कारोबार संवाददाता
शुक्रवार, फाल्गुन २४, २०७५
415

लघु उद्योग, साना काठ उद्योग, घरेलु उद्योग, कृषिमा फलफूल खेती, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन जस्ता क्षेत्रमा विदेशी लगानी खुला गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले नै साना, मझौला तथा घरेलु उद्योगमा विदेशी लगानी खुला गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयकमाथि बिहीबार भएको सैद्धान्तिक छलफलमा नेकपाका सांसदहरुले साना र घरेलु उद्योगमा विदेशी लगानी खुला गर्न नहुने बताएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले पेश गरेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’माथिको सैद्धान्तिक छलफलमा अधिकांश सांसदहरुले साना, मझौला तथा घरेलु उद्योगमा विदेशी लगानी खुला गर्न नहुने बताएका थिए । नेकपाका सांसद भीम रावलले विधेयकले मौलिक उत्पादन र सिपलाई सुरक्षित राख्न नसक्ने भन्दै विरोध गरे । सांसदहरुले नेपालको राष्ट्रिय सुरक्षा, अर्थतन्त्रको सुरक्षा, धर्म संस्कृतिका कुरामा विदेशी लगानी ल्याउँदै गर्दा प्रभाव पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरेका थिए ।

जवाफमा मन्त्री यादवले नेपालको सुरक्षा गर्नुपर्ने र विदेशी लगानी पनि आवश्यक परेकाले कतिपय अवस्थामा चिन्ता उठ्नु स्वभाविक भएको उल्लेख गर्दै त्यसप्रति सरकार सचेत रहेको बताए ।
मन्त्री यादवले आर्थिक समृद्धिको अभियानमा पुँजी र प्रविधिको अभाव भएको बताए । कृषि, लघु, घरेलु उद्योगमा विदेशी लगानी खुला गर्ने गरी विधेयक आएको भन्दै सैद्धान्तिक छलफलमा भाग लिने अधिकांस सांसदले विरोध गरेका थिए ।
विधेयकको दफा ३ को उपदफा २ बमोजिम कुखुरापालन, कपाल काट्ने, सिलाई, ड्राइभिङमा विदेशी लगानी गर्न नपाइने उल्लेख छ । तर, लघु उद्योग, साना काठ उद्योग, घरेलु उद्योग, कृषिमा फलफूल खेती, मत्स्यपालन, मौरीपालन, दुग्ध प्रशोधन जस्ता क्षेत्रमा विदेशी लगानी खुला गरिएको छ ।
नेकपाका सांसद कृष्णभक्त पोख्रेलले पनि विधेयकले साना तथा मझौला उद्योगमा विदेशी लगानी खुला गरेको भन्दै असन्तुष्टि जनाए । “साना तथा घरेलु उद्योगमा विदेशी लगानी खुला गर्नु हुन्न,” उनले भने, “कुखुरापालनलाई मात्रै सेफ गरेर हुन्न । भाषिक परामर्श केन्द्र, पशुपालन, मत्स्यपालन जस्ता क्षेत्रमा नेपालीकै मात्र लगानी हुनुपर्छ । नभए हाल सञ्चालनमा रहेका त्यस्ता उद्योग धरासायी हुनेछन् ।”
नेपाली कांग्रेसका सांसद भरतकुमार शाहले नेपालमा सञ्चालित स्टिललगायतका उद्योग बन्द भएको स्मरण गराउँदै सरकारले त्यसतर्फ ध्यान दिन सक्नुपर्ने बताए ।
नेकपाका सांसद सोमप्रसाद पाण्डेले धर्म प्रचारका विषय पनि लगानीका नाममा भित्रन सक्ने भन्दै सरकार राष्ट्रिय सुरक्षाप्रति सर्तक रहन आवश्यक रहेको बताए ।