कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५
453

चौधरी ग्रुपका अध्यक्ष एवं अर्बपति विनोद चौधरीले नेपाली युवालाई हिनताबोध त्यागेर सिर्जनशील काममा जुट्न आह्वान गरेका छन् । केही गर्ने नयाँ सोच र त्यसलाई पछ्याउने धैर्यता राख्ने हो भने सफलता आफ्नो वशमा पर्ने उनले बताए ।
पूर्वी नवलपरासीको गैंडाकोटमा नेपाल जेसिसले बिहीबार गरेको युथ कन्फ्रेन्स फर इन्टरप्रेनरसिप कार्यक्रममा अर्बपति चौधरीले युवालाई उद्यशीलतामा जुट्न अभिप्रेरित गरेका हुन् । “आज विश्वका टप १०० अर्बपतिमध्ये ७३ जना अर्बपति ‘सेल्फ मेड’ हुन् । उनीहमध्येका ३६ जना गरिव परिवारमा जन्मिएका थिए । १८ जनासँग कलेजको डिग्रीसमेत छैन । उनीहरू मध्येका केहीले बाल्यकालमा अभिभावक गुमाएका थिए । उनीहरू आफ्नै सपना कार्यान्वयन गरेर अर्बपति बनेका हुन्,” उनले भने, “तपाईंहरू उनीहरूकोभन्दा राम्रो अवस्थामा हुनुहुन्छ । लक्ष्य निर्धारण गरेर अगाडि बढ्न सके नेपालमा धेरै अर्बपति जन्मिन कुनै गाह्रो कुरा होइन ।”

कार्यक्रममा नवलपरासी र चितवनका पाँच सयभन्दा बढी युवा सहभागी थिए । यहाँका कलेज, गैरसरकारी संस्था र निजी क्षेत्रका युवाले चौधरीसँग अन्तक्र्रिया गरेका थिए । सहभागीहरूसँग चौधरीले आफ्नो सफलताको गाथाको पनि बेलिविस्तार लगाए । “केही गर्नु त हुन्थ्यो तर के गर्ने पैसै छैन भनेर सोच्ने युवाको संख्या अत्यधिक छ । समस्या स्रोतको होइन, सोचको हो,” चौधरीले भने, “समस्या आफूले के गर्न सक्छु भनेर थाहा पाउन नसक्ने आत्मविश्वास हो ।”
चौधरीले विश्वका चर्चित अर्बपति अमान्सियो ओर्टेगाको सफलताको कथा सुनाउँदै भने– उनका बाबु रेलवे र रोडमा मजदुरको काम गर्थे । उनकी आमा सामान्य हाउस वाइफ थिइन् । परिवार गरिवीको चपेटामा थियो । परिवारको खर्च चलाउन गाह्रो भएपछि १३ वर्षको उमेरमा उनले एउटा कपडा पसलमा काम गरे । उनी अहिले विश्वविख्यात इन्डिटेक्स कम्पनीका मालिक छन् । विश्वभरका प्रमुख ७५०० शहरहरूमा उनका स्टोर्स छन् । म्याड्रिड, वार्सिलोना, लण्डन, सिकागो, मियामी, न्यूयोर्क लगायत शहरमा रियल स्टेट कारोबार फैलिएको छ ।
स्रोत छैन भन्दै टोलाएर बसेको भए उनीहरूले यो उपलब्धि हासिल गर्न सम्भव थिएन भन्दै उनले भने, “तपाईहरूका बुवा किसान हुनुहोला । शिक्षक हुनुहोला । सानोतिनो व्यवसाय चलाइरहनु भएको होला । गाडी चालक हुनुहोला वा कोही वेरोजगार नै पनि हुनुहोला । तर म निश्चिन्तका साथ भन्न सक्छु तपाईहरूका बुबा अमान्सियो ओर्टेगाको बुबाभन्दा खराब हालतमा हुनुहुन्न ।”
चौधरीले हालै सार्वजनिक भएको फोब्र्स लिस्टको चर्चा गर्दै भने, “२१ वर्षको उमेरमा केली जेनर सबैभन्दा कान्छी अर्बपति बनेकी छन् । उनी सेल्फ मेड अर्बपति हुन् ।” चौधरीले विश्वभर फैलिएको वाईवाई चाउचाउ र आफ्नो होटल विजनेसका बारेमा पनि रोचक कथा सुनाएका थिए ।