अमरराज आचार्य
शुक्रवार, फाल्गुन २४, २०७५
575

खाद्य पदार्थको गुणस्तर मापनका लागि दाङको तुल्सीपुर उपमहानगरपालिकाको रजौरामा खाद्य तथा गुण नियन्त्रण कार्यालय स्थापना भएको छ । जिल्लामा खाद्य तथा गुण नियन्त्रण कार्यालय स्थापनाका लागि विगतदेखि नै निजी क्षेत्र, सरकारी निकाय तथा राजनीतिक दल तथा सरोकारवालाले माग गर्दै आएका थिए ।
सवैको प्रयासपछि जिल्लामा कार्यालय स्थापना भएको हो । कार्यालय स्थापनासँगै जिल्लावासीसँगै राप्तीवासीलाई नै सहयोग पुग्ने भएको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय नहुँदा दाङसहित राप्तीवासी नेपालगन्ज जानुपर्ने वाध्यता थियो । अव कार्यालय स्थापनासँगै त्यो बाध्यतासमेत टरेको छ । खाद्य तथा गुण नियन्त्रण कार्यालय स्थापना भएपछि दाङवासीलाई खाद्य तथा गुणस्तर परीक्षण गर्न सहज हुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । “लामो समयदेखि हामीले कार्यालय स्थापना गर्न माग गर्दै आएका थियौं, अहिले पूरा भएको छ,” अध्यक्ष भुसालले भने, “यो सवैका लागि खुसीको कुरा हो ।”

कार्यालय नहुँदा दाङवासीमात्रै नभई रोल्पा, प्युठान, रुकुम, सल्यानका बासिन्दालाईसमेत नेपालगन्ज जानुपर्ने वाध्यता थियो । दाङमा कार्यालय भएपछि अन्य जिल्लावासीलाई पनि सहज भएको उनले बताए । नेपालगञ्ज जान नपरेपछि यस क्षेत्रका नागरिकलाइ आर्थिक तथा समयको समेत सदुपयोग हुने भएको छ । नेपालगन्ज जानुपर्दा एकै दिनमा काम नहुँदा बस्नुपर्ने वाध्यता थियो । जसले गर्दा समयसँगै खर्चसमेत बढ्ने गरेको थियो । “अब यहाँका उपभोक्ताले आफैं जिल्लामा खाद्य तथागुणस्तर परीक्षण गराउन पाउने छन्,” अध्यक्ष भुसालले भने ।
कार्यालय स्थापनासँगै खाद्य तथा गुणस्तर परीक्षणका लागि सहज हुने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत (विरु)ले बताए । “जिल्लामै सेवा पाएपछि आर्थिकसँगै समयको समेत वचत भएको छ,” उनले भने । कार्यालय स्थापनाका लागि लामो समयदेखि आफूहरूले माग गर्दै आएको उनले बताए ।
बिहीबार एक कार्यक्रमका बीच कार्यालयको स्थापना गरिएको हो । कार्यालय स्थापनासँगै बजार अनुगमन र निरीक्षणलाई थप प्रभावकारी बनाउनसमेत सहयोग मिल्ने अपेक्षा गरिएको छ । जिल्लाका बजार अनुगमन गर्दा शंका लागेका वस्तु परीक्षण गर्न नेपालगन्ज पठाइने गरिएकोमा अब त्यसको मापन जिल्लामै गरिने भएको छ ।
कार्यालयको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे र प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले संयुक्त रूपमा गरेका हुन् । नगरप्रमुख पाण्डेले कार्यालय स्थापनासँगै ल्याव सञ्चालन गर्न उपमहानगरपालिकाले भौतिक संरचना निर्माणमा पहल थाल्ने बताए । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बजार अनुगमन र चेतना अभिवृद्धि गर्न थप सहयोग पुग्ने बताए ।