कारोबार संवाददाता
आइतवार, फाल्गुन २६, २०७५
605

कर्मचारी अभावकै कारण विकासको काम प्रभावित भएको र बजेट खर्च गर्न नसकिएको पालिका प्रमुखहरू बताउँछन् ।

सिन्धुली-स्थानीय तहहरूले आफ्नो पालिकालाई समृद्ध बनाउन भन्दै विकास निर्माणका कामलाई मुख्य प्राथमिकतामा राखेका छन् । तर तीनै स्थानीय तहहरूको विकास बजेट खर्च भने सन्तोषजनक छैन ।
९ वटा स्थानीय तह रहेको सिन्धुलीका अधिकांश स्थानीय तहले लक्ष्यअनुसारको काम गर्न सकेका छैनन् । कर्मचारी अभावकै कारण विकासको काम प्रभावित भएको र बजेट खर्च गर्न नसकिएको पालिका प्रमुखहरू बताउँछन् ।
फिक्कल गाउँपालिकाले २६ करोड ४१ लाख ६४ हजार ३९ रुपैयाँ विकास बजेट मध्ये २ करोड १७ लाख ७० हजार ६५१ रुपैयाँ मात्र खर्च गरेको छ । वडा कार्यालयबाट हुने योजनाको उपभोक्ता समिति गठनमा ढिलाइ भई सम्झौता गर्न ढिलो भएकाले विकास बजेट कम खर्च भएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कल्पना तिमल्सिना शर्माले बताइन् ।
तीनपाटन गाउँपालिकाले हालसम्म १८ करोड ५९ लाख विकास बजेटमध्ये २ करोड ७८ लाख अर्थात करिव १५ प्रतिशत खर्च गरेको गाउँपालिकाले जनाएको छ । कर्मचारी अभाव, उपभोक्ता समिति गठनमा ढिलाइलगायतका कारणले विकास बजेट कम खर्च भएको गाउँपालिकाका लेखा अधिकृत हरिबहादुर खपाङ्गी मगरले बताए ।
त्यस्तै सुनकोेशी गाउँपालिकाले १९ करोड ८८ लाख ७ हजार ४ सय ८८ रुपैयाँ विकास बजेट मध्ये ६ करोड ३ लाख मात्रै खर्च गरेको गरेको छ । काम भइरहेको तर निकासी काम सकिएपछि अन्तिममा मात्रै हुने भएकाले वित्तीय प्रगती नदेखिएको गाउँपालिकाका लेखापाल जयप्रकास चालिसेले बताए । “विकास निर्माणका काम भइरहेका छन् । दोस्रो चौमासिक सकिनै लाग्दा हामीले ३० प्रतिशत निकासी गरिसक्यौं, अब अर्को निकासी गर्दा वित्तीय प्रगती पनि देखिन्छ,” उनले भने ।
दुधौली नगरपालिकाले २८ करोड ९१ लाख ४२ हजार ६३५ रुपैयाँ विकास बजेटमध्ये करिव ६ करोड ७ लाख ४ हजार ७ सय ३ रूपैया खर्च भएको सूचना अधिकारी चुडामणी आचार्यले बताए । विकास निर्माणको काम भर्खर सुरु हुन थालेकाले पुँजीगत बजेट खर्च कम भएको उनले बताए ।
हरिहरपुरगढी गाँउपालिकाले २२ करोड ९४ लाख पुँजीगत बजेट मध्ये ३२ प्रतिशत मात्रै खर्च गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल श्रेष्ठले जानकारी दिए । कर्मचारी अभाव, उपभोक्ता समिति गठनमा ढिलाइ जस्ता कारणले ८ महिनामा विकास बजेट कम खर्च भएको उनले बताए ।
मरिण गाउँपालिकाको पनि बजेट खर्च सन्तोषजनक छैन । चालू आर्थिक वर्ष २०७५-७६ को १६ करोड ३७ लाख विकास बजेट मध्ये हालसम्म ३० प्रतिशत मात्रै खर्च भएको गाउँपालिकाका लेखा अधिकृत विदुर शर्माले बताए । कमलामाई नगरपालिकाको २७ करोड ५ लाख १६ हजार पुँजीगत बजेट मध्ये ३० प्रतिशत खर्च भएको जनाइएको छ ।
घ्यालेख गाउँपालिकाको १६ करोड ४६ लाख ८२ हजार विकास बजेट मध्ये २५ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष नेपालीले बताए ।
उता, गोलञ्जोर गाउँपालिकाले भने विकास बजेटको ७५ प्रतिशत रकम खर्च गरेको छ । अन्य स्थानीय तहको तुलनामा यो गाउँपालिकाले दोस्रो चौमासिक सकिनै लाग्दा २६ करोड २१ लाख ५२ हजार विकास बजेट मध्ये १९ करोड ६६ लाख १४ हजार खर्च भएको जनाएको छ ।

कृञ्जला पुुलामी

सातामा धेरै पढिएको