजारमा गोलभेंडाको भाउ प्रतिकिलो २० रूपैयाँ छ । तर, कृषकको बारीबाट भने १० रूपैयाँमा पनि बिक्री हुने गरेको छैन । कृषकले उत्पादन गरेको ठाउँमा जाने र सस्तोमा खरिद गरी बजारमा महंगो मूल्यमा बेचबिखन गर्ने समूह सक्रिय बनेको छ । यसलाई रोक्न कुनै पनि निकायले पहल नगरेको कृषकको गुनासो छ । बिचौलियाका कारण कृषकले उत्पादन गरेका तरकारी सस्तो भाउमा बिक्री गर्ने गर्दछन् । जसले गर्दा दुःख गरेर उत्पादन गर्ने कृषक मारमा पर्ने गरेका छन् । तरकारी बेच्दाको समयमा उनीहरूलाई मूल्यसमेत थाहा हुँदैन । खरिदकर्ताले आफैं तौल गर्ने र आफैं मूल्य गरेर पैसा दिने गरेको कृषकहरू बताउँछन् ।
घोराही उपमहानगरपालिका–१८ मसिनामा गठित मिलीजुली कृषक समूहकी अध्यक्ष अनिता वुढाले आफूहरूले उत्पादन गरेको गोलभेंडाको मूल्य आफूहरूले तोक्न नपाउने गरेको बताइन् । “हामीले उत्पादन गरेको गोलभेंडाको मूल्य हामीले नै तोक्न पाउँदैनौ,” अध्यक्ष बुढाले भनिन्, “व्यापारीले जति मूल्य लगायो त्यही रकममा दिनुपर्ने वाध्यता छ ।” उनले छुट्टै बजारको व्यवस्था गर्न नसकिएको बताइन् । अहिले समूहले उत्पादन गरेको गोलभेंडा प्रतिकिलो १० रूपैयाँमा बिक्री हुने गरेको छ । व्यापारीले टिप्न पठाएपछि टिप्ने गरेको उनले बताइन् ।
उनीहरूले १ दशमलव ११ हेक्टरमा गोलभेंडा खेती गरेका छन् । समूहले जग्गा भाडामा लिएर खेती गरेको हो । समूहले प्रतिकट्ठा ५ हजार रूपैयाँका दरले भाडा तिर्ने गरेको अध्यक्ष वुढाले जानकारी दिइन् । समूहकी सदस्य अम्बिका वुढाले पनि गोलभेंडाको बजारीकरण हुन नसकेको बताइन । उनले बजारीकरण हुन नसक्दा सस्तोमा बिक्री गर्नुपर्ने वाध्यता रहेको बताइन् । “दुःख गरेर उत्पादन गरिएको वस्तुको मूल्य हामी आफैंले तोक्न पाउँदैनौं,” अम्बिकाले भनिन् । मिलीजुली कृषक समूहले साना तथा मझौला कृषक आयस्तर आयोजनाको सहयोगमा १.११ हेक्टरमा खेती गरेको छ ।
त्यसैगरी सोही स्थानमै महिलाको अर्को समूहले पनि गोलभेंडा खेती गरेको छ । अम्बिकेश्वरी महिला समूह गठन गरी महिलाले १३ बिगाहामा गोलभेंडा खेती गरेका हुन् । जग्गा भाडामा लिएर खेती गरिएको समूहकी अध्यक्ष वसन्ता अर्यालले जानकारी दिइन् । समूहले उत्पादन गरेको गोलभेंडाले पनि उचित मूल्य नपाएको गुनासो अध्यक्ष अर्यालले गरिन् । भाउ नपाएपछि सस्तोमै बिक्री गर्नुपर्ने वाध्यता रहेको उनको भनाइ छ । “हामीले उपभोक्ताले किन्नुपर्ने मूल्यको आधा मूल्य पनि पाउँदैनौं,” अध्यक्ष अर्यालले भनिन् । यसले गर्दा दुःख गर्ने कृषकलाई मार पर्ने गरेको उनको भनाइ छ । व्यापारीले नै मूल्य तोकेर लग्ने गरेकाले उचित आम्दान गर्न नसकेको समूहको भनाइ छ ।