कारोबार संवाददाता
सोमवार, फाल्गुन २७, २०७५
633

दुग्ध कृषकहरूको छाता संगठन केन्द्रीय दुग्ध सहकारी संघले दुग्धलगायतका कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउने व्यवस्थासहितको विधेयकप्रति आपत्ति जनाएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरि दुग्ध क्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई खुला नगर्न सरकार तथा संसद्लाई आह्वान गरेको छ ।
संघले दुग्ध उत्पादन तथा बजारीकरणमा नेपालका कृषक, कृषि सहकारी र उद्योग सक्षम रहेको तथा कृषि नै नेपालको आधारभूत क्षेत्र भएकाले कृषिमा एफडीआई भित्र्याउने व्यवस्था सच्चाउनुपर्ने बताएको छ । “हामीले कृषिमा एफडीआई भित्र्याएमा यो क्षेत्र ध्वस्त हुन्छ भनेर नभित्र्याउन लबिङ गर्दै आएका छौं,” संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले प्रश्न गरे, “विधेयक बन्दा कृषि, उद्योग र कानुन मन्त्रालयसम्मको ड्राफ्टमा कुखुरापालन, मह, मत्स्यपालन र दूधलगायतका क्षेत्रमा एफडीआई आवश्यक नपर्ने क्षेत्रमा पारिएको छ, तर संसद्मा दर्ता विधेयबाट कसरी हट्यो ?” यस विषयमा ध्यानाकर्षण गराउन प्रधानमन्त्री, अर्थमन्त्री, कृषिमन्त्री र उद्योग मन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाउने र सुनुवाइ नभएमा आन्दोलनमा उत्रले उनले बताए ।

व्यवस्थापिका संसद्मा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ दर्ताको अवस्थामा छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको नामबाट प्रतिनिधिसभामा दर्ता भएको (दर्ता नं. १६) विधेयकमा कुखुरापालन बाहेकका सबै कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) खुला गरेको छ । “दूधमा आत्मनिर्भर हुँदैछौं, यस्तो अवस्थामा बहुराष्ट्रिय कम्पनी भित्र्याउने व्यवस्था गरेमा उद्योगीको करोडौं लगानी र बहुसंख्यक कृषकको रोजगारी गुम्नेछ,” पत्रकार सम्मेलनमा संघका महासचिव रामप्रसाद आचार्यले भने ।
संघले सरोकारवालासँग छलफल नै नगरी हालै प्रदेश सरकारमार्फत चिनियाँ गाई ल्याउने घोषणा गरिएको पनि विरोध गरेको छ । प्रविधि भित्र्याउने तर बहुराष्ट्रिय कम्पनी र गाईसमेत सिधै ल्याउन नहुने तर्क संघको छ ।
संघका अनुसार ६३ जिल्लामा ६८७ सहकारी चिस्यान केन्द्र्र, २५ दुग्ध प्रशोधन कारखाना लगायतमा गरी १० हजार बढीले प्रत्यक्ष रोजगारी पाइरहको र प्रत्यक्ष अप्रत्यक्ष रूपमा ११ लाख बढीको रोजगारी कृषक तथा सहकारी क्षेत्रमा छ । दुग्ध क्षेत्रमा आश्रित परिवारको संख्या मात्र ७ लाख रहेको संघले जनाएको छ । दुग्ध क्षेत्रमा ३० अर्बको उद्योगतर्फको लगानी छ भने दुग्ध प्रशोधन सहकारी, साना, मझौला र ठूला गरी ६ सय बढी उद्योग मुलुकभर रहेको अनुमान छ । दुधको उत्पादनदर वर्सेनि ४ देखि ५ प्रतिशतले बढीरहेको तथा माग ८ प्रतिशतले बढीरहेको तथ्यांक छ । दुधको उत्पादन वृद्धि भएपछि नेपालका उद्योगहरूले कच्चा दुध आयात गर्न छाडेका छन् भने उद्योगको आवश्यकता अनुसार अझै दूध अपुग हुँदा दुग्ध पदार्थको भने आयात भइरहेको छ ।