हिमेश विक
शुक्रवार, फाल्गुन २४, २०७५
659

धनगढी-साना उद्योगका रूपमा दर्ता भएका कुटानी-पिसानीका ६ सय ७० राइस मिल कैलाली जिल्लामा सञ्चालनमा छन् । स्थानीय ठाउँमा स्थानीयको सहजताका लागि स्थानीयहरूकै लगानीमा साना आकारका कुटानी-पिसानी मिलहरू सञ्चालनमा आएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय धनगढीका अनुसार ०७३ साल असार मसान्तसम्म ६ सय ३० साना प्रकृतिका राइस मिल दर्ता भएको जनाएको छ । त्यसैगरी, ०७५ सालको असार मसान्तसम्म ६ सय ७० साना प्रकृतिका राइस मिल दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लोकबहादुर खड्काले बताए ।
०७३ सालदेखि ०७५ सालसम्म जिल्लामा ४० वटा मात्र साना प्रकृतिका कुटानी-पिसानी मिलको संख्यामा वृद्धि भएको छ । अनुपातका रूपमा ३ वर्षको अन्तरालमा दर्ता सङ्ख्या न्यून रहेको मानिन्छ । गाउँ–गाउँमा साना राइस मिलको प्रतिष्पर्धा, लोडसेडिङ्ग, खेतमा उत्पादनको कमी र बाँझो खेतका कारण राइस मिलको सङ्ख्यामा कमी हुन गएको हो । राइस मिलको सङ्ख्यामा कमी हुनको प्रमुख समस्या जग्गा प्लटिङ्ग छ । बढ्दो सहरीकरण र बसाइसराईंका कारणले समेत जग्गा प्लटिङको सङ्ख्या ह्वात्तै बढेको हो । जग्गा प्लटिङ्ग धमाधम हुँदा उब्जाउ हुने खेतबारी बसोबासको रुपमा परिणत भएका हुन् । त्यस कारणले पनि साना कुटानी-पिसानीको मिलमा वृद्धि हुन सकेको छैन् । १० वर्षे जनयुद्धका कारण गाउँबाट सहर बसाइसराई गरेकाले गाउँका जग्गा धमाधम प्लटिङ भएका कारण

साना कुटानी पिसानी मिलहरूको ३ वर्षको अन्तरालामा वृद्धि हुन नसकेको कैलाली उद्योग वाणिज्य संघ, धनगढीका महासचिव ओमबहादुर विष्टले बताए । उनले भने, “हरेक व्यक्तिको जीवनयापन नै आधुनिक किसिमले जिउन खोज्ने भएकाले तयार भएका साम्रगी नै खरिद नै गर्न खोज्छन् ।” त्यसका कारणले मिलको सङ्ख्यामा कमी आएको हो ।
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सबैभन्दा बढी साना प्रकृतिका कुटानी-पिसानी मिलहरू सञ्चालनमा आएका छन् । धनगढी उपमहानगरपालिकामा ५२ वटा मिल सञ्चालनमा आइरहेको घरेलु तथा साना उद्योगको तथ्याङ्कमा उल्लेख गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयले साना लगानी भएका राइस मिललाई १ लाख पुँजी लगानी भएका १ हजार दर्ता दस्तुर, १ लाखदेखि ३ लाख रुपैयाँसम्म ३ हजार, ३ लाखदेखि ५ लाख रुपैयाँसम्म ६ हजार, ५ लाखदेखि २० हजार रुपैयाँसम्म १२ लाख,२० लाखदेखि १ करोड रुपैयाँसम्म २० हजार रुपैयाँ दर्ता दस्तुर निर्धारण गरेको छ ।